नेपाल राष्ट्र बैंकले रू. ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिलको सोमवारदेखि विक्री गर्न लागेको हो ।
राष्ट्र बैंकले ९१ दिन अवधिको रू. २० करोड, १८२ दिन अवधिको पाँच अर्ब र ३६४ दिन अवधिको रू. छ अर्ब गरी जम्मा रू. ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
९१ दिन अवधिको ट्रेजरी बिल आगामी माघ ४ गते परिपक्व हुनेछ भने १८२ दिने बिल आगामी वैशाख छ र ३६४ दिने बिल २०७९ साल कात्तिक १ मा परिपक्व हुनेछ । यसअघि बैंकले गत असोज २५ गते रू. १३ अर्ब २५ करोड बराबरको टे«जरी बिल जारी गरेको थियो ।
ट्रेजरी बिलको बोलकबोल अनलाइनमार्फत सोमवार दिउँसो ३ बजे खुला हुनेछ । सोमवार हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले मंगलवार ट्रेजरी बिल जारी गर्नेछ ।
के हो ट्रेजरी बिल ?
मुद्रा बजारको एक प्रमुख उपकरणको रुपमा रहेको ट्रेजरी बिल एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन (एक वर्षभन्दा कम) अवधिको स्रोत जुटाउन राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट बहुबोल मूल्य विधिअनुसार यस्तो बिल जारी गर्ने गर्छ ।
२८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको टे«जरी बिल केन्द्रीय बैंकले जारी गर्दछ । नेपालमा हाल २८ दिने ट्रेजरी बिल प्रचलनमा आएको देखिँदैन ।

















