×
पश्चिम एसियाली तनाव : दैनिक दुई हजार नेपालीले गुमाए रोजगारीको अवसर



पश्चिम एसियामा विकसित द्वन्द्वको चपेटामा परेका कारण दैनिक दुई हजारभन्दा बढी नेपाली नागरिकले रोजगारीका लागि विदेश जाने अवसर गुमाएका छन्।

खाडी क्षेत्रमा बढेको अस्थिरतालाई मध्यनजर गर्दै सरकारले श्रम स्वीकृति रोक्का गरेको थियो। यसको प्रत्यक्ष असर नयाँ श्रम भिसा पाउने तयारीमा रहेका मात्र नभई बिदामा घर आएका श्रमिकको हकमा पनि परेको छ। सरकारको निर्णयअनुसार, अध्यागमन विभागले श्रम स्वीकृति नपाएका श्रमिकलाई हवाई यात्रामा रोक लगाएको छ। परराष्ट्र सचिव अमृत राईको अध्यक्षतामा बसेको ‘इमर्जेन्सी रेस्पोन्स टिम’को सिफारिसमा श्रम मन्त्रालयले १२ मुलुकका लागि नयाँ र पुराना दुवै खाले श्रम स्वीकृतिमा रोक लगाएको थियो। यसै निर्णयलाई आधार मान्दै वैदेशिक रोजगार विभागले १२ देशमा १७ फागुनदेखि श्रम स्वीकृति बन्द गरेको थियो। मंगलबारबाट भने साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, ओमान, यमन, जोर्डन र टर्किए लगायत सात देशका लागि पुनः श्रम स्वीकृति खुला गरिएको छ।

यद्यपि, नयाँ श्रमिकका लागि भने स्वीकृति बन्द नै रहेको छ। यस्तै, कुवेत, बहराइन, इराक, लेबनान र इजरायलजस्ता मुलुकका लागि भने नयाँ र पुराना दुवै खाले श्रम स्वीकृति पूर्ण रूपमा बन्द छ। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार, गत माघसम्ममा नयाँ र पुराना गरी ७० हजार ५ सय ३ जनालाई रोजगारीका लागि श्रम स्वीकृति प्रदान गरिएको थियो। यसमध्ये ४८ हजार २ सय २६ जनाले पश्चिम एसियाका १२ मुलुकका लागि स्वीकृति लिएका थिए। नेपाली श्रमिकका लागि प्रमुख पाँच गन्तव्य मुलुकमध्ये कुवेत, यूएई, साउदी अरब र कतार खाडी क्षेत्रमै पर्दछन्। विमान सेवामा आएको अवरोधका कारण युरोपको भिसा भएका केही श्रमिकले समेत यात्रा गर्न पाइरहेका छैनन्। १६ फागुनमा अमेरिका र इजरायलले इरानमाथि गरेको हमलाको जवाफमा इरानले खाडी मुलुकहरूमा रहेका अमेरिकी बेस क्याम्पलाई लक्षित गरी आक्रमण थालेपछि असुरक्षाको वातावरण बढेको छ। यो घटनाक्रमसँगै फागुन महिनाभर विभागले नयाँ र पुराना गरी ५२ हजार जनालाई श्रम स्वीकृति दिएको थियो। १६ फागुनसम्म पश्चिम एसियाका १० मुलुकमा नयाँ भिसा प्राप्त गरेका १४ हजार ५ सय ३६ जनालाई मात्र स्वीकृति दिइएको थियो, जसमध्ये धेरैजसोले यात्रा गर्न सकेका छैनन्। यूएई जाने तयारीमा रहेका सिन्धुलीका उज्ज्वल थापाले करिब दुई लाख रुपैयाँ खर्च गरिसकेको र हातमा आएको रोजगारी धरापमा परेको बताए। मेडिकल, भिसा र आवश्यक कागजातको प्रक्रिया पूरा गरेका उनी २१ फागुनको चुनावपछि उड्ने योजनामा थिए।

