×
सञ्चालनको अन्तिम तयारीमा नागढुंगा सुरुङमार्ग , कुन सवारी साधनलाई कति शुल्क ?



नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि सेवाप्रदायक कम्पनी छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ। चिनियाँ कम्पनी युसिन र नेपाली कम्पनी एआरटीको संयुक्त उपक्रम ‘युसिन–एआरटी जेभी’ सुरुङ सञ्चालन, व्यवस्थापन, मर्मत र ट्राफिक व्यवस्थापनको जिम्मेवारी लिने भएको छ। वैशाखको अन्तिम सातादेखि सुरुङको परीक्षण सञ्चालन सुरु गर्ने लक्ष्य राखिएको छ।

यसैबीच, सरकारले सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि शुल्कदर निर्धारण गरी राजपत्रमा प्रकाशित गरेको छ। यसअनुसार, कार र भ्यानका लागि काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क लाग्नेछ। यो मार्गबाट दैनिक करिब ८ सय ५९ कार/भ्यान उपत्यका भित्रिने र ६ सय ४६ वटा बाहिरिने अनुमान छ।

मिनी बस, ट्रक र टिपरले उपत्यका प्रवेश गर्दा १ सय १५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ। यस्ता सवारी साधन दैनिक करिब ५ सय ४० उपत्यका भित्रिने र ४ सय ६ वटा बाहिरिने आयोजनाको अनुमान छ।

ठूला बस र ट्रकले भने सुरुङमार्ग प्रयोग गर्दा २ सय ६० रुपैयाँ प्रवेश शुल्क र २ सय रुपैयाँ बाहिरिने शुल्क तिर्नुपर्नेछ। यस्ता सवारी साधन दैनिक करिब ७ सय ९४ भित्रिने र ५ सय ९७ बाहिरिने अनुमान छ।

सबैभन्दा बढी शुल्क ठूला ट्रक र हेभी सवारी (लरी) साधनका लागि तोकिएको छ। यस्ता सवारीले उपत्यका प्रवेश गर्दा ६ सय रुपैयाँ र बाहिरिँदा २ सय ५० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। दैनिक करिब ५ सय ९६ ठूला ट्रक र हेभी सवारी भित्रिने र ४ सय ४८ वटा बाहिरिने अनुमान गरिएको छ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ गत चैत २५ गते नै जारी भइसकेको छ। निर्देशिकाले पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे सवारी र गैरयान्त्रिक सवारी साधनलाई सुरुङमार्गमा प्रवेश निषेध गरेको छ। साथै, डिजेल, पेट्रोल, ग्यासजस्ता अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि सुरुङमा जान रोक लगाइएको छ।

२०७६ कात्तिक ४ गते सुरुङ निर्माण सुरु भएको थियो। तोकिएको ४२ महिनाभित्र काम सम्पन्न हुनुपर्नेमा विभिन्न कारणले म्याद थप भएको थियो। करिब ९८ प्रतिशत निर्माण कार्य सकिएको मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर र आपतकालीन सुरुङ २ हजार ५ सय ५७ मिटर लामो छ। जापानको हाज्मा एन्डो कर्पोरेसनले सुरुङ निर्माणको जिम्मा लिएको छ। निर्माण कार्य सकिए पनि सेवाप्रदायक कम्पनी छनोटमा भएको ढिलाइले सुरुङ सञ्चालनमा ढिलाइ भएको हो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस