×
२७ पुसदेखि १५ माघसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय



शिक्षा मन्त्रालयले २७ पुसदेखि १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले सोमबार विज्ञप्तिमार्फत बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन सिफारिस गरेको छ।

सोमबार शिक्षा मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो ।

आइतबार सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी १५ माघसम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो । सोहीअनुसार आज मन्त्रालयले निर्णय गरेको हो । मन्त्रालयले बिदाको अवधिमा पनि विद्यार्थीलाई पठनपाठनमा सहजीकरण गर्न विद्यालयहरूलाई आग्रह गरेको छ ।

edu २७ पुसदेखि १५ माघसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

चितवन महोत्सव दुई दिन चल्ने :  कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको संक्रमण बढ्दै गएकोपछि चितवनमा मेला महोत्सव सञ्चालनमा कडाइ गरिएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको नेतृत्वमा सोमबार भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (डिसिसिएमसी) र सर्वदलीय सर्वपक्षीय बैठकले जारी चितवन महोत्सव दुई दिन चल्न दिने र अरू महोत्सव रोक्ने निर्णय गरेको छ ।

उद्योग वाणिज्य संघ चितवनको आयोजनामा चितवन महोत्सव आइतबारदेखि नारायणी नदी किनारमा सुरु भएको हो । चितवन महोत्सव सुरु भइसकेकाले थप दुई दिन चल्न दिने र अरू महोत्सव सुरु गर्न नदिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए ।

‘चितवन महोत्सवलाई भोलि र पर्सीसम्म चल्न दिने र अरू महोत्सव सबै बन्द गर्ने निर्णय भयो’, उनले भने, ‘गृह मन्त्रालयले कडाइ गर्न सक्ने भन्ने शब्द रहेछ, त्यस हिसाबले भोलि र पर्सी चल्न दिऊँ न त भन्ने कुरा भयो ।’ गृह मन्त्रालयले सोमबार सार्वजनिक स्थानमा २५ जनाभन्दा बढीको संख्यामा भेला हुन नदिने निर्णय गरिसकेको छ ।

सरकारले १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेसँगै जिल्लामा सञ्चालित र सञ्चालनको तयारीमा रहेका महोत्सवको विषयमा निर्णय गर्न सोमबार डिसिसिएमसीको बैठक बसेको हो । चितवनमा दुई ठूला महोत्सव एकै पटक हुँदैछ ।

१३औं संस्करणको चितवन महोत्सव आइतबारदेखि सुरु भएको हो । उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गरेका हुन् ।

उद्योग वाणिज्य संघ रत्ननगरले मंगलबारदेखि ११औं संस्करणको रत्ननगर महोत्सव आयोजना गर्ने तयारी थियो । टिकौली चौरमा महोत्सवको सम्पूर्ण तयारी पुरा गरिसकिएको छ । पूर्वी चितवनकै खैरहनीमा पनि खिचरा महोत्सव गर्ने तयारी थियो ।

कोरोना महामारीले लामो समयसम्म प्रभावित बनेको यहाँको व्यापार व्यवसाय र पर्यटन गतिविधिलाई चलायमान बनाउन भन्दै महोत्सव आयोजना गरिएका थिए । तेस्रो लहरको कोरोनाको जोखिम बढेपछि भिडभाड हुने गतिविधि बन्द गर्न कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले आइतबार सरकारलाई सिफारिस गरेको हो । शिक्षा मन्त्रालयले पनि १५ माघ सम्म विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस