नेपाली धितोपत्र बजारमा सूचीकृत कम्पनीहरु अब विदेशी धितोपत्र बजारमा पनि सूचीकृत हुन पाउने भएका छन् । यो व्यवस्थाले नेपाली कम्पनीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा पुँजी संकलनका लागि नयाँ अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो महत्वपूर्ण घोषणा गरेका हुन्। बजेट वक्तव्यमा भनिएको छ, “नेपालको धितोपत्र बजारमा सूचीकृत कम्पनीलाई तोकिएको प्रक्रिया पुरा गरी विदेशी धितोपत्र बजारमा सूचीकृत हुनेगरी ग्लोबल डिपोजिटरी रिसिट (GDR) जारी गर्न सक्ने व्यवस्था मिलाउने छौं।” यस व्यवस्था अन्तर्गत, नेपाली कम्पनीहरुले आफ्ना सेयरहरु विदेशी मुद्रामा विदेशी लगानीकर्ताहरुका लागि उपलब्ध गराउन सक्नेछन्, जसले उनीहरुको वित्तीय क्षमता र विस्तारमा टेवा पुग्नेछ।
यसैबीच, पुँजीबजारमा हुने अवाञ्छित गतिविधिहरुप्रति सरकारले कडा कदम चाल्ने भएको छ। अर्थमन्त्री वाग्लेले सेयर कर्नरीङ (Share Cornering) र इन्साइडर ट्रेडिङ (Insider Trading) जस्ता गैरकानुनी तथा अनैतिक गतिविधिहरुलाई रोक्न ‘शून्य सहनशीलता’ (Zero Tolerance) को नीति अपनाइने प्रष्ट पारेका छन्। यसबाट लगानीकर्ताहरुको हितको रक्षा हुने र बजारमा विश्वास बढ्ने विश्वास गरिएको छ। यी नीतिगत व्यवस्थाहरुले नेपाली पुँजीबजारलाई थप परिपक्व, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।