‘अब जान नपाएमा सम्पूर्ण खर्च डुब्ने हो कि भन्ने चिन्ता छ,’ उनले भने, ‘घरमा सबैले आशाका साथ हेरिरहेका छन्, के जवाफ दिने होला!’ बिरामी श्रीमतीको उपचारका लागि पैसा कमाउन विदेश जान लागेका थापाले परिवारको जिम्मेवारी र ऋण तिर्नुपर्ने बाध्यताले थप चिन्तित बनाएको बताए। वैदेशिक रोजगार व्यवसायी संघका तृतीय उपाध्यक्ष वैकुण्ठ पौडेलका अनुसार, भिसा प्राप्त गरिसकेका करिब २० हजार ५ सय श्रमिकको यात्रा रोकिएको छ। यसमा यूएईका १० हजार, साउदी अरबका ५ हजार ५ सय र कतारका ५ हजार श्रमिक पर्दछन्, जसको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको थियो। पौडेलका अनुसार, उड्नका लागि काठमाडौं आइपुगेका धेरै श्रमिकहरू घर फर्कनुपरेको छ। पश्चिम एसियामा बढेको युद्धको तनावले नेपाली श्रमिकको भविष्य अनिश्चित बनेको उनले बताए। बहराइन जाने तयारीमा काठमाडौं आइपुगेका ७३ जना श्रमिकलाई बस भाडा दिएर घर पठाइएको र उनीहरूको यात्रा कहिले सुरु हुने हो भन्ने टुंगो नलागेको उनले उल्लेख गरे। वैदेशिक रोजगार विभागका महानिर्देशक मीरा आचार्यले सात देशका लागि पुनः श्रम स्वीकृति खुला गरिएसँगै बिदामा आएका नेपाली श्रमिकलाई स्वदेश फर्किने बाटो खुलेको बताएकी छिन्। यद्यपि, इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानमा कार्यरत श्रमिकको श्रम नवीकरण भने हाललाई स्थगित गरिएको छ।

यी देशका विमानस्थलहरू पूर्ण रूपमा सञ्चालनमा नआएको र परिस्थितिको मूल्याङ्कन गरी थप निर्णय गरिने आचार्यले जानकारी दिइन्। नयाँ श्रमिकका लागि भने अझै पनि परिस्थिति अनुकूल नभएको उनको भनाइ छ। **श्रमिकको असुरक्षा र उद्धार प्रयास** इरानबाट खाडी मुलुकहरूमा निरन्तर हमला भइरहेकाले ती क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरू क्याम्पमै आश्रय लिइरहेका छन्। कतिपय कम्पनीले आफ्ना श्रमिकलाई स्वदेश फिर्ता पठाउन थालिसकेका छन्। यूएईको शाहा ग्यास फिल्ड, फुजैराह तेल बन्दरगाह, साउदी अरबको रस तनुरा, इराकको मजनुन तेल क्षेत्र, ओमानको सलालाह बन्दरगाहका साथै कतारको मिसाइद र स्लाफानका परियोजनाहरूमा इरानी ड्रोन आक्रमण भएको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थल, कुवेत अन्तर्राष्ट्रिय विमानस्थल र इराकको एर्बिल अन्तर्राष्ट्रिय विमानस्थलमा समेत इरानी हमलाका घटनाहरू भएका छन्, जहाँ हजारौं नेपाली श्रमिक कार्यरत छन्। कुवेत विमानस्थलमा कार्यरत सर्लाहीका राम पासवान विगत दुई सातादेखि क्याम्पमै बसिरहेको बताउँछन्। यूएईमा करार अवधि सकिएका र बिदामा आएका नेपालीहरू स्वदेश फर्किरहेका छन्। कतार, कुवेत र बहराइनबाट साउदी अरब हुँदै नेपाल आउने प्रक्रिया चलिरहेको छ। असुरक्षाको कारण वा अत्यावश्यक परेका श्रमिकलाई परराष्ट्र मन्त्रालयले साउदी अरब हुँदै नेपाल फर्कन सहजीकरण गरिरहेको छ। खाडी क्षेत्रका अधिकांश स्थानमा हवाई उडान पूर्ण रूपमा नियमित नभए पनि केही स्थानबाट आंशिक रूपमा सञ्चालन भइरहेका छन्।

यूएईबाट फ्लाई दुबई र एयर अरेबियाले सीमित संख्यामा उडान गरिरहेका छन्। दुबई विमानस्थलमा केही समयको अवरोधपछि उडान पुनः सुरु भए पनि सीमित उडानका कारण टिकट पाउन निकै कठिन भइरहेको छ। यसैबीच, अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले गन्तव्य देशका सरकार, श्रमिक पठाउने देशका सरकार, रोजगारदाता र अन्तर्राष्ट्रिय समुदायलाई आप्रवासी श्रमिकको जीवन, सुरक्षा र आधारभूत अधिकारको संरक्षण गर्न तत्काल आवश्यक पहल गर्न आग्रह गरेका छन्। इक्विडेमका दक्षिण एसिया निर्देशक रामेश्वर नेपालले आप्रवासी श्रमिकको सुरक्षाका लागि गन्तव्य देशका सरकारहरूले सतर्कता प्रणालीलाई बलियो बनाउनुपर्ने, सुरक्षित आश्रयस्थल र मानवीय सहायतामा कुनै भेदभाव नगरी सबैलाई समान पहुँच प्रदान गर्नुपर्ने बताए। उनले रोजगारदाताहरूले स्वदेश फिर्न चाहेका श्रमिकको कागजात वा तलब रोक्नु नहुने र यस्तो संकटको अवस्थामा तलब रोक्ने वा कामबाट निकाल्ने रोजगारदातामाथि कडा कारबाही हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस