नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) कप्तानको जिम्मेवारी सन्दीप लामिछानेले पाएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई कप्तानीबाट हटाउँदै सन्दीपलाई नयाँ कप्तान नियुक्त गरेको हो। क्यानको निर्णयसँगै सन्दीप करिब चार वर्षपछि नेपाली राष्ट्रिय टोलीको कप्तानीमा फर्किएका छन्। यसअघि सन् २०२२ मा उनले राष्ट्रिय टोलीको नेतृत्व सम्हालेका थिए। त्यसपछि उनीमाथि लागेको मुद्दाका कारण कप्तानी जिम्मेवारीबाट हटाइएको थियो।
अब सन्दीपले मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपबाट नेपाली टोलीको नेतृत्व गर्नेछन्। उनको कप्तानीमा नेपालले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने तयारी गरेको छ।
नयाँ कप्तानको टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी रहेका छन्।
विश्वकप लिग–२ मा नेपालको पछिल्लो प्रदर्शन अपेक्षाअनुसार हुन नसकेपछि क्यानले नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको हो। कप्तानी परिवर्तनसँगै रोहित पौडेलले ओडिआई र टी–२० दुवै फर्म्याटको कप्तानी गुमाएका छन्।
यसअघि नै क्यानले टी–२० अन्तर्राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीलाई दिइसकेको छ। अब ओडिआईमा सन्दीप र टी–२० मा दीपेन्द्रले नेपाली टोलीको नेतृत्व गर्नेछन्।














