×


अर्थ सरोकारका पत्रकार सुरज प्याकुरेलले शेयर बजारका चर्चित पात्र शिव चन्द्र संग कुरा गरेका छन्।  अन्तरबार्तामा शेयर बजार बारे विभिन्न कुराकानी भएको छ।  जुन यस प्रकार रहेको छ।

१. सन्चै हुनुहुन्छ ? स्वास्थस्थिति के छ ?
– एकदमै ठिक छु । मसँग प्रत्यक्ष तथा सामाजिक सञ्जालमार्फत जोडिनु भएका ४३००० बढी लगानीकर्ता मित्रहरु  लगायत यहाँहरुको समेत सुभेक्षा, प्रेम र हौसलाका कारण स्वस्थ, ब्यस्त र मस्त छु ।

२. सेयर बजारको सुरुवाती यात्रा सम्झिऔ न । यो बजारमा कसरी प्रवेश गर्नुभयो ? के कुराले सेयर बजारतर्फ डोहोर्यायो ?

-२०५७-५८ स्नातक पढ्दा ताकाको कुरा हो, लेखाशास्त्र अन्तर्गत ‘ईस्यु अफ सेयर एण्ड डिवेन्चर’ भन्ने बिषय पढ्नु पर्थ्यो । तर सो विषय दिमागमा सजिलै घुसेन । सजिलै दिमागमा नघुसेपछि सरले ‘बजारमा प्राथमिक निष्कासन खुल्दैछ। केहि रकम आवेदन दिनु, पछि सेयर परे बराबरको रकम काटेर बाँकी पैसा फिर्ता आउँ, अनि स्टक एक्स्चेन्जमा सूचिकृत भएपछि सेयर ब्रोकरको कार्यालयमा गएर त्यो सेयर बेच्नु, अनि सबै क्लियर हुन्छ।’ भन्नुभयो । त्यसको केहि समयपछि लक्ष्मी बैंकको आईपिओ खुलेको थियो । म लगायत केहि सादहरुले आवेदन दियौं । कतिले पढेको कुरा बुझ्न आवेदन दियौं, कतिले साथीभाईको लहैलहैमा आवेदन दियौँ ।  त्यतिबेला १०० रुपैयाँको सेयर प्रतिकित्ता रु ५० मा आवेदन दिन पाईन्थ्यो । सेयर पूरै परेको खण्डमा बाँकी रकम पछि थप गर्नुपर्थ्यो । लक्ष्मी बैंकको आईपिओमा आवेदन दिनेले ५० प्रतिशत सेयर हात पारेका थिए ।

त्यसपछि खुलेका आइपीओहरु भरिन्थ्यो । त्यसपछि लामो समय आइओइओमामात्र केन्द्रीत भईयो । २०६०/६१ ताकाको कुरा हो , एक जना अंकलसँग बबरमहलस्थित नेपाल बंगलादेश बैंक गएको थिएँ । त्यहाँबाट वहाँले एउटा चेक बुझ्दै मलाई ‘ल हेर भातिज, म यो बैंकको साहुजी  हुँ, बर्षैपिच्छे यसरि लाभांश खुवाउँछ । तिमी पनि चाहेमा यो बैंक को साहुजी बन्न सक्छौ’ भन्नुभयो । उहाँको कुराले ममा ठुलो उत्सुकता जाग्यो । अब म पनि यो बैंकको सहुजी बन्नुपर्‍यो भन्ने सोचेर केहि दिनपछि अंकलसँग पुतलीसडकस्थित ब्रोकर नं ३२ प्रीमियर सेक्युटिज पुगें । बंगलादेश बैंकको सेयर किन्न खोजें । तर बंगलादेश बैंकको सेयरमूल्य प्रतिकित्ता रु. ३३०० रहेछ । मूल्य  सुनेर रिंगटा नै लाग्यो । १०० को सेयरलाई ३३०० के हाल्नुजस्तो भयो । त्यसपछी सस्तो राम्रो सेयर कुन छ भनेर ख्जी गरें । र रु.२७५ का दरले २२० कित्ता एलाईसिएन किन्ने निर्णय गरें।  यसरे करिव ६२००० मा एलआइसीयेनको २२० कित्ता सेयर खरिद गरेर दोस्रो बजारको यात्रा सुरु गरेको थिएँ । जुन सेयर मैले खरिद गरेको ३ महिनामा ९८००० मा बिक्री गरेको सम्झना छ ।

३. सेयर बजारमा सबै भन्दा बढी खुसी भएको र सबैभन्दा बढी पीडा भएको घटना सम्झिनुस् न !

पहिला दुखकै क्षणबाट सुरु गरें ल । सुरुवाती अवस्थामा थिएँ । भर्खर-भर्खर दोश्रो बजार सिक्दै थिएँ । कलेज पढ्दै एउटा प्राईभेट कम्पनीमा काम गर्थ्यें । सो कम्पनीमा काम गरेर कमाएकोमध्येबाट केहि रकम सेयर बजारमा हालेर आफ्नो पोर्टफोलियोको आकार बढाउँदै लागेको थिएँ ।

यसैबीच एक मन्त्रालयमा काम गर्ने आफन्तले पनि सेयर बजारमा चासो देखाउँदै ७ लाख रुपैयाँ लगानी गरिदिन आग्रह गरे । हुन्छ नि त भनेर मैले पनि उहाँकै आग्रह अनुसार ४-५वटा कम्पनीमा लगानी गरिदिएँ । केहि समयपछि उहाँको ७ लाख लगानी घटेर ४.५ लाखमा झर्यो । आफ्नो सेयरको भाऊ झरेको थाहा पाएर होला उहाँले  मलाई जग्गा किन्नका लागि पैसा हुँदै भएन, अव म कुर्न सक्दिन, मलाई जसरे पनि मेरो ७ लाख रुपैयाँ फिर्ता चाहियो भन्न थाल्नुभयो । तर उहाँको सेयरको भाउ त जम्मा ४. लाख पुगेको थियो । मैले सम्झाउन कोसिस पनि गरें।  अहिले घटेका बेला नबेचौं पनि भनें।  तर उहाँले मान्नुभएन । मलाई नाफा साफा चाहिएन, मेरो सावाँ पैसा चाहियो भनेर मलाई अत्याउन थाल्नुभएपछि मैले उहाँको ४. लाख बराबरको सेयर र मसँग भएको थप २. लाखको सेयर बेचेर उहाँको हातमा ७ लाख थमाईदिएँ।   त्यतिबेला २. लाख मेरा लागि निकै ठुलो पैसा थियो ।  यो घटनाले अहिले पनि चस्स मनमा बिझाउँछ ।

सुखका क्षण धेरै छन् । एउटा सम्झन्छु । २०६४ साल ताका मैले स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर ३०० कित्ता प्रतिकित्ता रु ५२०० को दरले किनेर झन्डै १६ लाख सो बैंकको सेयरमा लगानी गरेको थिएँ । त्यसको छोटो समयमै ५०% बोनस सेयर प्राप्त भयो । २०६५ भाद्र ताका बजार बुलिसको चरमोत्कर्षमा रहेको थियो । भाद्र मध्यताका एक दिन चार्टर्ड बैंकको बजार मुल्य ९६०० पुगेर ८७०० मा झरेको दिन ८७०० कै आसपासमा आफुसँग रहेको ४५० कित्ता सेयर बिक्री गरें । त्यसबाट आएको रकमले काठमाण्डौको प्राईम लोकेशनमा ७ आना जग्गा खरिद गरें । अहिले त्यही जग्गामा घर बनाएको छु । त्यो समयको करिव ३८ लाखको लगानी अहिलेको बजार मुल्य ५ करोड रुपैयाँभन्दा माथि छ । यसलाई नै खुशीको क्षणहरुमध्येको महत्वपुर्ण क्षण मानेको छु । सेयर बजारबाट निस्किन पनि जान्नुपर्छ भन्ने उदाहरण पनि हो यो । बेलामा बेच्न जानिएन भने नाफा कागजी मात्र हुन्छ । अहिले त्यो सेयर राखिरहेको भए यति धेरै सम्पत्ति हुँदैनथियो । लगानेकर्तालाई पनि मेरो यो घटनाबाट बेलामा सेयर बेच्न जान्नुपर्छ भन्ने पाठ सिक्न आग्रह गर्दछु ।

४. सेयर बजारमा सफल हुन लगानीकर्ताहरुले के के कुरामा ध्यान दिनुपर्ने रहेछ ? ५-६ वटा बुँदाहरु दिनुहोस् न ।

बुँदागत रुपमा भनें है त।

सबैभन्दापहिलो कुरा, सेयर बजार प्रवेश गर्नेले लहलहैमा लाग्नु हुन्न । बजारबारे आफैंलेबुझेर मात्र बजारमा प्रवेश गर्नुपर्छ । बजार प्रवेश गर्दा सकारात्मक भाव र सकारात्मक उर्जा लिएर प्रवेश गर्नुपर्छ । घाटा भए निस्कन्छु होइन, बजारले नाफा दिन्छ भनेर सकारात्मक सोच राख्नुपर्छ।
दोश्रो, एकैपटक दौडिन सकिंदैन । दौडनको लागिसबैभन्दा पहिले बामे सर्न, उभिन र हिंड्न सिक्नुपर्छ । सेयर बजार पनि त्यस्तै हो । एकै पटक आफ्नो सेयरबाट डबल कमाउँछु भन्नेले बजारबाट पैसा कमाउने होइन गुमाउने रिस्क हुन्छ ।सेयर बजारका सुरुदेखिकै खुड्किलाहरुको गहिरो अध्ययन गर्न जरुरी छ ।
तेश्रो,  लगानीको श्रोतको उपलब्धता र लगानीको उदेश्य प्रष्ट हुनुपर्छ । लगानीको लागिऋण पुँजीभन्दा स्व-पुँजी र बचतलाई प्राथमिकतामा राख्नुपर्छ । धेरैले सापट मागेर वा ऋण लिएर सेयर बजारमा प्रवेश गरेका छन्। त्यसरी भन्दा पनि बचत भएको पैसाले सेयर बजारमा  लगानी गर्दा राम्रो हुन्छ ।
चौथो, लगानी गर्दाकम्पनी छनौट नै महत्वपूर्ण कुरा हो । भरिएका भाँडाहरुको तुलनामा प्राय: रित्ता भाँडाहरु बढी बज्ने गर्छन्। खालीको तुलनामा भरिएका भाँडाहरु शान्त रहन्छन् । यो तथ्यलाई लगानीकर्तालेबुझ्नुपर्छ । तसर्थ हल्लाको पछि नलागी स्वबिवेक प्रयोग गर्दै राम्रा-राम्रा फाण्डामेन्टल कम्पनीहरु छनौट गर्नुपर्छ ।
पाचौँ, विभिन्नमाध्यमबाट प्राप्त सूचनाहरुलाई फिल्टर गरी सही गलत छुट्टाएर निर्णय लिन सक्ने क्षमताको बिकास गर्नुपर्छ । बाहिर आएका धेरै हल्लाहरु गलत हुन्छन्। यस्ता हल्लाको पछि लाग्दा डुब्ने खतरा बढी हुन्छ। त्यसैले हल्लाको पछि लाग्नु हुँदैन ।
छैटौं, आजको-भोलि नै सेयर बजारबाट कमाउने सोच राखेर कहिले पनि बजार प्रवेश नगर्नुहोस् ।लगानेका लागिअल्पकालीन, मध्यकालीन र दिर्धकालीन रणनीति बनाई आफ्नो रणनितीमा स्पष्ट भएर मात्र बजार प्रवेश गर्नुहोस् ।
सातौँ, आफुसँग रहेका सम्पूर्ण रकम एकैपटक लगानी गर्नु ठिक हुँदैन ।ब्याकअपका रुपमा केहि रकम राख्ने गर्नुहोस् ।
आठौं, बढ्दो बजारमा नहौसिने र घट्दो बजारमा नआत्तीने रणनीति लिनुपर्छ । धेरै लगानेकर्ता चुक्ने यहींनेर हो। बजार बढ्न थाल्यो भनेर जस्तोसुकै कम्पनीमा जति पनि रकम हाल्दा घाटा हुने रिस्क हुन्छ । बजार घट्यो भनेर सोच्दै नसोची सेयर बेच्दा पनि घाटा हुने रिस्क हुन्छ । त्यसैले आत्तिने र मात्तिनेचाहिं गर्दै नगर्नुहोस् ।
नवौं, देशको राजनितिक र आर्थिकअवस्था, तरलता र ब्यजदर , बजारसँग सम्बन्धित सूचनाहरुमा सदैव ध्यान केन्द्रीत गर्दै चनाखो रहनुहोस् । कस्तो राजनीतिक अवस्थाले बजारमा कस्तो असर गर्छ भन्ने बुझ्ने क्षमताको बिकास गर्नुहोस् ।

५. तपाईं धेरै फण्डामेन्टल भन्नुहुन्छ, तर यसपाली नन फण्डामेन्टल सेयरमा खेल्नेहरुले धेरै कमाए नि ? के भन्नुहुन्छ ?

हो, म सेयर कारोबारमा फण्डामेन्टललाई नै प्राथमिकता दिन्छु । फण्डामेण्टलमा किन्ने र बेच्ने दुबै विन-विन सिचुवेसनमा हुन्छन् भने नन फण्डामेन्टलमा एउटा डुबेपछी मात्र अर्कोले कमाउँछ । नन फण्डामेन्टल सेयर जुवाजस्तै हो ।  कमाउन त कहिलेकाहिं जुवामा पनि त नसोचेको दाउ लाग्छ नि । जुवाबाट एक-दुई पटक नसोचेको कमाईयो भन्दैमा जुवालाई नै करीयर बनाउनेबारे सोच्नु त भएन नि !

हो, यो पाला नन फण्डामेन्टल कम्पनीको सेयर कारोबार गर्नेले राम्रै कमाए  तर मेरो अनुभवमा चाहिं यो एउटा गलत लत हो । जुवाको जस्तै गलत लत । यस्ता सेयरतिर लाग्दा जसरी कमाईन्छ, गुमाउने डर पनि त्यत्तिकै हुन्छ । हेर्नुस् न यो पाला अनियन्त्रीत हिसाबले आकाशिएका धेरैजसो  नन फण्डामेन्टलको बजार मुल्य छोटो समयमै नेप्सेमा ३०% को गिरावट आउँदा ६०% सम्मले तल झरेका छन् । टुप्पोमा किन्नेहरुको लागि त न समाउने हाँगो छ न टेक्ने ठाउँ भनेजस्तो भएन र ? सचेत लगानीकर्ताले यस्तो रिक्स लिंदैन । अझ नयाँ लगानीकर्ताले त फण्ड़ामेन्टल नै सेयर किन्नुपर्छजस्तो लाग्छ । नन फण्ड़ामेन्टलको कहिल्यै पनि भर हुँदैन । जुनसुकैबेला जे पनि हुन सक्छ ।

६. सेयर बजारमा लगानीकर्ताले गर्ने गल्तीहरु के के हुन् जस्तो लाग्छ ? तपाईंले पनि लगानीका क्रममा गल्ती गरेको र ठुलो नोक्सान परेको कुनै घटना सम्झिनुस न ।

सेयर बजारमा लगानिकर्ताले गर्ने गल्ती भनेकै सही आत्मबिश्वासको कमी र समयमा सही निर्णय लिन नसक्नु हो । हामी अरुले भनेको कुरा बढी भरपर्दो मान्छौं । अझ मिडियामा छापिएको कुरालाई त धेरै नै प्राथमिकताका साथ लिन्छौं । यो बुझ्दैनौं कि समाचार बनाउनेहरु पनि त हामीजस्तै हुन् । एउटा सन्दर्भ जोड्न चाहन्छु । एकपटक एक राष्ट्रीय दैनिकका आर्थिक पत्रकार मित्रसँगको भेट भएको थियो । पत्रपत्रिका हेरिरहने हुनाले मेरो मनमा एउटा जिज्ञासा थियो । मैले उहाँलाई ‘तपाईंहरु त कलम चलाएर नै सेयर बजारलाई उथल-पुथल पारिदिनुहुन्छ, ठुलै लगानी छ कि क्या हो ?’ भनेर सोधें । उहाँले ‘छैन सर, आईपिओ भरिन्छ, पर्ने त्यही १० कित्ता हो, अहिलेसम्म बिक्री गरेको छैन । एकपटक दोस्रो बजारबाट ४६०० का दरले एनएलआईसी किनेको थिएँ अहिले डुबानमा छु।’ भन्नुभयो। त्यसपछि मैले समाचारलाई पनि फिल्टर गरेर सुन्न – पढ्न थालें ।

उहाँहरुसँग हामी सँगभन्दा बढी आफ्नो क्षेत्रको  ज्ञान पक्कै हुन्छ, तर हामी सेयर बजारमा भिजेकाहरुसँग त बजारको व्यवहारिक ज्ञान पनि त छ नि। अनि किन मिडियामा आएका सबै समाचारको पछि लागेर आफ्नो ज्ञान र अनुभवलाई खोयाको दर्जा दिने ? लगानीकर्ताको अर्को ठुलो गल्ती भनेकोचाहिं बजार बढ्दा अब कुनै दिन बजार घट्छ भनेर सोच्ने फुर्सद नै नहुने अनि बजार घट्दा फेरी कुनै दिन बजार बढ्छ भन्ने बिश्वास नै नहुनु हो । यो हरेक लगानेकर्ताले सुधार्नुपर्ने प्रवृति हो ।

आफुले गरेको गल्ती सम्झनुपर्दा कुनै समयको ब्लु चिप कम्पनी चिलिमेको अन्ध भक्त भएर लागेको थिएँ । चिलिमे बाहेकको अरु कुनै कम्पनी त सेयर नै होइनजस्तो लाग्दथ्यो।  सबैलाई सोही कम्पनी किन्ने सुझाव दिन्थें । ६५० मा खरिद गरेको चिलिमे छोटो समयमै ११०० पुग्दा नाफा बुक गरेको थिएँ । त्यसपछी घट्ला र उठाउँला भनेर कुर्दा कुर्दै निरन्तर बढेर २६०० पुग्यो, सो सेयरको मूल्य।   बजारिया हल्लाको पछी लाग्दा अब त घट्दैन भन्ने निर्णय गरेर २६०० माथी खरिद गरें । खरिद गर्ने बित्तिकै मेरो निर्णय गलत ठहरियो । २६००माथि खरिद गरेको सेयर घट्दै जाँदा मैले १४०० मा बिक्री गर्दा करिव १८ लाख घाटा खाएको थिएँ ।

७. यो बुल बजारमा धेरै नयाँ लगानीकर्ताहरु आउनुभएको छ, धेरै यो बुलमा फस्नुपनि भएको छ । कतिपय त डिप्रेसनमा जाने स्थितिसम्म गईसकेका छन् । के भन्नुहुन्छ ?

राम्रा जग भएका कम्पनीमा लगानी गर्नेहरु त ३२०० ईण्डेक्स माथि नै प्रवेश गरेका भएपनि आत्तिनु पर्दैन। धैर्य गर्नुपर्‍यो, यो एक बर्षभित्र दुईपटक लाभांश खाँदै हुनुहुन्छ । एक बर्षमात्र कुर्नुभयो भने पनि उहाँहरुले नसोचेको नाफा प्राप्त गर्न सक्नुहुनेछ । घटेको समयमा सकिन्छ भने तिनै कम्पनी एभ्रेजिङ गर्ने । होइन भने, धैर्य गारेर बस्नु नै अन्तिम बिकल्प हो ।

खेलाडीले उचालेकै भरमा जग नभएका कम्पनीमा लगानी गर्नेहरुले चाहिं अब फेरी अर्को कुनै खेलाडीको प्रवेशलाई नै कुर्नुपर्ने हुन्छ । एउटा सुझावचाहिं दिन चाहन्छु, तपाईंले होल्ड गर्नु भएका त्यस्ता कम्पनीबाट नाफा लिने सोचभन्दा कसरी हुन्छ घाटा कम गर्ने सोचका साथ बढ्दा बिक्री गरेर राम्रा कम्पनीमा शिफ्ट हुनुभयो भने अलिकति बढी समय लाग्ला, तर आफ्नो सावाँ उठाएर ढिलो चाँढो नाफामा जानुहुनेछ।

बजारमा प्रवेश गर्दा नै नाफा घाटा दुबै बेहोर्न तयार छु भन्ने सोचेर प्रवेश गर्नुपर्छ । सेयर बजारबाट गुमाउँदा डिप्रेशनमा जाने होइन । भोलिको दिन यस्तै प्रकारको गल्ती नदोहोरियोस् भनेर आफुले गरेको गल्तीबाट सिक्ने हो ।

८. नफस्नु फसिसकियो, अव के गरेर यो बजारमा उक्सने भन्नेहरु धेरै छन् । त्यस्ता लगानीकर्ताहरुलाई के के भन्नुहुन्छ ?

