काठमाडौं, २६ जेठ । हकप्रद सेयर निष्कासनपछि बिक्री हुन नसकेको सेयर अब सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि लिलामीमार्फत उपलब्ध गराइने भएको छ। हिमालयन पावर पार्टनर लिमिटेडले अवितरित रहेको ४ लाख ६८ हजार ७४० कित्ता सेयर बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने तयारी गरेको हो।
कम्पनीले १ः०.५ अनुपातमा वैशाख १७ गतेदेखि जेठ ६ गतेसम्म हकप्रद सेयर जारी गरेको थियो। उक्त अवधिमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको सेयर लिलामी प्रक्रियामा ल्याउन लागिएको जनाएको छ।
यसअनुसार जेठ २७ गतेदेखि बोलपत्र आवेदन खुला हुनेछ। कम्पनीका अनुसार व्यक्तिगत लगानीकर्ता, कम्पनी तथा विभिन्न संघसंस्थाले समेत लिलामीमा सहभागी हुन सक्नेछन्। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ।
आवेदकले कम्तीमा १०० कित्तादेखि अधिकतम सम्पूर्ण उपलब्ध सेयरसम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदन ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा ग्लोबल आइएमई बैंकका विभिन्न शाखा कार्यालयमार्फत बुझाउन सकिनेछ।
बिर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी र महेन्द्रनगरस्थित शाखाबाट बोलपत्र पेश गर्न सकिने कम्पनीले जनाएको छ।
लिलामीमा सहभागी हुन इच्छुक लगानीकर्ताले असार ४ गतेभित्र आवेदन दर्ता गरिसक्नुपर्नेछ। कम्पनीले तोकिएको अवधिभित्र प्राप्त उच्चतम मूल्यका आधारमा सेयर बाँडफाँट गरिने जनाएको छ।















