नेपाली चिया निर्यातमा भारतीय पक्षबाट हुँदै आएको अवरोध अन्ततः हटेको छ । आज देखि चिया निकासी पुनः सुचारु भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
गुणस्तर परीक्षणको बहाना बनाउँदै भारतले नेपाली चिया निकासी रोकेपछि विगत केही समयदेखि ठुलो विवाद सिर्जना भएको थियो। निर्यात ठप्प भएपछि झापाका ३० वटा सीटीसी र इलामका ६५ वटा अर्थोडक्स चिया उद्योगहरू गत असार १ गतेदेखि पूर्ण रूपमा बन्द हुन पुगेका थिए ।
चिया क्षेत्रमा देखिएको संकटप्रति सरकारले विशेष चासो देखाउदै कुटनीतिक माध्यमबाट तत्कालका लागि परिवर्तित गुणस्तर परीक्षणको नियम लागु नगर्ने सहमति भएको बताइएको छ ।
उद्योग मन्त्रालयका अनुसार अब उप्रान्त गुणस्तर परीक्षण वा अन्य कुनै पनि बहानामा नेपाली चिया निकासीमा अवरोध नहुने सहमति बनेको छ। अवरोध हटेसँगै अवरुद्ध चिया निर्यात सुचारु भएको छ र बन्द भएका भएका ९५ वटा चिया उद्योगहरू पनि पुनः सञ्चालनमा आउने भएका छन् ।
