मैले भनिसकें, यसलाई फसेको भनेर सोच्नु भएन । यो त सिकाई हो,  तर सिकाईको मुल्यचाहिं अलि बढी नै पर्न गयो भन्ने सोच्ने हो । यो पटक म कहाँनेर चुकें भनेर समिक्षा गर्नुपर्छ । र आत्मबल अझै बलियो बनाउँदै भविष्यमा त्यो सिकाईको मुल्य ब्याजसहित असुल गर्छु भन्ने उद्देश्य राखेर अघि बढ्नुपर्छ । यसमा मैले धेरै बोल्नुभन्दा पनि केहि समय अगाडी यहाँहरुकै अर्थ सरोकारमा प्रसारण भएको झापा, दमकका मित्र सुवासचन्द्र भट्टराईको अन्तरवार्ता हेर्न सुझाव दिन चाहान्छु।

९. सेयर बजारमा लगानी गर्दा नया लगानीकर्ताहरुले के के बुझेर आउन आवश्यक छ ?

धेरैजसो नयाँ लगानीकर्ता  भनेका काँचो माटोजस्तै हुन् । सिकेर, बुझेर बजार प्रवेश गर्नेभन्दा लहडमा अरुको देखेर, सुनेर बजार प्रवेश गर्नेको जमात बढ्दो छ । कतिपय अलिअलि बुझेकाहरु पनि पहिले सेयर खरिद गरिसकेपछी आफुले खरिद गरेको कम्पनीको अध्ययन गर्नतर्फ लाग्ने गर्छन् । कुन उदेश्यले सेयर खरिद गरेको हो भन्ने कुरा आफैंमा प्रष्ट हुँदैनन् ।

सेयर बजारको बिसौं बर्षका अनुभवीलाई पनि पूर्ण मान्न सकिंदैन । जिवनभर उनीहरु सिक्ने क्रममै रहन्छन् । तसर्थ नयाँ लगानिकर्तालाई यो सुझाव दिन चाहन्छु कि सेयर बजारको ज्ञान भनेको भोगाईहरुको सँगालो हो । कि त पढेर जानिन्छ, कि त परेर जानिन्छ । पढेर  जान्नुभन्दा परेर जान्नका लागि ठुलो मूल्य र लामो समय चुकाउनुपर्ने हुन्छ। तसर्थ सेयर बजारका पूराना भुक्तभोगीहरुको अनुभव पढेर छोटो बाटोबाट धेरै कुरा सिक्न सकिन्छ ।

१०. प्राविधिक विश्लेषकहरुलाई तपाईं व्यंग्य गरिरहनुभएको हुन्छ।  के साच्चै प्राविधिक विश्लेषणले काम नगर्ने नै हो त ?

प्राविधिक बिष्लेषणले काम नगर्ने होइन, काम  गर्छ । त्यसको लागि सेयर बजारको आफ्नै धरातल बलियो हुनुपर्छ। बजार स-साना राजनितिक, आर्थिक बाछीटाहरुको प्रभावबाट मुक्त हुनुपर्छ । तर हाम्रो सन्दर्भमा भन्नुपर्दा बामे सर्दै गरेको सेयर बजारमा २५% सम्म पनि टिएले काम गरेको पाउँदिन । यहाँले पनि देखिरहनुभएकै होला, नाम चलेका टिएहरुको बिगत लामो समयदेखिको बिष्लेषण एकपछि अर्को सबै फेल खाएका छन् । अर्को कुरा हाम्रोमा टिएलाई मिसयुज गरिएको छ । भ्रम सृजना गरी बजारलाई आफु अनुकुल ब्याख्या गर्न थालिएको छ । यसै कारण पनि टिएको बिस्वसनियता गुम्दै गएको जस्तो लाग्छ ।

मैले पनि धेर थोर टेक्निकल एनालाईसिस अध्यान गरेको छु । केहि बर्षअघि मुम्बईस्थित बिएसईको अठारौं तल्लामा  अवस्थित बिएसई रिसर्च एण्ड ट्रेनिङ ईन्स्टिच्युटबाट टेक्निकल एनालाईसिसको तालिम लिएको थिएँ। छिमेकी मुलुक भारतमा त यहाँ जस्तो, जो पाए त्यहीले प्राबिधिक बिश्लेशण गरेर भ्रम छर्ने गरेको खण्डमा सिधै हतकाडी लाग्छ। त्यहाँ  Securities Board of India (SEBI) बाट लाईसेन्स प्राप्त प्राबिधिक विश्लेषक बाहेकले यसरी सार्वजनिक रुपमा बोल्न पाउँदैनन्।

मैले प्राबिधिक विश्लेषकहरु सबैलाई दोष दिन खोजेको होइन।  यहाँ राम्रा-राम्रा विश्लेषकहरु पनि हुनुहुन्छ। उहाँहरु आफ्नो अनुशासनमा बसेर काम गरी रहनुभएको छ।  उहाँहरुप्रति मेरो सम्मान छ ।  तर थाल ठटाएर लगानीकर्ता तर्साउने ‘धर्कामान चित्रकार’ मित्रहरुको बिगबिगीको कारण मात्र मैले उनीहरुको बिरोध गरेको हुँ।

११. सेयर बजारमा भोगेको अहिले सम्झंदा पनि रमाइलो लाग्ने र अहिले सम्झंदा पनि दिक्क लाग्ने घटना (माथिको प्रश्नभन्दा फरक) बताईदिनुहोस् न ।

रमाईलो लाग्ने घटना चाहिं सेयर बजारमा आफ्नो व्याक्स्तिगत लगानीको अलावा हामी केहि साथीभाई मिलेर १६ लाखको एउटा फण्ड बनाएका थियौं । जसको नाम नै ‘ईन्टरटेन्ट्मेन्ट फण्ड’ थियो । यो फण्डको लगानीबाट कमाएको नाफाबाट विशुद्ध मनोरंजनमा खर्च गर्ने गर्दथ्यौं । सोही फण्डको नाफाबाट हामी देशभित्रका विभिन्न ठाउँदेखि नयाँ दिल्ली , आगरासम्म घुम्न गएका थियौं । पछि साथिहरु लाखापाखा लाग्ने क्रम सुरु हुँदा १६ लाखको फण्ड २३ लाख पुग्दा दामासाहीले बाँढेर छुट्टिएका थियौं।

नरमाईलो र अत्यासलाग्दो क्षणको कुरा गर्नुपर्दा २०६५ को बुलमा करिव करिव बजारबाट निस्किसकेको म ईन्डेक्स ९०० झर्दा पुन प्रवेश गरेको थिएँ । बजार घटेर अझै तल ६०० मा आयो। सकेको एभरेजिङ गरें । अब त बजार यो भन्दा तल नझर्ला भन्नेमा ढुक्क थिएँ । केहि समय साईडवेज गएर बजार पुन: तल झर्न थाल्दा अत्यास लाग्न थाल्यो। थप लगानीको लागि रकम जुटाउन सक्ने अवस्था नै थिएन । लगातारको गिरावट पछी बजार २९२ सम्म आईपुग्दा त अब पनि बजार बढ्ला र भन्ने सोच पलाएको थियो । त्यो समय के गर्ने के नगर्ने भन्ने निर्णय लिन साह्रै गाह्रो परेको थियो ।

१२. सेयर बजारको सबैभन्दा सुन्दर पक्ष र सबैभन्दा जोखिमयुक्त पक्ष के हो ? तपाईंको बर्षौंको अनुभवले के भन्छन् ?

सेयर बजारको सुन्दर पक्ष भनेको यसले सबैलाई समान व्यवहार र समान न्याय गर्छ । यो ठुलो, यो सानो भनेर बजारले भेदभाव गर्दैन । आफुले गरेको लगानीको अनुपातमै कमाउने र गुमाउने चक्र चलिरहन्छ।  ठेलामा तरकारी फलफूल बिक्री गर्ने मजदुरदेखि महलमा बस्ने उद्योगी ब्यापारीसम्मको लागि बजारले ठाउँ दिएको हुन्छ । समान रुपले सबैलाई आकर्षण गरिरहेको हुन्छ । तपाईंको कारोबार गोप्य रहन्छ । यो नै बजारको सुन्दर पक्ष हो ।

जोखिमयुक्त पक्षको कुरा गर्दा बजार कहिलेकाहिं यतिसम्म निर्दयी हुन्छ कि यसले यो गरीब दु:खी छ, यो समस्यामा छ यसलाई चाहिं जोगाईदिउँ भनेर काखी च्याप्दैन। बजारले हरपल म समुन्द्र हुँ, पौडी खेल्न सक्ने उत्रन्छन्, नसक्ने डुब्छन्, भन्ने जस्तो ब्यवहार देखाईरहेको हुन्छ ।

१३. तपाईं यति अनुभवी हुनुहुन्छ, तर किन पर्दा पछाडी हुनुहुन्छ ? किन बाहिर आएर अझ सिकाउने पाटोलाई फराकिलो बनाउनु हुन्न ?

करिव दुई दशकको अन्तरालको सेयर बजारको यात्राको क्रममा एक दशक त मलाई सेयर बजारको आधारभुत कुराहरु बुझ्न नै लाग्यो । कारण सुरुवाती दिनमा प्राईभेट कम्पनीमा काम गर्दै, कलेज पढ्दै, सेयर बजारलाई पनि पर्याप्त समय दिन निकै गाह्रो थियो । समय मिलाएर सिक्न कोसिस गर्दा पनि जाने-बुझेकाले पनि सिकाउने थिएनन्। सित्तैमा सिक्न पाउनु भनेको धेरै टाढाको कुरा थियो । स्व-अध्यान गर्न अहिले जस्तो प्रविधिमैत्री वातारण थिएन। सेयर बजार सम्बन्धी कतै कुनै आर्टिकल देख्ने बित्तिकै कटिङ गरेर फाईलमा राख्थें।

पुतलीसडकतिर सेयर बजारबारे सिकाउने केहि सँस्थाहरु खुलेका थिए । त्यहाँ सिक्नको लागि चर्को मूल्य तिर्नु पर्थ्यो ।   मुल्य तिरेता पनि सबै कुरा प्रष्टसँग सिकाउँदैनथिए। बेसिक, एडभान्स भनेर यस्तै यस्तै कोर्सहरु डिजाईन गरेको हुँदा उनीहरुको उदेश्य जसरी भएपनी लामो समय लगाएर बढी रकम असुल्नतिर केन्द्रीत हुन्थ्यो ।

यो कुराले मलाई पछिसम्म पिडाबोध भयो । मन भित्रैदेखि, होइन मैले जानेको कुरा अरुलाई सिकाउनुपर्छ त्यो पनि सित्तैमा भन्ने सोच पलायो । यसै क्रममा सामाजिक संजाल एउटा बलियो प्लेटफर्म फेला पारें । बजार सम्वद्द र समाजका उच्च ओहदाका केहि व्यक्तिहरु ‘आउनुहोस बाहिर, मिलेर काम गरौं , क्यास गराउन सकिने आफ्नो बिद्या फेसबुकबाट फोकटमा बाँढेर के फाईदा ?’ सम्म भन्नुहुन्थ्यो।

मेरो उदेश्य आफुले जानेको ज्ञान पैसामा बेचेर कमाउने नभई सेयर किनबेच गरेर थियो । महादेवको त त्रीनेत्र भन्छन्, म त साधारण मानिस हुँ,  अहिले पर्दा पछाडीबाट गरिरहेको कर्म सार्वजनिक भएर गर्दा बाहृय बातावरणको दुषित हावा पानीसँगको घुलमिलको कारण आफ्नो सोच र उदेश्य मा बिचलन आउला कि भन्ने सोचेर जे जस्तो छु त्यसैमा रमाएको छु ।

१४. तपाईं किताब लेख्दै हुनुहुन्छ भन्ने जानकारी दिनुभएको थियो ? सो पुस्तकमा के के हुनेछन्, बताईदिनुहोस् न ।

पहिले देखि नै लेख्नु मेरो प्यासन नै हो । नयाँ-नयाँ ठाउँको यात्रामा निस्कँदा पनि मसँग डायरी र कलम कहिल्यै छुट्दैन । तर लेखाईलाई पेशा भने बनाइन, र भविष्यमा पनि बनाउने छैन । जिवनमा मात्र दुई वटा किताव निकाल्ने तयारी सुरु गरेको करिव डेढ बर्ष भयो । दुबै पुस्तकको करिव ४०-४५ प्रतिशत लेखाई पूरा भएको छ । दुई पुस्तकमध्ये एउटा विशुद्ध सेयर बजारको आफ्नो भोगाई समेटिएको आत्मबृतान्त र अर्को माया, प्रेम, बिछोड समेटिएको उपन्यास हुनेछ ।

अर्को मेरो फरक ईच्छा भनेको सेयर बजार सम्बन्धि एउटा चलचित्र बनाउने छ। साथीहरुले यतिसम्म बिश्वाश दर्शाउनुभएको छ कि पुस्तकदेखि चलचित्रसम्म हामी पनि लगानी गर्न तयार छौं भलै त्यो लगानी किन नडुबोस् भन्नुभएको छ ।

१५. सो पुस्तकमा लेखिएको तपाईंलाई नै सार्है मन परेको कुनै आत्मवृतान्तको अंश बताईदिनुहोस् न ।

पुस्तकमा समावेश हुने केहि अंशहरु सामाजिक संजालमा पनि समय समयमा पोष्ट गर्दै आईरहेको छु। धेरै कुराहरु पहिले बाहिर आईसकेपछी  पुस्तकको मज्जा रहँदैन । एउटा सानो अंश यहाँ सेयर गर्छु।

झण्डै देढ दशक अगाडीको कुरा हो-आफ्नो रहरचाहिं सेयर बजारमा लागेका बुज़ुकसँग उठबस गरेर सम्बन्ध बाक्लो पार्न पाए कुस्त कमाईन्छ भन्ने थियो । प्राय: कम्पनीहरुको बार्षिक साधारण सभामा छुटाईएन । राष्ट्रीय सभा गृह , प्रज्ञा प्रतिष्ठा लगायत हलहरुमा हुने बार्षिक साधारण सभामा कार्यक्रम सुरु हुनुभन्दा पहिले पहिलो पंक्तिमै गएर बसिन्थ्यो । कारण पहिलो पंक्तिमा बुझ्रुकहरुको उपस्थिति बाक्लो हुन्थ्यो । जसले मन्चमा गएर लगानीकर्ताको प्रतिनिधित्व गारेर भाषण गर्थे।

खास कुरोचाहिं एजिएम हुनु पहिलो दिन नै उनीहरुलाई कम्पनीकोतर्फबाट प्री-एजिएमको रुपमा हल्का पार्टी दिएर फर्कने बेला खल्ती गरम गर्ने प्रचलन रहेछ। पार्टीमा जो छुट्यो उसले भने भाषणमा संचालक र व्यवस्थापनको खोईरो खन्ने अनि प्री-एजिएम पार्टीमा सहभागीले भने कम्पनीको खुब गुनगान गाउँदै कम्पनीको बखान गर्ने गर्दा रहेछन्।

एकदिन डिसिबिएल बैंकको साधारण सभामा एक बुज़ुक भुतपुर्व मेजरसापसँग सम्बन्ध जोड्न सफल भएँ । लामो भलाकुसारीपश्चात  उहाँले आफ्नो भिजिटिङ कार्ड दिनुभयो, जुन अहिलेसम्म पनि सुरक्षित छ । मैले उहाँलाई अव कुन सेयर किन्ने अङ्कल भनेर प्रश्न गरें । उहाँले ‘आईएलएफसी सकेजति किन्नु बाबु’ भन्नुभयो। तत्काल पुतलीसडक स्थित ३२ नं ब्रोकर कहाँ गएर ६०० को दरले १२०० कित्ता आईएलएफसी फाईनान्सको सेयर किनें।

केहि दिनपछी एउटा पार्टीमा जाँदा मेजरसाप ८/१० जनाको घेराभित्र रहेर गफ चुट्दैहुनुहुन्थ्यो । म पनि गफ सुन्न नजिकै पुगें । वहाँको मुखबाट फ्याट्ट फुत्कियो ‘त्यो आईएलएफसी फाईनान्स पनि कुनै सेयर हो र भन्या?’

म छाँगाबाट खसेझै भएँ ।

१६. फेक आइडी चलाएर तपाईंले ठिक गर्नुभएको छैन भन्नेहरु पनि छन् नि। त्यस्ता लगानीकर्ताहरुलाईचाहिं के भन्नुहुन्छ ?

यस बिषयमा मैले धेरै पटक सामाजिक संजालमा पनि लेखिसकेको छुँ । जसले जति बुझेको हुन्छ, जति सोचेको हुन्छ, अत्यति नै बाहिर ओकाल्ने हो । मेरो बुझाईमा मैले चलाएको आइडी फेक होइन । कसरी फेक भन्ने ? फेक आईडी भनेको कसैको नाम र फोटो दुरुपयोग गर्नु हो।  जस्तै मैले सुरज प्याकुरेल भनेर तपाईंको फोटो राखेर फेसबुक अथवा पेज खोलें भने त्यो फेक  आईडी हो । सामाजिक संजालमा सेलीब्रेटीहरु सर्च गरेर हेर्नुस्, एउटै व्यक्तिका सयौं आईडीहरु हुन्छन्, तीमध्ये एउटा मात्र ओर्जिनल हुन्छ र बाँकीलाई फेक भनिन्छ ।

मैले आफुले फोटो र परिचय नराखी आफ्नै एकाउण्ट चलाउँछु भने त्यो कसरी फेक भयो ? अनि फोटो हालेरै फेसबुक खोल्नेहरुलाई चाहिं जेन्युन मान्ने मापदण्ड के ? के उनीहरु राज्यबाट सर्टिफाईड हुन् ? कि जिल्ला प्रसाशन कार्यालयबाट प्रमाणित हुन् ?  फेक र जेन्युनको कुरा गर्ने हो भने फेसबुक स्वयमले प्रमाणित गरेका भेरीफाईड एकाउन्ट बाहेकका संसार भरका सबै एकाउन्ट फेक हुन् ।

सामाजिक संजालमा कसैलाई फलो गर्नैपर्छ, उसको कुरा सुन्नै पर्छ भन्ने बाध्यता पनि हुँदैन । अनफ्रेण्ड , ब्लक जस्ता अप्सनहरु पनि हुन्छन् जसलाई आफ्नो आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ ।

१७. तपाईं सधैं यसरी नै पर्दा पछाडी बस्नुहुन्छ कि बाहिर आउनुहुन्छ कुनै दिन ? बाहिर आउनुहुन्छ भने कहिले आउनुहुन्छ ?

अवश्य आउँछु । किन नआउनु , भर्खर त यात्राको पाँच बर्ष भयो । अझै धेरै कुरा सिक्नु र सिकाउनु छ । संभवत मेरा दुई कृति सार्वजनिक हुँदाको क्षण, म बाहिर आउने छु । त्यो तपाईंकै च्यानल अर्थ सरोकार मार्फत हुने सम्भावना ठुलो छ । यो सामान्य बिषयलाई यति धेरै महत्व दिईराख्नु पर्छ जस्तो पनि लाग्दैन।

१८. कतिले हरि ढकाललाई शिव चन्द्र भन्छन्, कतिले सुबास चन्द्रलाई । कतिले चिमोरियाजीलाई शिव चन्द्र भन्छन त कतिले अर्थ सरोकारका सम्पादक प्याकुरेललाई । कतिपयले बरिष्ट पत्रकार दिनेशजीलाई शिव चन्द्र हो भन्छन।  यी ५ जनालाई कसरी हेर्नुहुन्छ ? मानिसहरुले किन यसरी शंका गरेका होलान् ?

यहाँले उल्लेख गर्नु भएका पाँच पात्रहरु लाई म सेयर बजारका सुपात्र को रुपमा अनुभूत गर्छु ।

एक एक गरी जाउँ है त।  सुरुमा हरि ढकाल।  हरि ढकाल व्यक्तिगत रुपमा चिनजान नभएता पनि दुईचार पटक उहाँसँग टेलिफोन बार्ता भएको छ । एक शब्दमा भन्नुपर्दा उहाँलाई म ‘One man Army’ को दर्जा दिन्छु । हरि ढकाल भन्ने मान्छे साँच्चै नै मनमा हरि भएका मान्छे हुन् । बेथिति विसंगतिबिरुद्द खरो उत्रने निडर र स्पष्ट वक्ता हुन् हरि ढकाल । उहाँजस्ता ब्यक्तित्वको नेतृत्व सेयर बजारको लागि मात्र नभई  राज्य संचालनका अंगहरुको लागि नै आवश्यक छ । पछिल्लो समय उहाँको फ्लेवर रोहन कार्कीमा पनि पाउने गरेको छु ।

दोश्रो सुवास चन्द्र : सुवास चन्द्रका भोगाईका हरेक मोड हरु मा मैले आफुलाई नै पाउने गरेको छु । अनुभवका खानी हुन् सुवास चन्द्र। वहाँको भोगाई पढेर सेयर बजारमा प्रवेश गर्नेले कहिल्यै पछाडी फर्केर हेर्नु पर्दैन।

