यस वर्षको फिफा विश्वकप फुटबल आगामी महिनादेखि कतारमा सुरु हुँदै छ।
नेपाली टेलिभिजनहरुबाट खेलको प्रत्यक्ष प्रसारण हेर्न सब्सक्रिप्सन लिनुपर्ने नयाँ व्यवस्थासँगै नेपालमा उपभोक्ताले खेल हेर्न अतिरिक्त शुल्क पनि तिर्नुपर्ने भएको हो। मिडिया हबका कार्यकारी निर्देशक सोम धितालले अहिले ५ सय रुपैयाँ थप शुल्क ग्राहकसँग लिनेबारे छलफल भएको जानकारी दिए। विश्वकप कतार २०२२ का सबै खेलहरु हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुने भएका छन् ।
धितालका अनुसार योपटक प्रसारण अधिकारका लागि मात्र २५ करोड रुपैयाँभन्दा धेरै तिर्नुपरेको छ । प्राविधिक र अन्य खर्च जोड्दा ४२ करोड रुपैयाँभन्दा धेरै खर्च हुने उनले बताए । त्यसमा १२ करोड रुपैयाँ मात्र विज्ञापनबाट आउने भएपछि टेलिभिजन ग्राहकसँग पैसा लिने तयारी भइरहेको मिडिया हबको दाबी छ।
एनसेल र एनटीसी ओटीटीबाट पनि विश्व कप हेर्न मिल्ने गरी मिडिया हबले व्यवस्थापन गर्न लागेको जनाएको छ। त्यसको लागि एनसेल वा एनटीसीमध्ये एक मिडिया हबले छान्नेछ।












