अर्थमन्त्री स्वर्णिम वाग्लेले धितोपत्र बजारमा लाग्ने पुँजीगत लाभकर नै अन्तिम कर भएको स्पष्ट पार्नुभएको छ ।
केही पक्षबाट फैलिएको भ्रम चिर्दै उहाँले लगानीकर्ताको माग सम्बोधन गरी सरकारले पुँजीगत लाभकरलाई नै अन्तिम करका रूपमा कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो । अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले लगानीकर्ताहरूले मन्त्रालयमा नै आएर पुँजीगत लाभकरलाई अन्तिम कर बनाउन आग्रह गरेको र सरकारले त्यसलाई उदारतापूर्वक स्वीकार गरेको बताउनुभयो । यसअघि ५ प्रतिशत रहेको लाभकर ७.५ प्रतिशत र ७.५ प्रतिशत रहेको लाभकर १० प्रतिशतमा समायोजन गरिएको र यसलाई नै अन्तिम करका रूपमा निर्धारण गरिएको उहाँले प्रस्ट्याउनुभयो ।
अर्थमन्त्री वाग्लेले बजेटपछि कर बढाइएको भन्ने गलत बुझाइ र भ्रम फैलाइएकोप्रति ध्यानाकर्षण गराउँदै यस्तो दाबी निराधार रहेको बताउनुभयो । उहाँले छिमेकी मुलुक भारतमा १० प्रतिशतदेखि २० प्रतिशतसम्म पुँजीगत लाभकर रहेको उदाहरण दिँदै नेपालको कर दर तुलनात्मक रूपमा अझै नरम रहेको उल्लेख गर्नुभयो । यसबाट लगानीकर्ताहरूलाई थप स्पष्टता मिल्ने र बजारमा सकारात्मक वातावरण बन्ने अपेक्षा गरिएको छ ।