तेश्रो पुरु चिमोरिया : सेयर बजारलाई माया गर्ने पुराना र अनुभवी लगानीकर्ताको रुपमा लिन्छु म उहाँलाई। २०७२ सालको भुईँचालोपछि सिथिल भएको सेयर बजारलाई उहाँको  आर्थिक दैनिक तथा साप्ताहिकहरुमा प्रकाशित निरन्तरको सकारात्मक लेखले सेयर बजारको दिशा नै परिवर्तन गरिदिएको सम्झना छ।

चौथो, सुरज प्याकुरेल: छोटो समयमै उचाई चुम्ने सफल आर्थीक पत्रकार मात्र भन्न चाहें । एउटा किस्सा याद छ । एनआइसी एशिया बैंकले गरेको एउटा बदमासीको समाचार लेख्नुभयो तपाईंले । त्यसलाई फलोअप पनि गर्नुभयो ।बजारमा त्यो समाचारले खुब चर्चा पाएपछि अरु मिडियाहरुले पनि सो समाचारलाई फलो गर्न थाले । केहि समयपछि धेरै मिडियामा सो बैंकको विज्ञापन आउन थाल्यो । धेरैले विज्ञापन आउन थालेपछि सो बैंकको समाचार लेख्न छोडे । तर अर्थ सरोकारमा माथि एनआइसीको विज्ञापन हुन्थ्यो, विज्ञापनको तल बिग न्युजहरु हुन्थे । यो मलाई अचम्म लागेको विषय हो । संचालक  र सम्पादक आफैं भएको मिडियामा यो हदसम्मको ब्यालेन्स कसरी हुन्छ भन्ने लाग्थ्यो । अहिले पनि धेरै समाचारहरु त्यस्तै देख्छु । अचम्म पनि लाग्छ, खुसी पनि लाग्छ । आर्थिक मिडियामा पढेर आउनेहरु धेरै कम छन् । सुरज प्याकुरेलले पत्रकारिता र बिजनेश स्टडिजमा मास्टर्स गरेको छ र कानुनमा पनि ब्याचलर गरेको छ भन्ने सुन्दा यो छोटो उमेरमा कति भ्याएको जस्तो लाग्छ । जे होस् खुसी लाग्छ । एक दिन क्लब हाउसमा बोलेको सुनेको थिएँ । सबैले कसैले भनेको नटेर्ने ज्याद्रो भनेको सुरज प्याकुरेल कसरि यतिसम्म शालीन भएर उत्तर दिन सक्यो भन्ने कुरामा म आफैंमा अचम्ममा परेको थिएँ।

पाचौं दिनेश आचार्य: सेयर बजारका पर्यायवाची भन्दा फरक नपर्ला दिनेश आचार्यलाई। बरिष्ट पत्रकार तथा अधिवक्ता दिनेश आचार्य त्यस्ता व्यक्ति हुन्, जसले नेपालमा पहिलोपटक सेयर बजार सम्बन्धी टेलिभिजन कार्यक्रमको सुरुवात गरेका थिए । अर्को कुरा नेपालमा पहिलोपटक पूर्ण रुपमा सेयर बजारलाई लक्षित गरेर साप्ताहिक पत्रिका प्रकाशन गर्ने पनि उनै हुन् । उहाँलाई आर्थिक पत्रकारिताका भिष्म पितामहको संज्ञा दिंदा फरक नपर्ला ।

अचम्मको कुराचाहिं मलाई जसले फेकको संज्ञा दिन्छ्न् उनीहरुलेनै मलाई माथीका ५ सुपात्रको दर्जामा राख्ने गरेका छन् र यिनै मद्धे कोही शिव चन्द्र हो भन्ने गरेका छन्। उनीहरुले शिव चन्द्र लाई कहिल्यै सेयर बजारका कुपात्रसँग जोडेनन र शिव चन्द्र लाई फेक भन्न पनि छाडेनन् ।  जुन मेरो लागी गर्वको बिषय हो।

१९. अवको बजार कता जाने देख्नुभएको छ ? लगानीकर्ताले कस्तो रणनीति लिंदा राम्रो होला ?

बजारमा त मैले यतिबेला चुनौति भन्दा धेरै अवसर नै देखेको छु । बजार टुहुरो भएर पनि जेनतेन संघर्ष गर्दैछ । राज्यले प्राथमिकतामा नराख्नु, नियामक निकायको अवहेलना, राष्ट्र बैंकको गलत नजर  लगायत चारैतिरबाट भएको प्रहारसँग जुध्दा बजार अझै मजबुत हुँदै गएको छ जस्तो लाग्छ ।

लंगुरबुर्जाको पारामा बजार प्रवेश गर्ने अल्पकालिन कारोबारीको लागी त मेरो कुनै सुझाव छैन । तर तपाईं लगानिकर्ता हो भने चाहिं यो समय ढुक्कसँग लगानी गर्नुहोस् र कम्तिमा पनि एक बर्ष कुर्नुहोस् ।  परिणाम सोचेभन्दा राम्रो आउनेछ भन्ने बिश्वाश छ।

२०. फेक आइडीबाट यस्तो चर्चित हुँदा कस्तो लाग्छ ? गाली आउँछ कि आउंदैन ?

सुरुमा त मेरो आइडी फेक होइन भनेर अघि नै भनें । अव फोटो नहालेको कुरामाचाहिं गालीभन्दा बढी त ताली नै पाउने गरेको छु । कतिपयले त सामाजिक संजालबाट हिरो हुन खोज्छ पनि भन्छन् । त्यो उनीहरुको ईर्श्या र जलन बोलेको हो । जबकी सामाजिक संजालमा मेरा बिचार पढ्ने हरु ९९.९९ प्रतिशतले त मलाई चिन्दै चिन्दैनन् भने हिरो हुनुको के अर्थ भयो र ?

२१. अहिले त शिव चन्द्रको छोरो शिव चन्द्रको नातीजस्ता आइडीहरु पनि छन्, तपाईंहरुचाहिं परिवारमा कति जना हुनुहुन्छ ?

यति सम्म भेटेको छु कि मसंग फेसबुकमा धेरै पहिलेदेखि आवद्ध मित्रहरुलेसमेत आफ्नो नाम परिवर्तन गरेर अथवा नयाँ आईडी खोलेर मसँग नाता गाँसिरहानु भएको छ, जसलाई उहाँहरुको म प्रतीको अगाध माया भनेर बुझेको छु । मेरो परिवर सदश्यहरु आज को दिन सम्म करिव ४३००० को हाराहारीमा हुनुहुन्छ।

२२ . तपाईं त खुब घुम्नुहुन्छ, घुमाईको कुनै रमाइलो संस्मरण सुनाईदिनुहोस् न ।

मेरो सबै भन्दा ठुलो सौख नै घुम्ने हो । कम्तिमा पनि महिनामा दुई पटक नयाँ नयाँ ठाउँ घुम्न निस्कन्छु । यात्राका धेरै स्मरणहरु रहेका छन्, ति मद्धे सेयर बजारसँग सम्बन्धित एउटा अनुभव सेयर गर्न चाहें ।

