सञ्जय मिश्रा
रौतहट, ५ भदौं । रौतहटको पश्चिमि भेग फतुवा विजयपुर नगरपालिकामा भइरहेको अनियमितता र भ्रष्टाचार रोक्न उद्देश्यसहित आम जनता पार्टीको पहलमा बिहीबार फतुवामा बिशेष बैठक सम्पन्न गरेको छ।
बैठकले यही भदौ ७ गते अर्थात शनिबार दिउँसो २ बजे सितलपुरस्थित खानेपानी कार्यालयको प्राङ्गणमा सर्वदलीय पूर्णबैठक बस्ने निर्णय गरेको हो।
बैठकमा मेयर प्रत्यासी अजय यादव, मेयर प्रत्यासी विजय यादव निर्विज, चर्चित वडा अध्यक्ष संजय यादव, वडा सदस्य प्रत्यासी सेख मोविन, राधाकान्त यादव, नरेन्द्र यादव, आजपा सचिवालय सदस्य रामशरण यादव, आयोजक कमिटी सदस्य दीपेन्द्र रजक लगायतका सहभागीता थियो।
बैठकमा सहभागीहरुले नगरपालिकामा देखिएका बेथिती, सेवा प्रवाहमा ढिलासुस्ती र आर्थिक अनियमिततामाथि गम्भीर चिन्ता व्यक्त गर्दै त्यसविरुद्ध सशक्त अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। पार्टी नेतृत्वले नगरवासीको अपेक्षा अनुसार पारदर्शी र जवाफदेही स्थानीय सरकार बनाउन आजपा अग्रसर हुने स्पष्ट संकेत गरेको छ। यो बिशेष बैठकलाई आगामी नगर राजनीतिको दृष्टिकोणले महत्त्वपूर्ण मानिएको छ।
पार्टीभित्र एकताबद्ध भएर भ्रष्टाचारविरुद्ध निर्णायक कदम चाल्ने सन्देश सार्वजनिक भएको छ। मेयर तथा वडा अध्यक्षका उम्मेदवारहरु एकै मञ्चमा आउनुले आजपाले चुनावी तयारीलाई समेत तीव्रता दिएको संकेत गर्छ। स्थानीय तहमा देखिएका बेथिती र अनियमितताप्रति आम नागरिक असन्तुष्ट भइरहेका बेला आजपाको बैठकले जनताको आवाजलाई संस्थागत गर्न प्रयास गरेको देखिन्छ। पार्टीले निर्णयलाई व्यवहारमा उतार्न र नगरवासीलाई ठोस नतिजा दिन नसकेमा यो कदम केवल राजनीतिक प्रदर्शन मात्र हुने खतरा पनि रहन्छ।
















