राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई प्राप्त करिब दुई तिहाइ हाराहारीको जनसमर्थनले ठूलो आशा र अपेक्षा जगाएको बताउँदै यसलाई जोगाउन सांसदहरूलाई सचेत गराएका छन्। उनले लोकतान्त्रिक प्रणाली, वर्तमान व्यवस्था र संविधानप्रति पार्टीको प्रतिबद्धता दोहोर्याएका छन् भने शासन प्रणालीमा सुधारको आवश्यकता रहेको संकेत पनि गरेका छन्।
ललितपुरको ग्वार्कोमा आयोजित सांसदहरूको अभिमुखीकरण कार्यक्रमको समापनका क्रममा बोल्दै लामिछानेले रास्वपा र यसका समर्थकहरूलाई ‘अराजक’ र ‘असहिष्णु’ को रूपमा प्रस्तुत गरिने धारणालाई चिर्नुपर्ने आवश्यकता औंल्याए। उनले अन्य राजनीतिक दल वा विपक्षीमाथि अनावश्यक टिप्पणी नगर्न र पुराना दल तथा नेताहरूले देश निर्माणमा पुर्याएको योगदान, त्याग र समर्पणलाई सम्मान गर्न सांसदहरूलाई निर्देशन दिए।
“इतिहास रच्नमा कुनै एक व्यक्ति वा पार्टीको मात्र हात हुँदैन,” लामिछानेले भने, “पुराना राजनीतिक दल र नेताहरूले त्याग र तपस्या गरेर नै आज हामी यो स्थानमा आइपुगेका छौं। उहाँहरूका कैयौं कमी-कमजोरीप्रति हाम्रो प्रश्न अवश्य छन्, तर उहाँहरूले पुर्याएको योगदानलाई नजरअन्दाज गर्ने अधिकार हामी कसैलाई पनि छैन। इतिहास उहाँहरूले लेख्नुभयो, अब भविष्य हामी कोर्छौं।”
उनले आफ्ना अभिव्यक्तिहरूमा अन्य दल वा विपक्षीप्रति कटाक्ष भएमा त्यसले अनर्थ हुने चेतावनी दिए। “विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो, छाडा हुनु होइन,” उनले स्पष्ट पारे, “विजेता हुनुको अर्थ विपक्षीलाई कटाक्ष गर्ने अधिकार प्राप्त गर्नु होइन।”
रास्वपाका समर्थकहरूको ‘अराजक’ र ‘असहिष्णु’ छवितर्फ संकेत गर्दै सभापति लामिछानेले भने, “अब त्यो छविबाट हामी बाहिर निस्कनुपर्छ। सम्पूर्ण रास्वपा समर्थक साथीहरूलाई म जिम्मेवार भएर अभिव्यक्त हुन, सामाजिक सञ्जालहरूमा जिम्मेवार भएर प्रस्तुत हुन अनुरोध गर्दछु।”
उनले पार्टीको जितलाई देशको जितका रूपमा व्याख्या गर्दै भने, “यो रास्वपाले जितेको होइन, देशले जितेको हो। यो अति संवेदनशील र धेरै मेहनत गर्नुपर्ने समयमा हामी उभिएका छौं, त्यसैले अझ बढी मिहिनेतका साथ अगाडि बढ्न म अनुरोध गर्दछु।”








