काठमाडौं, २८ जेठ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहअन्तर्गतको ६८ हजार १२८ कित्ता सेयर बिक्री प्रक्रिया सुरु गरेको छ। दुई जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्रीका लागि खुला गरिएको संस्थाले जनाएको छ।
हालका लागि यो सेयर खरिद गर्ने अवसर विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्र प्रदान गरिएको छ। सेयर खरिदमा इच्छुक संस्थापकहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय, बनेपामा लिखित निवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
संस्थाका अनुसार निर्धारित अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट कुनै पनि दाबी वा आवेदन प्राप्त नभएमा उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्रीका लागि खुला गरिनेछ।
लघुवित्तले प्रचलित कानुनी व्यवस्था र संस्थागत प्रक्रियाअनुसार सेयर हस्तान्तरणको प्रक्रिया अगाडि बढाइएको जनाएको छ।















