×
कोरियावाट प्रबिधि हस्तान्तरणसहित दक्ष जनशक्ति बिकासमा सहयोग हुनुपर्छ: श्रम मन्त्री



काठमाडौं, ११ भदौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरिया सरकारले नेपालमा इपिएस (EPS) कार्यक्रम सन्चालन गरी नेपाली युवाहरुलाई रोजगारीको अवसर प्रदान गरेकोमा धन्यवाद दिएका छन्।

 

बुधवार मन्त्रालयमा कोरिया सरकारको श्रम तथा रोजगार मन्त्रालय र मानव संसाधन विभागको प्रतिनिधि मण्डलसँग भएको छलफलमा मन्त्री भण्डारीले इपिएस कार्यक्रममार्फत अवसर पाएका युवाहरुले कोरियाको विकासमा समेत योगदान पुर्‍याएको बताएका छन्।

उनका अनुसार कोरिया नेपाली युवाहरुको लागि आकर्षक रोजगारी गन्तव्यको रुपमा स्थापित भइसकेको छ। उनले उदाहरण दिँदै भने, “पाँच हजार युवाहरुकालागि खुलाइएको अवसरमा एक लाखभन्दा बढीले आवेदन दिनु, कोरिया जान युवाहरु कति इच्छुक छन् भन्ने स्पष्ट प्रमाण हो।”

मन्त्री भण्डारीले नेपाली युवाहरुलाई केवल रोजगारीका लागि मात्र नभई कोरियामा काम गर्ने संस्कार, उच्च प्रविधिको ज्ञान र सीप हासिल गर्न पठाउनुपर्ने बताए। उनले विदेशमा काम गरेर केही पुँजीसहित फर्किएपछि मुलुकको विकासमा योगदान दिने विश्वास व्यक्त गरे।

“सीपबिनाको रोजगारी सम्भव हुँदैन,” मन्त्री भण्डारीले भने, “त्यसैले कोरियाको प्रविधि नेपालमा हस्तान्तरण गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो प्राथमिकता हो।” उनले विस्तारै निजी तालिम प्रदायक संस्थाहरुलाई मापदण्ड र गुणस्तर निर्धारण गरेर तालिम सञ्चालन गर्ने आधार तयार गर्ने पनि जानकारी दिए।

उनले कोरियाको हुन्डाई मोटर कम्पनीले नेपालमा अटोमोबाइल एसेम्बल गर्ने तयारी भइरहेकाले गुणस्तरीय तालिम र दक्ष जनशक्ति उत्पादन अनिवार्य रहेको बताए।

कोरियन सरकारले हाल पनि विभिन्न माध्यमबाट नेपालमा दक्ष जनशक्ति निर्माणमा सहयोग गर्दै आएको छ। मन्त्री भण्डारीले कोरियाबाट आएको उच्च प्राविधिक टोलीले दुवै देशको हित हुने गरी ठोस निष्कर्षसहित अघि बढ्ने विश्वास व्यक्त गरे।

नेपाल सरकार र कोरिया सरकारबीच अटोमोबाइल, वेल्डिङ, पलम्बर र इलेक्ट्रिकल गरी चार क्षेत्रमा उच्च गुणस्तरका तालिम सञ्चालन गर्ने सम्झौता भएको छ। यस कार्यक्रममार्फत दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले कोरियाले नेपाललाई सहयोग उपलब्ध गराएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस