×
Lagani
Lagani Shiksha gif
गगन र देउवाको सम्पत्ति छानबिन गरेर सुशासन सुरु गर्छौँः विश्वप्रकाश शर्मा



नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुशासन स्थापना गर्न पार्टीका शीर्ष नेताकै सम्पत्ति छानबिन सुरु गर्ने बताएका छन्।

नेपाली कांग्रेस छत्रकोटले आज गुल्मी क्षेत्र नं १ को चोयगामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले सभापति गगनकुमार थापा र पूर्वसभापति शेरबहादुर देउवाको सम्पत्ति छानबिन गरेर सुधारको थालनी गरिने बताएका हुन्।

Lagani Shiksha gif

‘भ्रष्टाचारको आरोप लागेमा जोसुकै नेता भए पनि पार्टी सदस्यताबाट हटाएर कानुनी प्रक्रियालाई सघाउँछौँ। मुद्दा लागेपछि राजनीतिक संरक्षण होइन, कानुनलाई सहयोग गर्ने संस्कार बसाल्छौँ,’ शर्माले भने।

उनले कर्मचारी प्रशासनको मनोबल खस्किएको उल्लेख गर्दै इमानदार कर्मचारीलाई काम गर्ने वातावरण बनाइने प्रतिबद्धता जनाए। ‘नागरिकले सबै कागजात लिएर कार्यालय पुग्दा पनि काम नहुने अवस्थाको अन्त्य गर्छौँ,’ उनले भने।

शर्माले कांग्रेस भरपर्दो र पुरानो लोकतान्त्रिक शक्ति भएको दाबी गर्दै २०६४ सालको जस्तो आवेगमा विवेक गुमाउने गल्ती नदोहोर्‍याउन मतदातालाई आग्रह गरे। ‘सिँगो टिम, विज्ञ र योग्य व्यक्तिहरूलाई समेटेर देश हाक्ने क्षमता कांग्रेससँग छ,’ उनले भने। जेनजी युवाहरुले खोजेको परिवर्तनलाई संस्थागत गर्न कांग्रेसले नेतृत्व लिनुपर्ने उनको तर्क थियो।

विदेशमा रहेका नेपाली समुदायलाई पार्टीसँग जोड्नका लागि विशेष पहल गरिने तथा गैरआवासीय नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्न पहल गरिने शर्माको भनाइ थियो। विकास निर्माणमा ढिलासुस्ती अन्त्य गर्न तीन सिफ्टमा काम गर्ने कार्यशैली अपनाइने बताउँदै शर्माले श्रमिक, ठेकेदार र इञ्जिनियरबीच समन्वय गरी समयमै आयोजना सम्पन्न गरिने दाबी गरे।

कार्यक्रममा गुल्मी क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार चन्द्रकान्त भण्डारीले जनताको विश्वास नै आफ्नो मुख्य शक्ति भएको बताए। उनले आफ्नो क्षेत्रका अधुरा विकासका योजना पूरा गर्ने र युवालाई रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस