अपि पावर कम्पनी लिमिटेडले चैत २५ गतेदेखि हकप्रद शेयर निष्कासन तथा विक्री खुला गर्ने भएको छ ।
कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.३९३६ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद गर्न लागेको हो।
कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयर प्रयोजनका लागि चैत १४ गतेबुक क्लोज गर्ने भएको छ जसले गर्दा १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले मुक्तिनाथ क्यापिटल तथा मुक्तिनाथ विकास बैंकका इटहरी, पोखरा–नागढुङ्गा, नारायणगढ, सुर्खेट, नेपालगंज, धनगढी, विराटनगर र जनकपुर शाखा कार्यालय आवेदन दिन सकिनेछ। यसका साथै ग्लोबल आइएमई बैंकका बैतडी, गोकुलेश्वर, दार्चुला, डडेलधुरा, महेन्द्रनगर, धनगढी र अत्तरीय शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरोशेयर सफ्टवेयर मार्फत २०७९ बैशाख १५ गतेसम्म आवेदन दिन पाउनेछन्।
कम्पनीको हकप्रदलाई केयर रेटिङ्ग नेपालले केयर एनपी बीप्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ ।
हाल २ अर्ब ७५ करोड ८९ लाख १५ हजार ५४५ रुपैयाँ ७५ पैसा रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार ५४५ रुपैयाँ ७५ पैसा पुग्नेछ।







