राष्ट्रिय मानव अधिकार आयोगले ‘हामी नेपाल’ संस्थाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुधन गुरुङलगायत जेनजी आन्दोलनका आयोजकहरूमाथि थप अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ। भदौ २३ र २४ गते आयोजित प्रदर्शनका क्रममा शान्तिपूर्ण रहने प्रतिबद्धता विपरीत हिंसात्मक गतिविधि भएको निष्कर्ष निकाल्दै आयोगले यो कदम चालेको हो।
आयोगको प्रतिवेदनअनुसार, आयोजकहरूले जिल्ला प्रशासन कार्यालयबाट शान्तिपूर्ण कार्यक्रमको अनुमति लिए पनि प्रदर्शन नियन्त्रण बाहिर गई हिंसात्मक रूप लिँदा र तोडफोड हुँदा समेत त्यसलाई रोक्न सकेनन्। आयोगले आयोजकहरूको भूमिका र प्रदर्शनमा भएको घुसपैठका विषयमा गम्भीर प्रश्न उठाएको छ।
थप अनुसन्धानको दायरामा ‘हामी नेपाल’का अध्यक्ष सुधन गुरुङ, पुरुषोत्तम यादव, सबल गौतम, अंकित मल्ल र खेमराज साउड परेका छन्। उनीहरूले आफूले आयोजना गरेको कार्यक्रममा घुसपैठ रोक्न र प्रदर्शनलाई हिंसात्मक हुन नदिन आवश्यक जिम्मेवारी पूरा नगरेको आयोगको ठहर छ।
आयोगले आफ्नो प्रतिवेदनमा प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिको क्षति हुनुमा आयोजकहरूको फितलो व्यवस्थापन र कमजोरीलाई पनि एक प्रमुख कारण मानेको छ। भविष्यमा यस्ता कार्यक्रमहरूमा आयोजकलाई थप जिम्मेवार बनाउन र घटनाको गहिराइसम्म पुग्न यी व्यक्तिहरूमाथि सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सिफारिस गरिएको आयोगको प्रतिवेदनमा उल्लेख छ।













