×
Lagani
Lagani Shiksha gif
चुरोट, तास र हिराको आयात खुला



विदेशी मुद्रा सञ्चिति बढाउन चार महिनाअघि विलासिताका १० वस्तुको आयात बन्देज गरेको सरकारले व्यापारीसँगको सौदाबाजीमा अनावश्यक केही सामग्रीको आयात खुलाएको छ ।

सरकारले चुरोट तथा सुर्तीजन्य वस्तु, तास, खेलौना, कुरकुरे/कुरमुरे/लेज, रंगीन टीभी, हिराको आयात खुलाउने निर्णय मंगलबार गरेको हो ।सबै प्रकारका तयारी मदिरा, जिप, कार र भ्यान, मोटरसाइकल (१५० सीसीमाथिका), स्मार्ट फोनको आयात बन्देज भने यथावत् राखिएको छ ।

Lagani Shiksha gif
sharehubapk चुरोट, तास र हिराको आयात खुला

सरकारले तास आयात खुलाउनु कानुनविपरीत समेत छ । जुवा ऐन २०२२ ले नै जुवातास आयातमा निरुत्साहित गरेको छ । ऐनले जुवा खेल्न वा खेलाउन प्रतिबन्ध लगाउनसमेत भनेको छ । ऐनको दफा ४ (क) ले कुनै व्यक्तिले जुवा खेलेमा पहिलो पटकलाई २ सय जरिवाना, दोस्रो पटकलाई एक महिनादेखि तीन महिना कैद र तेस्रो पटकदेखिलाई १ वर्ष कैदको व्यवस्था गरेको छ । ‘तास प्रहरीले खेल्न दिँदैन, चुरोट–सुर्ती आवश्यकता होइन,’ पूर्ववाणिज्य सहसचिव रवि सैंजूले भने, ‘यी वस्तुको आयात खोल्नुपर्ने जरुरी नै थिएन । दसैं–तिहार आएरै व्यापारीको दबाबमा आयात खुला भयो ।’ विलासिताका केही वस्तु खुलाउने र अरू बन्द गर्ने निर्णय सरकार स्वयंले पुष्टि गर्न नसक्ने उनले बताए ।

अर्थतन्त्र नाजुक बन्दै गएपछि सरकारले गत वैशाख १३ मा राजपत्रमा सूचना निकालेर विलासिताका १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । त्यसलाई कसिलो बनाउँदै गत असार ३१ देखि भदौ १४ सम्म बन्देजलाई निरन्तरता दिइएको थियो । राजपत्रमा भदौ १३ मा प्रकाशित सूचनामा चार वस्तु (सबै प्रकारका तयारी मदिरा, स्मार्ट फोन, जिप, कार र भ्यान, मोटरसाइकल १५० सीसीमाथिका) को आयात प्रतिबन्ध असोज २८ गतेसम्म लम्ब्याइएको उल्लेख छ ।

पूर्वउद्योग, वाणिज्य तथा आपूर्ति सचिव चन्द्र घिमिरेले विलासिताका रूपमा रहेका ६ वस्तुको आयात खुला र ४ वस्तुको बन्देजको निर्णयले जटिलता थपिने बताए । ‘विदेशी मुद्रा सञ्चितिलाई असर गरेपछि सञ्चिति बढाउन विलासिताका वस्तु बन्देज गरिएको थियो । अहिले बन्देज खोलिएका र बन्द गरिएका वस्तुको अन्तर के त ?’ उनले भने, ‘विलासिता भनिसकेपछि केहीलाई खुला र केहीलाई बन्द गर्नुको औचित्य देखिएन, यसमा ठूलै प्रश्न छ । कि सबै बन्द गर्नुपर्थ्यो कि सबै खुलाउनुपर्थ्यो ।’

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले चाडबाडको मुखमा आयातकर्ता/व्यापारीसँग सौदाबाजी गरेर सरकारले अनावश्यक सामग्रीको आयात खुलाएको टिप्पणी गरे ।

