गृहमन्त्री सुधन गुरुङले पछिल्ला दिनमा आफ्नो नाम जोडेर भइरहेका विभिन्न आरोप र चर्चाबारे सार्वजनिक रूपमा स्पष्टीकरण दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा राख्दै उनले आफूविरुद्ध उठाइएका आरोपहरू भ्रामक र तथ्यहीन भएको बताएका हुन्। विषय जटिल रूपमा प्रस्तुत गरिएकाले वास्तविकता स्पष्ट पार्न आवश्यक भएको उनको भनाइ छ।
उनले “२५ लाखको सेयर लुकाएको” भन्ने आरोप अस्वीकार गर्दै आफूले २ करोडभन्दा बढीको सेयर लगानी सम्पत्ति विवरणमै उल्लेख गरेको स्पष्ट पारे। उनका अनुसार धितोपत्र बजारमा कारोबार हुने सबै सेयर एउटै प्रकृतिका नहुने भएकाले वर्गीकरणका आधारमा विवरण प्रस्तुत गरिएको हो, लुकाइएको होइन। उनले मन्त्रिपरिषद्को वेबसाइटमै आफ्नो सम्पत्ति विवरण हेर्न सकिने उल्लेख गर्दै पारदर्शितामाथि प्रश्न उठाउनु अनुचित भएको बताए।
त्यस्तै “मन्त्री हुनुअघि सेयर खरिद गरिएको” विषयमा पनि उनले प्रतिक्रिया दिँदै सेयरमा लगानी गर्नु कुनै अपराध नभएको जिकिर गरे। उनका अनुसार सम्पूर्ण कारोबार बैंकिङ प्रणालीमार्फत भएको छ र पैसाको स्रोत, प्रयोग तथा विवरण सबै अभिलेखमा स्पष्ट रूपमा देखिनेछ। उनले आफूले गरेको लगानी ऋणमार्फत जुटाइएको र त्यसको लिखित प्रमाणसमेत रहेको बताए।
“विवादित व्यक्तिसँग साझेदारी” भन्ने आरोपबारे उनले एउटै कम्पनीमा हजारौं सेयरधनी हुने भएकाले सेयर किन्नु सबैसँग साझेदारी गर्नु सरह नहुने स्पष्ट पारे। यदि त्यस्तो तर्क मान्ने हो भने सोही कम्पनीमा लगानी गर्ने सबैलाई दोषी ठहर गर्नुपर्ने अवस्था आउने उनको भनाइ छ।
गुरुङले ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ सम्बन्धी आरोपबारे पनि स्पष्ट पार्दै यस विषयमा छानबिन गर्ने निकाय गृह मन्त्रालय नभई अर्थ मन्त्रालय अन्तर्गतको सम्पत्ति शुद्धिकरण विभाग रहेको बताए। सोही निकायले प्रक्रिया अनुसार छानबिन गरिरहेको र आफूले कुनै हस्तक्षेप नगरेको उनको दाबी छ।
उनले व्यापारिक लगानीमा जोखिम स्वाभाविक हुने उल्लेख गर्दै पछाडि घटेका घटनालाई आधार बनाएर पहिलेका निर्णयलाई दोष दिनु उचित नहुने बताए। साथै, कानुनी रूपमा संवेदनशील विषयमा हतारमा प्रतिक्रिया नदिनु नै उचित हुने भन्दै हल्ला र सत्यबीच फरक छुट्याउन आग्रह गरे।
अन्त्यमा उनले आरोप र सत्य फरक कुरा भएको उल्लेख गर्दै कुनै पनि निर्णय प्रमाणका आधारमा हुनुपर्ने बताए। उनले पार्टीले गर्ने निर्णयलाई स्वीकार गर्ने र अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।











