×
बैंकिङ कसूरमा दोषी बिरगंजका व्यवसायी सुनिल साह पक्राउ



सञ्जय मिश्रा

बिरगंज, २३ साउन। बैंकिङ प्रणालीको दुरुपयोग तथा आर्थिक अनुशासन उल्लङ्घनका अभियोगमा दोषी ठहर भई फरार रहेका वीरगंज–१६ निवासी ३४ वर्षीय व्यवसायी सुनिलकुमार साहलाई प्रहरीले लामो समयपछि पक्राउ गरेको छ।

जिल्ला अदालत पर्साले बैंकिङ कसूरसम्बन्धी मुद्दामा साहलाई १० दिन कैद र ३० लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। अदालतको फैसला कार्यान्वयन नगरी फरार रहेका साहलाई बिहीबार लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी अदालतमा पेश गरिएको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताए ।

प्राप्त जानकारी अनुसार साह ‘अम्बे इन्टरप्राइजेज प्रालि नामक निजी फर्मका सञ्चालक हुन्। उनीविरुद्ध देवेन्द्र कुमार कर्णको जाहेरीका आधारमा मुद्दा दायर गरिएको थियो।

प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार साह अदालतको आदेशपछि फरार रहेका थिए। फैसला कार्यान्वयन टोलीले निगरानी बढाउँदै आएको र विशेष सूचनाको आधारमा पक्राउ गरिएको जानकारी दिएको छ।

नेपालमा पछिल्ला वर्षहरूमा बैंकिङ कसूरका घटनाहरू उल्लेख्य रुपमा बढ्दै गएको देखिन्छ। चेक बाउन्स, कागजपत्रमा त्रुटिपूर्ण विवरण, नियतवश नतिर्ने ऋणजस्ता गतिविधिले वित्तीय प्रणालीमा गम्भीर असर पारिरहेका छन्।

साहजस्ता व्यापारीहरूको संलग्नता बैंकिङ प्रणालीमै प्रश्न उठाउने खालको छ। साह एक निजी कम्पनीका सञ्चालक भएपनि कानुनी दायित्वबाट भाग्दै लुकी छिपी बस्नुले अर्थतन्त्र प्रतिको उदासीनता र दण्डहीनताको संस्कृति झल्काउँछ। साहको पक्राउले एउटा सन्देश दिएको छ– अदालतको फैसला कार्यान्वयन हुने छ, चाहे आरोपी जोसुकै होस्।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस