कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत रुपन्देही ३ (क) को मतगणना स्थलमा विवाद चर्किएपछि क्षेत्रीय सचिव पदका उम्मेदवारमाथि कुटपिट भएको छ ।
मतगणना स्थलमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षधरबीच विवाद हुँदा झडप भएको थियो । घटना हुँदा कम्तिमा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थाका सैलेश पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। पन्त क्षेत्रीय सचिवका उम्मेदवार हुन्। पन्तको नाकमा गहिराे चाेटसहित नाकको डाँडी भाँचिएको छ ।
घाइते अन्यको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ। आक्रमण भएपछि मतगणाना स्थगित भएको ।
त्यस्तै , नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत उदयपुरमा प्रदेशस्तरीय (चार प्रदेश निर्वाचन क्षेत्र) मध्ये तीन स्थानमा निर्वाचन भएकाे छ । निर्वाचन क्षेत्र २ (क) मा दुवै पक्षबीच कुटाकुट हुँदा चार वटा मतपत्र च्यातिएपछि मतगणना स्थगित भएको छ ।
उदयपुरमा चार प्रदेश निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र १ (क) (ख) निर्वाचन क्षेत्र २ को (ख) को मतपरीणाम सार्वजनिक भएकाे छ । निर्वाचन क्षेत्र २ (क) को मतपत्र च्यातिएको कारण स्थगित गरिएको छ ।
१ (ख) मा सरोजकुमार बस्नेत, २ (ख) कृष्ण थापा निर्वाचित भएका छन् । उनीहरु सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षीय नेता हुन् । १ (क) मा अर्जुन दाहाल विजयी भएका छन् । उनी कोइराला–पौडेल पक्षका हुन् ।