पछिल्लो समय लकडाउन खुलिसकेपछी दोलाखा पुगेको थिए। म प्राय: दोलाखा जाँदा त्यहाँ अवस्थित लक्ष्मी होटल एण्ड लजमा बस्ने गर्छु । निफ्राको आईपिओले सेयर बजारको दायरा लाई निकै फराकिलो पारेको रहेछ । लकडाउनले गर्दा पनि सेयर बजारप्रति धेरैको चासो बढेको रहेछ । साँझ मेरा एक मित्रले रेष्टुरेण्टमा आयोजना गरेको भेटघाट कार्यक्रममा त्यहिंका ८/१० जना स्थानिय साथीहरु पनि उपस्थित हुनुहुन्थ्यो । सेयर बजारकै चर्चा चल्दै थियो यसैबिच छेवैमा रहेका एक मित्रले भने ] कुरो बुझ्नुभो यो शिव चन्द्र भन्ने मान्छे मैले पत्ता लगाएँ नि, हरि ढकाल नै पो शिव चन्द्र रैछ् !’ अर्का मित्रलाई  पाखुरामा धाप मार्दै भने।

अर्का मित्रले थपिहाले ” मलाई पनि कता कता शंका त  पहिल्यै लाग्याथ्यो । तर शिव चन्द्रसँग मलाई चाहिं साह्रै रिस उठ्या छ । निफ्रा लिस्टिङ भएर कारोबार सुरु भएपछी दिन्दिनै लगातार बढ्दैथ्यो ७०० पुगेपछी फ्याट्ट मैले त निफ्रा बेचेर क्रीम मुक्तीनाथ किनें भनेर पोष्ट हान्दियो, भोलिपल्टबाट त झर्न सुरु भैगो । आफुचाहिं नबेची बसियो, अहिले मुक्तिनाथ ७०० पुग्यो निफ्रा ४०० मा ल्याङल्याङ गर्दैछ । त्यो मान्छेले पोष्ट नगरेको भए एनआरआईसी लाई जित्थ्यो नि निफ्राले। झोक चलेर उस्को पोष्टमा गएर फेक आईडी भनेर तथानाम गाली गर्देको ब्लक हान्देछ । मैले पनि अर्को फेक आईडी खोलेर तुरुन्तै फलो गरिहालें । सेयर बजार बारे कुरा त राम्रै गर्छ नि।’

त्यतिबेला बेग्लै किसिमको रमाईलो लागेको थियो।

२३. अहिले बुलमा फसेर धेरै लगानीकर्ताहरु चिन्तामा हुनुहुन्छ।  उहाँहरुलाई के सुझाव दिनुहुन्छ ?

अहिलेको बुलमा लगानिकर्ता फसेको भन्नै मिल्दैन नि। लगानीकर्ता फसेको भनिहाल्नको लागी बुलको अन्त्य हुनुपर्छ । बुलको अन्त्य नै भैसकेको जस्तो त लाग्दैन। राम्रा कम्पनीमा लगानी गर्ने लगानिकर्ताहरु त डराउनै पर्दैन । बढ्दो बजार लगानिकर्ताको लागि  अवसर हो भने घट्दो बजारलाई त म झन ठुलो अवसरको रुपमा लिन्छु । तरलताको अवस्था सँधै अहिले जस्तो हुँदैन । सरकारी ढुकुटी बाट पनि अब बिस्तारै खर्च बढ्दै जाने देखिन्छ । चुनावको माहोलपनि सुरु हुँदैछ। तसर्थ बजारको लागी नकारात्मक भन्दा सकारात्मक माहोल बन्दै गएको ठान्छु म चाहिं।

२४. अन्तिममा, अर्थ सरोकार कस्तो लाग्छ ? अर्थ सरोकारका दर्शक (आम लगानीकर्ता)हरुलाई के भन्न चाहानुहुन्छ ?

मिडियालाई राज्यले समेत चौथो अंगको उपमा दिएको छ । सोही अनुरुप मिडियाले पनि आफ्नो धर्म निभाउनुपर्ने हुन्छ । हामी दर्शक तथा श्रोताहरुले पनि जिम्मेवार नागरिकको हैसियतले खबारादारी गरिरहनु पर्दछ । केहि मिडियाहरुको गलत कर्मको कारण सम्पुर्ण मिडिया क्षेत्रनै बदनाम हुने गरेको छ । मैले सुरु देखि नै मिडियाको सही कार्यलाई सही र गलत कार्य लाई गलत भनेर खरो रुपमा आवज उठाउँदै आईरहेको छु ।

अर्थ सरोकारको बिषयमा कुरा गर्नुपर्दा सुरु-सुरुमा अलि बायस हो कि जस्तो लाग्दथ्यो  र चित्त नबुझेको कुरा तुरुन्तै सामाजिक संजाल मार्फत् उठाईहाल्थें । पछिल्लो समय अर्थ सरोकारको गुणस्तरमा निकै सुधार आएको पाएको छु। रेडियोमार्फत् देशै भर पुग्नुभएको छ । गुणस्तरयुक्त प्रविधि प्रयोगमा ल्याएर मिडिया संचालनमा ल्याउनु भएको छ । म केहि टेलिभिजनका स्टुडियोमा पनि पुगेको छु, यतिको स्टुडियो त कतिपय टिभीसँग पनि छैनन्।  गज्जब गर्नुभयो छ। साह्रै राम्रो टिम रहेछ, राम्रो लाग्छ ।

हामिले गलत कुरालाई गलत भनेर औंल्याउन सके जस्तै सही लाई सही पनि भन्न सक्नुपर्छ। तर यहाँ  राम्रा काम नदेख्ने तर एउटा गलत कामको भने पछी नै लागिरहने परिपाटी छ ।

व्यक्तिगत रुपमा भन्नुपर्दा म चाहिं धेरै हदसम्म यहाँबाट प्रभावित नै छु। अर्थ सरोकारले छोटो समयमा ठुलो प्रगति गरेको छ।  सायद यति छोटो समयमा यो उचाई चुमौला भन्ने सोच्नुपनि भएको थिएन होला । अझै प्रगति गर्दै जानुहोला , शुभकामना।

यती भन्दै गर्दा अब कतिपय मित्रहरुले शिव चन्द्र भनेकै सुरज प्याकुरेल हुन् अथवा अर्थ सरोकारमा पनि शिव चन्द्रको लगानी रहेछ भनेर भबेछन् भने म अचम्म मान्दिन।

अन्त्यमा  यति भन्न चाहन्छु कि पहिलोपटक यहाँको मिडियामा आएर अन्तर्वार्ता दिएको छुँ । गोप्यता राखिदिनु भएकोमा धन्यबाद । यसलाई इडिट गर्दा पनि केहि गोपनियताका कुराहरु होलान्।  यसलाई पनि ख्याल गरिदिनुहोला । भविष्यमा मेरो पुस्तक अर्थसरोकार बाटै बिमोचन गर्ने बाचा गर्दै अहिलेलाई बिदा हुन चाहन्छु । त्यतीबेलाचाहिं  फुल लाईट  अन गरेर लामो भलाकुसारी गरौंला ।  समय समयमा भेटघाट त हुनेनै छ। नमस्कार ।

भिडियो

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस