×
Lagani
Lagani Shiksha gif
लायन्स क्लब अफ काठमाडौं ब्लडहुडद्वारा १११ जना महिलाहरु सम्मानित



‘अन्तर्राष्ट्रिय नारी दिवस २०२६’ को अवसरमा ललितपुरको पाटन संग्रहालयमा एक विशेष समारोहका बीच समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने १११ जना महिलाहरूलाई सम्मान गरिएको छ। लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष लायन राजिब श्रेष्ठको सभापतित्व तथा भवानी राणाको मुख्य आतिथ्यता रहेको थियो।

समारोहमा समाजमा अतुलनीय योगदान पुर्‍याउने ११ जना विशिष्ट महिलाहरूलाई विशेष अवार्ड प्रदान गरियो। जसमा पूर्व कुमारी चनिरा बज्राचार्यलाई ‘लायन्स कल्चरल इन्स्पिरेसनल अवार्ड’, सञ्चारकर्मी माल्भिका सुब्बालाई ‘लायन्स मिडिया पर्सनालिटी अवार्ड’, र जेन्जी मुभमेन्टका सरिष्मा थापालाई ‘लायन्स कम्युनिटी चेन्ज मेकर अवार्ड’ प्रदान गरिएको छ। त्यसैगरी, भलिबल संघकी केन्द्रीय सदस्य जुनु थापा मगर, कर्पोरेट उद्यमी सजना जिरेल, गायिका गङ्गा सोनाम, सामाजिक उद्यमी रेवती गुरुङ, फिटनेस ट्रेनर शिभना श्रेष्ठ, इको साथी नेपालकी संस्थापक डा. मनु कार्की, पशु अधिकारकर्मी स्नेहा श्रेष्ठ र अन्तर्राष्ट्रिय कराँते रेफ्रि करुणा रावत क्षेत्रीलाई विभिन्न विधामा सम्मान गरिएको छ।

Lagani Shiksha gif
sharehubapk लायन्स क्लब अफ काठमाडौं ब्लडहुडद्वारा १११ जना महिलाहरु सम्मानित

विशेष अवार्डका अतिरिक्त लायन्स अन्तर्राष्ट्रियको सामाजिक कार्यमा सक्रिय १०० जना स्वयंसेवक महिला, महिला निर्वाचन प्रहरी र नेपाल प्रहरीलाई पनि सम्मान गरिएको थियो। विगतका वर्षहरूमा महिला बाइक र्‍याली आयोजना गर्दै आएको यस संस्थाले यस वर्ष निर्वाचन र सुरक्षा संवेदनशीलताका कारण सम्मान कार्यक्रमलाई प्राथमिकता दिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।

कार्यक्रममा पूर्व कुमारी चनिरा बज्राचार्यले कुमारी अवस्था र हालको साधारण जीवनका अनुभवहरू बाँड्नुभएको थियो भने माल्भिका सुब्बाले आफ्नो संघर्षको कथा सुनाउँदै शुभकामना व्यक्त गर्नुभएको थियो। सोही अवसरमा संस्थाकी ब्रान्ड एम्बेशडर लायन युषा मगरले आगामी अगष्टमा हुने ‘मिस लायन पेजेन्ट’ को घोषणा गर्दै आवेदन खुला भएको जानकारी दिनुभयो।

संस्थाकी सल्लाहकार निरा बज्राचार्यले लायन युषा मगर, लायन अम्रिता लामा र संस्थाकी प्रथम महिला सदस्य सुशिला श्रेष्ठलाई विशेष पिनद्वारा सम्मान गर्नुभएको थियो। कार्यक्रममा लायन्स डिस्ट्रिक ३२५ के का क्याबिनेट सेक्रेटरी त्रिजा ढकालले कवितामार्फत शुभकामना दिँदै आगामी ‘मिस लायन्स इन्टरनेसनल’ का लागि पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो। लियो डिस्ट्रिक प्रेसिडेन्ट लियो प्रतिभा श्रेष्ठले पनि नारी दिवसको महत्त्वबारे धारणा राख्नुभएको थियो।

सांस्कृतिक प्रस्तुति तर्फ गङ्गा सोनामको गायन र सर्वनाम नाट्य समूहको विशेष नाटक प्रदर्शन गरिएको थियो। साथै कराँते खेलाडी बबिता कार्की र पूजा खड्कालाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो। संस्थाकी उपाध्यक्ष अम्रिता लामाले आगामी दिनमा पनि रक्तदान र जनचेतनामूलक कार्यलाई निरन्तरता दिने बताउनुभयो। कार्यक्रमकै अवसरमा पाटनको मंगलबजारमा आयोजना गरिएको रक्तदान शिविरमा ७ जनाले रक्तदान गरेका थिए भने आँखा जाँच शिविर समेत सञ्चालन गरिएको थियो।

समारोहमा अग्रज लायन्स नेतृत्व सुधा थापा, सैलेन्द्र दाहाल, लक्ष्मी थापा लगायत विभिन्न क्लबका पदाधिकारी र स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस