काठमाडौं, १५ जेठ ।आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट अनुमोदनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को विशेष बैठक सुरु भएको छ।
अर्थ मन्त्रालयबाट स्वीकृतिका लागि ल्याइएको बजेटमाथि मन्त्रिपरिषद् बैठकमा छलफल भइरहेको छ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संसद्मा बजेट पेस गर्नुअघि मन्त्रिपरिषद्बाट स्वीकृत गराउनुपर्ने अनिवार्य नियम रहेकाले यो बैठक बसिरहेको हो। मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्य, आर्थिक विधेयक, र विनियोजन विधेयकलाई अन्तिम रूप दिई पारित गर्नेछ।
मन्त्रिपरिषद्बाट बजेट पारित भएलगत्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सङ्घीय संसद्को संयुक्त सदनमा बजेट प्रस्तुत गर्न नयाँ बानेश्वरतर्फ प्रस्थान गर्नुहुनेछ। सङ्घीय संसद्को दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठक आज अपराह्न बस्दैछ, जहाँ अर्थमन्त्री डा. वाग्लेले आर्थिक वर्ष २०८३/८४ को वार्षिक आयव्ययको अनुमानित विवरण (बजेट) वाचन गर्नुहुने कार्यक्रम रहेको छ।