‘मोलतौलमा केही वस्तुको आयात खुलाउनु अनैतिक हो,’ उनले भने, ‘कि सबै खुला गर्नुपर्थ्यो, कि सबै बन्द हुनुपर्थ्यो । सरकारको यो निर्णय नागरिकमाथि बेइमानी हो ।’

सरकारी तथ्यांकअनुसार विलासिताका वस्तुमा बन्देज लगाएपछि आयात केही घटेको छ । अघिल्लो वर्षको साउनभन्दा यो साउनमा कुल आयात १९ अर्ब ४५ करोड रुपैयाँ बराबरले घटेको भन्सार विभागले जनाएको छ । विभागका अनुसार २०७८/७९ को साउनमा कुल आयात १ खर्ब ५० अर्ब ७३ करोड रुपैयाँ बराबरको थियो भने गत साउनमा १ खर्ब ३१ अर्ब २८ करोडमा आयात झर्‍यो । विदेशी विनिमय सञ्चितिमा क्रमिक सुधार देखिन्छ । राष्ट्र बैंकका अनुसार गत जेठसम्म विदेशी विनिमय सञ्चिति ११ खर्ब ७६ अर्ब ८४ करोड थियो । तर असारमा यस्तो सञ्चिति ३८ अर्ब ९६ करोड रुपैयाँ थपिएर १२ खर्ब १५ अर्ब ८० करोड कायम भएको छ ।

अर्थविज्ञ केशव आचार्यले नेपाली मुद्रामा केही सुधार देखिए पनि विदेशी मुद्रामा सुधारको अवस्था आइनसकेको दाबी गरे । तर सरकारले अर्थतन्त्रभन्दा आफ्नो स्वार्थअनुकूल निर्णय गरिरहेको उनको आरोप छ । ‘आयात खुला गरिएका वस्तु तत्काललाई आवश्यक छैन । केही वस्तुको विकल्प स्वदेशमै पनि उत्पादन गर्न सकिन्छ,’ उनले भने, ‘तर, दसैंको मुखमा व्यवसायीको चलखेलमा सरकार फस्यो । विदेशी मुद्रा सञ्चिति भनेको राष्ट्रको बल हो, विदेशी लगानीकर्ता त्यही विश्लेषण गरेर लगानी गर्छन् । तर सरकारले विदेशी मुद्राको सञ्चितिमा पूर्ण सुधार नआउँदै केही वस्तु खुला गर्‍यो ।’ उनले नेपाललाई हिरा नचाहिएको पनि बताए । ‘सुन र चाँदीका गहना केही परिमाणमा निर्यात भए पनि हिरा हुँदैन,’ आचार्यले थपे, ‘हिरा भारतमा तस्करी नभए पनि धनी वर्गले कर नतिरेको पैसा लुकाउन खरिद गर्छन् ।’

सरकारले आयात बन्देज गरे पनि साउनमा १६ लाख बराबरको कुरकुरे, कुरमुरे, लेज र ९ करोड ३५ लाखको तयारी मदिरा आयात भएको छ । १२ लाखका चुरोट तथा सुर्ती, २ अर्ब ५७ करोडका स्मार्ट फोन भित्र्याइएको छ । सबै स्मार्ट फोनलाई एउटै एचएस कोडमा राखिएको छ । यसले स्मार्ट फोनको आयात उच्च रहेको देखाएको छ । बन्देज भए पनि साउनमा ४ करोड २८ लाखको रंगीन टीभी, १६ करोड ८६ लाखको जिप, कार र भ्यान, १८ करोड २४ लाख बराबरको १५० सीसीमाथिका मोटरसाइकल, ४० लाखको तास र ६२ लाखका खेलौना आयात भएका छन् । ती वस्तुका लागि २०७९ साउन १ भन्दा अगाडि बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेर आयात अनुमति दिएको जनाइएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस