×
नेपाल धितोपत्र बोर्डले अघि बढायो आईपीओ स्वीकृति प्रक्रिया, ५ ओटा कम्पनीलाई एकै पटक अनुमति दिने तयारी



नेपाल धितोपत्र बोर्ड (सेवोन) ले पाँच महीनापछि एकै पटक पाँच ओटा कम्पनीहरुलाई आईपीओ निष्कासनको अनुमति दिने तयारी गरेको छ ।

गत साउन १४ गते बुद्धभुमि नेपाल हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न अनुमति दिएपछि रोकिएको आईपीओ स्वीकृतिको प्रक्रियाले अब निरन्तरता पाउने भएको हो ।

धितोपत्र बोर्डका अनुसार बलेफी हाइड्रोपावर कम्पनी, ग्रीन भेन्चरस् लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासनको अनुमति दिने तयारी गरिएको छ ।

ती कम्पनीहरुको आईपीओ स्वीकृतिका लागि धितोपत्र सूचीकरण र आव्हानपत्र स्वीकृतिको काम बाँकी रहेको बोर्डका उप – कार्यकारी निर्देशक रुपेश केसीले जानकारी दिए । बलेफी हाइड्रोपावरले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणसमेतमा कुल ३६ लाख ५५ हजार ९४० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले धितोपत्र बोर्डमा २०७७ साल फागुन २५ गते निवेदन दर्ता गराएको थियो ।

त्यस्तै ग्रीन भेन्चरस् लिमिटेडले पनि आयोजना प्रभावित स्थानिय र सर्वसाधारणमा कुल ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि २०७७ साल फागुन २८ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । जाल्पा सामुदायिक लघुवित्तले ५ लाख २२ हजार कित्ता र राष्ट्र उत्थान लघुवित्तले ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको छ ।

जाल्पा सामुदायिक लघुवित्तले २०७८ साल असार २० गते र राष्ट्र उत्थान लघुवित्तले २०७८ साल असार २४ गते बोर्डमा निवेदन दिएको हो । नेष्डो लघुवित्तले भने ८ लाख २८ हजार ७५० कित्ता आईपीओ विक्रीका लागि २०७८ साल असार ६ गते निवेदन दिएको थियो ।

हाल धितोपत्र बोर्डमा यी पाँच ओटा कम्पनीहरुसहित ३१ ओटा कम्पनीहरु आईपीओ स्वीकृतिको पर्खाइमा रहेका छन् । प्राथमिक बजारमा सामलिङ पावर कम्पनी लिमिटेडको आईपीओ पश्चात पछिल्लो समय आईपीओ निष्कासन भएको छैन ।

सामलिङ पावरले कात्तिक ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त रहँदा आईपीओ स्वीकृति प्रक्रियामा पनि ढिलाई भएको हो ।

धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष भिष्मराज ढुङ्गानालाई सरकारले बुक विल्डिङ्ग विधिमार्फत आईपीओ जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेण्टको शेयर गैरकानूनी रुपमा खरीद गरेको आरोपमा गत असोज १९ गते बर्खास्त गरेको थियो । सोपछि धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस