पिपुल्स पावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले आजदेखि सर्वसाधारणमा प्रतिकित्ता रू. १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता आईपीओ वितरण गर्न लागेको हो। कुल निष्कासन मध्य १ लाख २३ हजार ३७० कित्ता सामुहिक लगानी कोष र ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २२ लाख ९४ हजार ६८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
समा भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ । यो आईपीओ खरीदका लागि लगानीकर्ताले मेरो शेयर वेबसाइट तथा एप र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी इस्यूआर’ रेटिङ प्रदान गरेको छ ।
आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार यो कम्पनी १ करोड ६२ लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९४ दशमलव ९६ छ । जसले गर्दा कम्पनीको दोस्रो बजारमा ओपनिङ्ग रेञ्ज रू. ९४ दशमलव ९६ देखि रू. २९० दशमलव ८२ सम्म हुने छ।













