×
Lagani
Lagani Shiksha gif
सुन तस्करी प्रकरण : छुट्ने आसामा नेपाल आएका गोरेका भाइ दुई लाख धरौटीमा छुटे



साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेतीलाई जिल्ला अदालत मोरङले दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।

बिहीबार थुनछेक बहसपछि न्यायाधीश भरत लम्सालको इजलासले उप्रेतीलाई दुई लाख रुपैयाँ धरौटीमा छाडने आदेश दिएको हो । उनी सुन तस्करी प्रकरणका मुख्य आरोपी चुणमणि उप्रेती गोरेका भाइ हुन् ।

Lagani Shiksha gif

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उप्रेती अदालतको आदेशपछि बिहीबार धरौटीबुझाएर छुटेका छन् । आदेशपछि उप्रेती धरौटी बुझाएर छुटेको जिल्ला अदालत मोरङका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले बताए ।

सुन तस्करीको मुद्दामा जोडिएका उप्रेती युएईमा थिए । गत असोज १९ गते जिल्ला अदालतले सुन तस्करीको मुद्दामा पक्राउ परेका आरोपीहरुलाई सफाइ दिएपछि उप्रेती अदालतमा हाजिर हुनका लागि नेपाल आएका थिए । बुधबार ढिलोगरी अदालतमा हाजिर गराइएका उप्रेतीको बिहीबार थुनछेक बहस भएको थियो ।

२०७४ साल फागुन १९ गते मोरङ उर्लाबारीका शाक्यको हत्या अनुसन्धान गर्ने क्रममा सुन तस्करीको विषय बाहिर आएको थियो । अनुसन्धानपछि १९ बैशाख २०७५ सालमा ७७ जना विरुद्ध ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दा दर्ता भएको थियो ।

७७ जना प्रतिवादीमध्ये पक्राउ परेका गोरेसहित ५६ जना प्रतिवादीले सुन तस्करी मुद्दामा सफाइ पाए । शाक्य हत्या प्रकरणमा भने गोरेसहित ८ जनालाई अदालतले दोषी ठहर गरेको थियो ।

अदालतले मोरङ उर्लाबारीका गोरे भनिने चुडामणि उप्रेती गोरे, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाएको थियो । हत्या अभियोगमा जोडिएका भारतीय नागरिक राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको थियो ।

जिल्लाको फैसला पछि फरार रहेका २१ मध्ये तीन जना अदालतमा हाजिर भएका छन् । हाजिर भएका तीनै जना धरौटीमा छुटेका छन् ।

गत २७ मंसिरमा मुख्य आरोपीमध्येका एक एमके मामा भनिने मोहनकुमार अग्रवाल जिल्ला अदालत मोरङमा सुटुक्क हाजिर भएको थिए । थुनछेक बहसपछि उनी ३ लाख धरौटी बुझाएर उनी छुटे ।

२२ मंसिरमा लम्सालकै इजलासले तस्कारीको सुनको लगानीकर्ता मध्येका एक काले भनिने कृष्णगोपाल अग्रवाललाई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

सरकार पक्षले मोहन र कृष्णगोपाल तस्करीको सुनको लगानीकर्ता भएको दाबी गरेको थियो । तर सुन तस्करी नै अदालतबाट ठहर नभएपछि उनीहरु धरौटीमा छुटेका थिए । सुन मुद्दामा अझै १८ जना फरार छन् ।

सुरेन्द्र गौतम, मो. सुस्तम मिया, युकबहादुर मगर, रोहित आचार्य, भविन भनिने भवित तामाङ, कृष्ण बस्नेत, सुनिलकुमार अग्रवाल, कलम कार्की, मणीराज चौलागाई, शिवकुमार गुभाजु, अर्जुनप्रसाद खरेल, प्रयास पराजुली, सञ्जय अधिकारी, समिर अधिकारी, माधव आचार्य, ओम प्रकाश नेवार, आर, वि भन्ने सन्दिप खड्का फरार छन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस