×
Lagani
Lagani Shiksha gif
कोरोना कहरले यातायात क्षेत्र बढी प्रभावित, अरबौँको लगानी घाटामा



सार्वजनिक बस ५३४ वटा रहेको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली यातायात बहुउद्देशीय कम्पनी यतिबेला कोरोना कहरबाट सबैभन्दा बढी प्रताडित छ ।

अघिल्लो चैतको दोस्रो साताबाट स्थानीय प्रशासनले लकडाउन गर्दा यहाँ भएका सबै बसहरु बसपार्कमा थन्क्याएको कम्पनीमा आवद्ध सयौं बस व्यवसायी बैंकको व्याज तिर्न नसक्ने अवस्थामा छन् भने बसमा चालक र सहचालक भएर जिविका चलाइरहेका मजदूरहरु अहिले अलपत्र छन् ।महाकाली यातायात बहुउद्देशीय कम्पनीका डम्बरदत्त पन्त बस व्यवसायीहरुको अर्बौको लगानी डुब्ने अवस्थामा पुगेकोप्रति चिन्तित हुनुहुन्छ । “ गत असोजमा पहिलो चरणको कोरोना कहर सामान्य भएपछि केही दिन सीमित बसहरु सञ्चालनमा आए”, अध्यक्ष पन्तले भन्नुभयो, “ त्यो बेला पनि स्वास्थ्य सर्तकता अप्नाउदै बीस प्रतिशत यात्रुले मात्रै यात्रा गरेका थिए ।”

Lagani Shiksha gif

भारतसित सीमान जोडिएको कञ्चनपुरबाट महेन्द्रनगर– नयाँ दिल्ली, महेन्द्रनगर–हरिद्धार र महेन्द्रनगर–देहरादुन रुटमा चल्ने यातायात अझ बढी चौपट भएका छन् । कोरोना नियन्त्रणका लागि सरकारले नेपाल–भारत सीमा नाका बन्द गरेयता यहाँबाट भारतका विभिन्न शहरहरुमा सञ्चालनमा रहेका बसहरु झण्डै २२ महिनादेखि बन्द छन् । “ महाकाली याातायातका मात्रै १९ वटा गाडी भारत चल्थे”, पन्तले भन्नुभयो, “ बैंकहरुले कर्जा असुली निरन्तरता दिँदा बस साहुहरु निकै तनावमा छन् ।” महाकाली यातायातसँगै यहाँ रहेको पवनदुत र शुक्लाफाँटा यातायातको अवस्था पनि उस्तै कहालीलाग्दो छ ।

करिब सात सय भन्दा बढी सार्वजनिक यातायात रहेको कञ्चनपुरमा अहिले भारतबाट गड्डाचौकी नाका हुँदै स्वदेश फर्किने यात्रुहरुलाई गन्तव्यमा पु¥याउन पाँच देखि सात वटा बस सञ्चालनमा रहेको अध्यक्ष पन्तको भनाइ छ । “ भारतबाट आउनेहरुमा सङ्क्रमणको दर उच्च हुँदा हाम्रा बस मजदूरहरु बिना भ्याक्सिजन जोखिम मोलेर गन्तव्यमा पु¥याउने काममा खटिएका छन्”, उहाँले भन्नुभयो,“बस मजदूरहरु पनि कोरोना भ्याक्सिन लगाउनमा राज्यको प्राथमिकतामा पर्नुपर्छ ।”

उहाँले भारतबाट फर्किरहेका दैनिक सयौं यात्रुहरु लिएर बस मजदूरहरु काठमाडौँ, नेपालगञ्ज, सुर्खेत, दैलेखका साथै सुुदूरपश्चिमका पहाडी जिल्लासम्म पुगिरहेको बताउनुभयो । “ निषेधाज्ञा अवधिको बैंक व्याजसम्म छुट गराउन राज्यले पहल गरिदिनुपर्छ”, उहाँले भन्नुभयो,“ सार्वजनिक यातायातले नै यहाँको पर्यटन र होटल व्यवसाय क्षेत्र पनि चलायमान बनाउँदै आएको थियो ।”लामो समयदेखि कोरोना कहरको मार खेपिरहेका बस व्यवसायीहरुलाई सहुलियत हुने खालका प्याकेजहरु सरकारले ल्याइदिनुपर्ने व्यवसायीहरुको माग छ । उनीहरुले यातायात क्षेत्र नराम्ररी प्रभावित हुँदा आफूहरुले पेशा नै परिर्वतन गर्नुपर्ने अवस्थामा पुग्ने अवस्था आइरहेको पीडा पोखेका छन् । त्यसैगरी महाकाली यातायत समितिका पूर्व अध्यक्ष नवीन भट्टले कोरोना कहरले यातायात क्षेत्र निकै प्रभावित बनेको बताउनुभयो । “ भारत बसहरु नचलेको १५ महिना भयो, किस्ता तिर्नै समस्या छ”, उहाँले भन्नुभयो,“यता गाडी बन्द हुँदा बैंकमा किस्ता बुझाउँनुपर्दा व्यवसायी समस्यामा छन् ।”

त्यसैगरी यहाँको पवनदुत बस व्यवसायी कम्पनी प्रालिका उपाध्यक्ष महेश बोहराले बसहरु लामो समयदेखि थन्किदा बिग्रिन थालेको बताउनुभयो । “ बसहरु सञ्चालनमा नआउँदा बसपार्ककै टायर पड्किने, इञ्जिनमा खराबी लगायतका समस्या देखिन थाले”, बोहराले भन्नुभयो, “ आर्थिक रुपले पनि लाखौंको नोक्सानी व्यहोर्न बाध्य छौं ।” उहाँले अहिलेको महामारीको अवस्था क्रमिक रुपमा सुधार आउन थालेपनि यातायात क्षेत्र लयमा फर्किन समस्या लाग्ने बताउनुभयो । “ यात्रुहरु कोरोनाको त्रासले सार्वजनिक यातायात प्रयोग गर्न नै केही समय डराउने स्थिती छ”, उहाँले भन्नुभयो, “ स्वास्थ्य सर्तकता सबै क्षेत्रमा अप्नाउन जरुरी छ ।”

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस