×
स्कन्ध पुराणमा लेखिएजस्तो पदचिह्न भेटियो



स्कन्ध महापुराणको मानस खण्डको १५७ अध्यायमा डोटीको जोरायलमा श्रीकृष्ण भगवान्का पदचिह्न रहेको उल्लेख छ।

त्यससँगै मिल्दोजुल्दो लाग्ने पाइतालाको आकृति कुँदिएको ढुंगा हालै जोरायल गाउँपालिकाकै वडा नम्बर २ विष्णुपादुकामा भेटिएको छ। जुन श्रीकृष्ण भगवान्का दुई पाउ भएको दाबी जगद्गुरु मोहनशरण देवाचार्यले गरेका छन्। पुरातत्त्व विभागले भने त्यसको अध्ययन गरी पुष्टि गर्न बाँकी छ।

‘१८ पुराणमध्ये श्रीमद् स्कन्ध महापुराणको मानस खण्डको १५७ अध्यायमा उल्लेख भएको भगवान् श्रीकृष्णको दुवै पाउ फेला परेको छ। यस हिसाबले यी पाउ साढे पाँच हजार वर्ष पुराना हुन्’, जगद्गुरु देवाचार्यले अन्नपूर्ण पोस्ट्सित भने, ‘मानस खण्डमा पढेपछि फेला पर्छ कि भनेर खोज्ने सोच आयो। सात वर्षको अथक प्रयासपछि बल्ल भेटियो।’ यस्तो अमूल्य निधि राष्ट्रमा दुर्लभ हुने जगद्गुरु देवाचार्यको भनाइ छ।

उक्त स्थान फलाद्री र गरुडा पर्वतको मध्यभागमा कालंगा गंगाको किनार रहेको उनको भनाइ छ। यो नदीलाई मानस खण्डमा वीर्यवती नदी पनि भनिएको छ। ‘हिमालदेखि तराई र पूर्वदेखि पश्चिम नेपालको चारकिल्लाभित्र श्रीकृष्णको पदचिह्न कहीँ छ भने यही मात्र छ। यो आधिकारिक र प्रामाणिक हो’, उनको तर्क छ। स्कन्द पुराणको हिमाद्री खण्ड हिमवत खण्ड र मानस खण्डले नेपालका समग्र धार्मिक क्षेत्रको व्याख्या गरेको पाइन्छ।

मानस खण्डको १५७ को ४०, ४१ र ४२ नम्बर संस्कृतका श्लोकमा यस्तो लेखिएको छ, ‘सिद्धहरूको वाणी सुनेर भगवान् श्रीकृष्णले तथास्तु भनी सिद्धहरूसँग फलाद्री पर्वतमा चढ्नुभयो। पर्वत चढेर पार गरेपछि उहाँले फलाद्री र यज्ञपर्वतहरूका मध्ये झरेको जरासन्धको आधा शरीर देख्नुभयो। यसै ठाउँमा श्रीकृष्णले यौटा शिलामा आफ्नो पदचिह्न अंकित गर्नुभयो। सिद्धहरूले स्तुतिगान गरी बिदाइ गरेपछि श्रीकृष्ण इन्द्रप्रस्थतिर जानुभयो। भगवान् श्रीकृष्णका चरणचिह्न अंकित शिला अहिले पनि देख्न सकिन्छ। हे तपस्वीहरू हो ! यसकारण मानिसहरू भगवान् श्रीकृष्णका पदचिह्नको दर्शन गरी भीमको स्तुति गर्दछन्।’

जगद्गुरुले आफ्नो महाकाली–मेची पैदल यात्राका क्रममा २०७२ सालमा श्रीकृष्णका पाउ (पाइताला)को खोजी सुरु गरेका थिए।

पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले उक्त सम्पदाबारे कुनै जानकारी नआएको बताए। ‘यदि भेटिएको छ भने विभागको टोली उक्त स्थानमा जानेछ र अध्ययन अनुसन्धान गर्नेछ’, महानिर्देशक गौतमले भने, ‘पुष्टि भएपछि प्रक्रियाअनुसार अघि बढ्नेछौं।’ शास्त्रले प्रमाण गरेको कुरा भेटिन सक्ने वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा.डा. देवमणि भट्टराईले बताए। शास्त्रले भनेअनुसार भूगोलमा देखियो वा भेटियो भने त्यसलाई आधार मान्न सकिने प्रा.डा. भट्टराईको भनाइ छ।

‘अब त्यसलाई पुष्टि गर्ने काम पुरातत्त्व विभागको हो। विभागले लिखित दस्तावेज र सोही स्थानमा पुगेर वा फोटोका आधारमा पुष्टि गर्न सक्छ’, उनले भने, ‘आजसम्म त्यसरी नै मान्दै आएका छौं।’

स्वयम्भूका पाउ भनेको सुनेदेखेकाले आफूले यो श्रीकृष्ण पाउसमेत नेपालमा तीनवटा पाउ भएको थाहा पाएको उनको भनाइ छ। सुनसरीस्थित विष्णुपादुका जहाँ भगवान् विष्णुका पाउ पुजिन्छन्। जुन सृष्टिकालको रहेको उनको भनाइ छ। ‘शास्त्रमा दृष्ट र अदृष्टका कुरा आउँछन्। अदृष्ट वर्णन गरिएको विषय हुन्छ अनि दृष्टचाहिँ भूगोलमा भेटिनु प¥यो’, उनले भने।

इतिहास एवं संस्कृतिविद् प्राध्यापक दिनेशराज पन्तका अनुसार यस्ता विषय पुरानै समयमा लेखिएका हुन्छन्। यस्ता कुरामा पूरापुर विचार गरेर अध्ययन गरी प्रामाणिक रूपमा पुष्टि गर्नुपर्ने पन्तले बताए। जोरायलमा भेटिएको श्रीकृष्णको पाउ द्वापर युगको अन्त्यतिरको भएको उनको तर्क छ।

मानस खण्डको पुनर्जागरणका अभियन्ता आचार्य घनश्याम लेखकका अनुसार स्कन्ध पुराणको मानस खण्ड संहितामा द्वापर युग ५ हजार वर्षअघिको समय हो। ‘किनकि वेदब्यास (कृष्ण द्वैपायन)ले दार्चुलाको ब्यास गाउँपालिकानजिकै लिपि पर्वत (हालको लिम्पियाधुरा) मा बसेर १८ पुराण र वेदहरू लेखेका हुन्’, कञ्चनपुरनिवासी लेखकले भने, ‘श्रीकृष्णको युग पाँच हजारदेखि ६ हजार वर्षअघिको भनेर भारत वर्षका र संस्कृत एवं अंग्रेजी विद्वान्हरूले पनि मानेको कुरो हो।’

संस्कृत वाङ्मयका विद्वान् ऋषिराम खनालले अत्यन्त आश्चर्य लागेको बताए। ‘जगद्गुरुले पुराणमा छ भेटिन्छ भन्दा विश्वासै नलागेको चिज यसरी भेटिँदा र प्रत्यक्ष देख्न पाउँदा आश्चार्य लागेको छ’, खनालले भने, ‘प्रमाणित भयो भने हजारौं हजार वर्ष पहिले लेखिएको पाउ भेटिनु विचित्र हो।’

पूर्वप्रधानाध्यापक एवं भम्केनी गुरुकुलका अध्यक्ष मोहनचन्द्र जोशीले जगद्गुरुले ६ वर्षअघि भेटमा मानस खण्डमा वर्णन गरिएको श्रीकृष्णको पाउ खोज्नु छ भनेको स्मरण गरे। भने, ‘पाउ भेटिएको ठाउँ जोरायल, डोटी र सुदूरपश्चिमका लागि मात्र नभएर सिंगो राष्ट्रकै गरिमा हो।’ स्थानीयवासी रामदत्त भट्टराईले आफू रहेको ठाउँमा मुलुककै विशेष सम्पदा भेटिनु गौरवको विषय भएको बताए।

मानस खण्डको १५७ अध्यायमा भीमले जरासन्धको आधा अंग च्यातेर फ्यालेको उल्लेख छ। त्यसरी उनले एउटा हिमालयतिर फ्याँके। यसमा विवाद भयो। कसैले कृष्णले मारे भने अनि कसैले भीमले मारे भने। आफूलाई अप्ठ्यारो लागेपछि श्रीकृष्णले भने, ‘मैले मारेको होइन, मार्ने त भीम नै हुन्।’ विवाद बढ्यो भनेर कृष्णले सिद्ध र पाण्डवहरूका साथमा हिमालयको यात्रा गरे। वर्तमानको मानस क्षेत्रको गोदावरी नदीतटमा आएर कृष्णले स्नान गरी सिद्धहरूसँग भेट गरेको उल्लेख छ। त्यसपछि फलाद्री पर्वत गएर अहिले पाइतालाको आकृति भेटिएको क्षेत्रको महिमा सुनेपछि यस ठाउँमा पाइला राखेको वर्णन छ।

जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले श्रीकृष्णका पाइतालाका चिह्न भेटिएको जानकारी आए पनि पुरातत्त्व विभागले पुष्टि नगरेको बताए। ‘त्यो भनेको साढे पाँच हजार वर्षको इतिहास जोडिएको विषय रहेछ। जगद्गुरुले झन्डै ७ वर्ष खर्चिएर पत्ता लाउनु भएछ’, ओझाले टेलिफोनमा अन्नपूर्ण पोस्ट्सित भने, ‘प्रमाणित भयो भने त यति पुरानो सम्पदा हाम्रो गाउँपालिकाका लागि सौभाग्यकै विषय हो।’  यो समाचार अन्नपूर्ण पोस्टमा रहेको छ।  

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस