भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूले कानुनले तोकेको समयभित्रै वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमा, स्वीकृति र कार्यान्वयन सुनिश्चित गर्न स्थानीय तहहरुमा विशेष सहजीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
मन्त्रालयले तयार गरेको अवधारणापत्र अनुसार गत आर्थिक वर्षमा १५९ वटा स्थानीय तहले तोकिएको समयमा बजेट तथा कार्यक्रमको विवरण अद्यावधिक नगरेका तथा साउन १२ गतेसम्म पनि ४९ वटा स्थानीय तहले बजेट पारित नगरेको हुँदा यस्तो कार्यक्रम सञ्चालन गर्न लागिएको हो। उक्त कार्यक्रममार्फत स्थानीय तहमा तोकिएको समयमै बजेट पारित गराउने वातावरण निर्माण, वितरणमुखी र खुद्रे योजनाको प्रभाव न्यूनीकरण, वित्तीय सुशासन प्रवर्द्धन भइ नतिजामुखी योजना तर्जुमामा सहयोग पुग्नेछा ।
यसका लागि मन्त्रालयका सहसचिवहरूको नेतृत्वमा तीन वटा स्थलगत सहजीकरण टोली गठन गरिएको छ। टोलीहरूले स्थानीय तहमा पुगेर जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालासँग छलफल, अन्तरक्रिया र समन्वय बैठक सञ्चालन गर्नेछन्। स्थानीय तहमा बजेट तथा कार्यक्रम स्वीकृतिमा देखिएका समस्या पहिचान गरी समाधानका उपायसमेत सिफारिस गरिनेछ।
मन्त्रालयका अनुसार स्थानीय तहका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतबाट समयमै बजेट पारित गर्ने र खुद्रे योजना समावेश नगर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गराउने व्यवस्था समेत गरिएको छ।
भुमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रि प्रतिभा रावलले जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्य, समन्वय र जिम्मेवारीलाइ थप मजबुत बनाउन मन्त्रालयले सहजीकरण अभियान अघि बढाएको बताइन्। मन्त्री रावलले स्थानीय तहमा देखिएका समस्या समाधानका लागि मन्त्रालय आवश्यक सहयोग र समन्वय गर्न प्रतिबद्ध रहेको समेत स्पष्ट पारिन्।















