×
सीईओ रेग्मीप्रति मन्त्री आलेको आक्रोश- ‘यस्तो साँढेलाई राखेर बोर्ड चल्छ ?’



संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पर्यटन बोर्डमा धनञ्जय रेग्मी सिइओ रहेसम्म बोर्डको प्रगति नहुने बताएका छन् ।

पर्यटन बोर्डको स्थापना दिवसका अवसरमा शुक्रबार बोर्डमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् । सिइओ रेग्मीको आलोचना गर्दै मन्त्री आलेले भने-धेरै रिसाउनुभो जाम् रक्सी खान भन्ने साँढेलाई राखेर बोर्ड चल्छ ?

आफूलाई एकपटक जबर्जस्ती लण्डन लगेको प्रसंग कोट्याउँदै उनले त्यहाँ आफू अपमानित भएको सुनाए । ‘म लन्डन जाँदै जान्न भन्दा जबर्जस्ती लगेर गयो, बोल्ने कार्यक्रम छैन भन्यो साँढेले,’ लन्डन गएँ दूतावासमा राखिदियो, न गाडी छ, खाना आफैं खोजेर खानुपर्ने,’ मन्त्री आलेले भने, ‘म यो देशको मन्त्री, जनताले छानेर आएको मन्त्री, लन्डनमा बोल्न पाइनँ, मलाई दुःख लाग्यो । यस्तो साँढेलाई सिइओ बनाए भने बोर्ड चल्छ ?’उनले आफूलाई खरिद गर्छु भनेर नसोच्न चेतावनी दिए । ‘चार ओटाको टोयोटा गाडी बेचेर प्रेम आलेलाई खरिद गर्छु भन्ने नसोचे हुन्छ,’ उनले भने, ‘इमान बेचेर म यो चेयरमा बस्ने वाला छैन ।’

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ माघमा रेग्मीलाई पर्यटन बोर्डको सिइओ पदमा नियुक्त गरेको थियो । रक्सिको निहुँमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीसँग झगडा गरेपछि उनी विवादमा तानिएका थिए ।

त्यसपछि पदको दुरुपयोग गरेको र आर्थिक अनियमिततामा मुछिएको आरोपमा उनी यही पुस २ गते निलम्बनमा परेका थिए । तर सर्वोच्च अदालतले यही पुस १४ गते रेग्मीलाई निलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो ।

रक्सी रोक्दा विमानस्थलमा पर्यटन बोर्डका सीईओले मच्चाएको भाँडभैलो: शनिबार भाइटीकाको दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मी अरु यात्रुसँगै लाइनमा थिए । लण्डनमा आयोजना भएको वर्ल्ड ट्राभल मार्टमा सहभागी भएर फर्किएका सीईओ रेग्मीको ब्यागेजमाथि विमानस्थल भन्सार कार्यालयको आँखा पर्‍यो, कारण थियो ब्यागेजमा ६ वटा रक्सीका बोतलहरु थिए ।

झिटीगुण्टा सुविधाअनुसार नेपाल आउने यात्रुले आफ्नो साथमा एक लिटरसम्मको एउटा बोतल रक्सीको मात्रै भन्सार छुट सुविधा पाउँछन् । तर, ६-६ वटा बोतल देखेपछि रेग्मीमाथि सोधपुछ शुरु भयो ।

भन्सार कार्यालय स्रोतका अनुसार शुरुमै रेग्मीले आफू पर्यटन बोर्डको सीईओ भएको जानकारी गराए । उनले आफूसँगै यात्रामा रहेका बोर्डकै कर्मचारी र पर्यटन व्यवसायीले किनेको रक्सी आफूले बोकेको स्पष्टीकरण दिए ।

तर, भन्सारका कर्मचारीले नियमविपरीत एकै जनाले यति धेरै रक्सी ल्याएको भन्दै जफत हुने बताइरहे । विमानस्थलमा खटिएका प्रहरी अधिकारीका अनुसार रेग्मीले पर्यटनमन्त्री प्रेमबहादुर आले र सचिव यादव कोइरालाको समेत नाम लिएर अस्वाभाविक व्यवहार देखाएपछि भन्सारका कर्मचारीले पनि नियम विपरीत छाड्न नसकिने स्पष्ट जवाफ दिए ।

त्यसपछि विमानस्थलमा रेग्मी र भन्सारका कर्मचारीबीच धकेलाधकेल भयो । रेग्मीले कर्मचारीमाथि ‘तुच्छ शब्द’ प्रयोग गर्दै दुर्व्यहार गरेका विमानस्थल भन्सार कार्यालयका अधिकारीहरुको दावी छ । उनीहरुले सीईओ रेग्मीले कर्मचारीमाथि थप्पड नै हानेको आरोप लगाएका छन् ।

त्यस दिन सीईओ रेग्मी लण्डनबाट पर्यटनमन्त्री आले, सचिव कोइरालासँग एउटै विमानबाट आएका थिए । मन्त्री र सचिव विशिष्ट पाहुनाहरुले प्रयोग गर्ने रुट प्रयोग गरी विमानस्थलबाट बाहिरिएका थिए । शनिबार बिहान ९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानबाट नेपाल आएका रेग्मीसहित बोर्डका कर्मचारी र पर्यटन व्यवसायी भने सर्वसाधारणले प्रयोग गर्ने बाटोबाटै निस्किए ।

सीइओ रेग्मीले लण्डनबाट काठमाडौं उड्नुअघि आफूसहित बोर्डका तीन कर्मचारी र तीन जना पर्यटन व्यवसायीले ‘ड्यूटी फ्रि’मा मदिरा किनेको अनलाइनखबरसँग बताएका छन् ।

बाइ वान गेट वान (एक बोतल किन्दा अर्को बोतल सित्तैमा पाइने) मदिरा खरिद गरी उनीहरुले नेपाल ल्याएका थिए । तर अध्यागमन र भन्सारको चेकिङको लाइनमा आफू अगाडि परेको र अरु पछाडि परेको सीइओ रेग्मीको दावी छ ।

विमानस्थलमा केही बेर तनाव भएपछि विमानस्थल भन्सार कार्यालयले रेग्मीलाई त्यसै छाड्न अस्वीकार गर्‍यो । मदिराका बोतल जफत गरेर सीइओ रेग्मीलाई दिउँसो १ बजे घर जान दिइएको थियो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले विमानस्थलमा खटिएका कर्मचारीमाथि दुव्र्यवहार गरेपछि ५ हजार जरिवाना गराएर छाडिएको बताए । ‘भन्सारले कुन पदमा को बसेको छ भन्ने विषय हेर्दैन, कानूनमा के छ भन्ने मात्र जान्छ र सोहीअनुसार सबैलाई एकै व्यवहार गर्छ,’ उनले भने ।

अरुको सामान भन्दै तोकिएभन्दा बढी झिटीगुन्टा बोकेर ल्याउनेलाई छोड्ने हो भने विमानस्थलको यात्रुले ल्याउने समान जाँच्न भन्सार बस्नुको औचित्य नै समाप्त हुने भन्सार विभागका एक अधिकारीले बताए । ‘अरुको सामान भन्दै सर्वसाधारण यात्रुले तोकिएभन्दा बढी सामान ल्याउँदा पनि हामीले कानूननै हेर्ने हो, जो जतिसुकै विशिष्ट पदको व्यक्ति भएपनि लागू हुने कानून त्यही हो ,’ उनले भने ।

चाडबाडको दिन भएकाले आफुले कानून अनुसार तिर्नुपर्ने जरिवाना तिरेर निस्किएको सीईओ रेग्मीले बताए । सो क्रममा काठमाडौं मेडिकल कलेजका डाक्टरले गरेको पहिलो परीक्षणमा रेग्मीले मदिरा सेवन गरेको देखिएको थियो । तर तत्कालै गरिएको दोस्रो परीक्षणमा भने उनले मदिरा नपिएको देखिएको थियो ।

सीईओ रेग्मीले १४/१५ घण्टा अगाडि विदेशमै होटलमा पिएको तर जहाजमा नपिएको दावी गरेका छन् । मुखमा ‘फु’ गर्न समेत नलगाई पोजेटिभ रिपोर्ट लेखिएको भन्दै उनले मापसे चेक गर्ने प्रणालीप्रति समेत प्रश्न उठाएका छन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस