CFCL 647 27.1 EBLD86 1040 -2 UHEWA 476 -11 TSHL 909 -11 EHPL 840 7.9 SFEF 9.29 0.22 PPL 461 -2.5 HATHY 1322 13 SMHL 613.1 -4 NICL 990.2 -4.8 PBD85 1079.9 19.9 RFPL 532 11.1 MLBL 398 -6.9 NIBSF2 8.9 0.08 RLFL 625 6.9 MERO 760 0.5 AHL 651 2 UMHL 308 -4 KKHC 260 -2 NFS 1350 -43 NMBMF 695 -10 BNT 14350 -50 DOLTI 538 10 FOWAD 1479 0 MSLB 1564 -70 SIKLES 707 -3 GFCL 1051.1 6 SICL 832 0 SAGF 9.31 0.01 AHPC 267 -0.6 KBSH 2386 -9 VLUCL 588 -1.9 NLICL 606 -4 NIMB 241.9 -9.1 KSBBLD87 1093.4 18.4 CHL 353 0.4 GLBSL 1600.4 -29.6 ILI 483.5 -2.5 BNHC 466.9 0.7 UNHPL 266 0
×
६५ करोड सन्दिग्ध कारोबारमा शाह पक्राउ, संरक्षक तत्कालीन अर्थमन्त्री शर्मालाई के हुन्छ ?



तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संरक्षणमा शंकास्पद रकम ओसारपसार गरेका अछामका पृथ्वी शाहमाथि कानुनी कारबाही बल्ल अघि बढेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार शाहसहित ६ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो । ब्युरोले सार्वजनिक गरेको विवरणअनुसार शाहले साथीभाइ, आफ्नो र परिवारका नाममा विभिन्न कम्पनी खडा गरी करिब ६५ करोड रुपैयाँ बराबरको शंकास्पद रकम ओसारपसार गरेको देखिएको छ । शाहले ४६ लाख ४६ हजार ७ सय ३७ अमेरिकी डलर (हालको विनिमय दरअनुसार ६१ करोड ३३ लाख ७९ हजार २ सय ८४ रुपैयाँ), १२ हजार ८ सय २५ पाउन्ड स्टर्लिङ डलर (हालको विनिमय दरअनुसार २० लाख ४३ हजार ५ सय ३५ रुपैयाँ) र ३ करोड २२ लाख २८ हजार ६ सय ८० रुपैयाँ शंकास्पद कारोबार गरेको पुष्टि भएको छ ।

अस्वाभाविक रकम ओसारपसार गरेको देखिएपछि अनुसन्धान गर्न राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेको थियो । राष्ट्र बैंकले शाहको खाता रोक्का गरेपछि तत्कालीन अर्थमन्त्री शर्माले फुकुवा गरिदिन लिखित निर्देशन नै दिएका थिए । स्वायत्त निकाय राष्ट्र बैंकको कामकारबाहीमा अर्थमन्त्रीले निर्देशन दिन मिल्दैन । तर, शर्माले अनधिकृत हस्तक्षेप गरेर अनुसन्धान प्रभावित गरेको विषयमा कान्तिपुरले गत चैत २४ मा समाचार प्रकाशित गरेको थियो ।

समाचार छापिएपछि शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न प्रक्रिया अघि बढाएका थिए । उनको प्रस्तावमा मन्त्रिपरिषद्ले जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलगत्तै गभर्नर अधिकारी निलम्बनमा परेका थिए ।

अधिकारीमाथि जाँचबुझ गर्न अर्थमन्त्री शर्माका दाइ नाता पर्ने पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा जाँचबुझ समिति गठन गरिएको थियो, जसका दुवै सदस्य अर्थमन्त्रीको दल माओवादीको संगठनमा आबद्ध नेता थिए । गभर्नरमाथि अन्यायपूर्वक कदम चालिएको भन्दै परेको रिटमा सर्वोच्चले कारबाही अघि नबढाउन अन्तरिम आदेश जारी गरी उनलाई राष्ट्र बैंक फर्काइदिएको थियो ।

अर्थमन्त्रीबाट शर्मा बाहिरिएलगत्तै प्रहरीले शाहसहित ६ जनालाई पक्राउ गरी अदालतबाट ६ दिनको म्यादसमेत लिएको छ । ‘राष्ट्र बैंकको आग्रह र केही तथ्य तथा प्रमाणमा खुलेअनुसार ६ जनालाई पक्राउ गरिएको हो, अरू थुप्रै व्यक्ति र कम्पनी यो अपराधमा मुछिएको देखिन्छ,’ सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले भने, ‘अनुसन्धानकै क्रममा रहेकाले पक्राउ पर्न बाँकी व्यक्ति र संलग्न संस्थाबारे अहिले नै सार्वजनिक गर्न मिल्दैन ।’

पक्राउ पर्नेमा अछामको बान्नीगढी जयगढ गाउँपालिका–६ घर भई काठमाडौं बस्दै आएका शाह, भाइ विजयविक्रम, जाजरकोटका चक्रबहादुर खत्री, दोलखाका अनुप खड्का, पश्चिम नवलपरासीका रुक्मांगत काफ्ले र अछामकै रंगबहादुर साउद छन् । अनुसन्धानको दायरामा परेका विभिन्न व्यक्ति तथा शंकास्पद गतिविधिमा जोडिएका कम्पनीको सबै कारोबार रोक्का गरिएको छ । शाह पक्राउ परेपछि उनलाई संरक्षण गर्ने तत्कालीन अर्थमन्त्री शर्माको संलग्नतामाथि बिनाप्रभाव छानबिन हुनुपर्ने विज्ञहरूको धारणा छ ।

‘आवरणमा सामान्य हैसियतका मानिसलाई देखाएर शक्ति केन्द्रले शंकास्पद रकम भित्र्याएको त होइन भन्ने बलियो आशंका छ, शंकास्पद रकम राखिएको खाता खुलाउने प्रयास पनि भएकै हो,’ सीआईबीका पूर्वप्रमुख हेमन्त मल्लले कान्तिपुरसँग भने, ‘यस विषयलाई समेत मध्यनजर गरेर ब्युरोले अनुसन्धानको दायरा बढाउनुपर्छ ।’

बिनाहस्तक्षेप अनुसन्धान टुंगोमा पुर्‍याउन दिने हो भने यस्ता अपराधमा जति नै उच्च पदस्थको संलग्नता भए पनि कानुनी दायरामा ल्याउने क्षमता प्रहरीसँग रहेको दाबी मल्लको छ । ‘सामान्य व्यक्तिको मात्रै प्रयास र चलखेलबाट कालो धनलाई शुद्धीकरण गर्न सम्भव हुँदैन । यो प्रकरणलाई सम्पत्ति शुद्धीकरण, कर छली, भ्रष्टाचार, ठगीलगायत अपराधसँग जोडेर हेर्नुपर्छ,’ उनी भन्छन् । अर्थमन्त्रीका रूपमा शर्माले राष्ट्र बैंकलाई पत्र लेखेका मात्र होइनन्, सार्वजनिक विज्ञप्ति जारी गरेर ‘शाह सोझासिधा व्यवसायी हुन्, जसले प्रत्यक्ष वैदेशिक लगानी ल्याएका छन्’ भनेका थिए ।

विज्ञप्तिमा ‘स्वस्फूर्त रूपमा आएको विदेशी लगानीलाई अनेक बहानामा रोक्का गरी नेपालमा लगानी ल्याउन चाहनेलाई निरुत्साहित गर्न खोजिएको’ टिप्पणी पनि गरिएको थियो । तर, विदेशबाट ल्याएको रकम कुन उद्योग, व्यवसायका लागि ल्याएका हुन् भन्ने स्वयं शाहले पनि प्रस्ट पार्न सकेका छैनन् ।

अमेरिकाको सरकारी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) ले शाहका नाममा अवैध रकम नेपाल पठाइएको जानकारी राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयू) लाई दिएपछि नेपालमा अनुसन्धान सुरु भएको थियो । फिनसेनले राष्ट्र बैंकलाई पत्राचार गरी शाहका नाममा आएको रकम जफत गरी अमेरिका फिर्ता पठाउन भनेको छ । यस प्रकरणमा पक्राउ परेका व्यक्तिविरुद्ध विदेशी मुद्रा कारोबारको अनुमति नलिएको, तोकिएको सर्तविपरीत कारोबार गरेको र विदेशमा अपराधजन्य गतिविधि गरेर रकम भित्र्याएको आरोप छ ।

पक्राउ परेका ६ जनामध्येका एक पृथ्वीविक्रम शाह साढे ४ वर्षअघि पनि साढे २ करोडभन्दा बढी भारतीय नोटको अवैध कारोबारमा पक्राउ परेका थिए । नेपालमा संगठित गिरोह बनाई प्रतिबन्धित भारु भित्र्याएको आरोपमा ब्युरोले २०७४ जेठ २ मा १५ जनालाई पक्राउ गरेको थियो, जसमा शाह पनि थिए । नेपालमा प्रतिबन्धित ५०० र १००० दरका नोट ल्याई काठमाडौंका विभिन्न स्थानमा कारोबार भइरहेको सूचनाका आधारमा चाबहिल (गौरीघाट) स्थित एक घरमा खानतलासी गर्दा दुई वटा झोलामा ९८ लाख भारतीय रुपैयाँ बरामद भएको थियो ।

सीआईबीले त्यसबेला उठाएको मुचुल्कामा भनिएको छ, ‘जेठ ३ मा तिलगंगामा रहेको होटल पाँचथर अगाडि कारमा तीन वटा झोलामा १ करोड १८ लाख ६१ हजार फेला परेको हो ।’ यो प्रकरणमा नगदसहित ३ कार र १२ वटा मोबाइल सेट बरामद गरिएको थियो । बरामद भारु ब्युरोले राजस्व अनुसन्धान विभागलाई बुझाएको थियो तर पछि शक्तिको आडमा अनुसन्धान नै कमजोर बनाएर शाहसहितका केही अभियुक्तलाई उन्मुक्ति दिइएको थियो ।

‘शाहले पटक–पटक तीन/चार तहमा कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ, दुई दर्जनभन्दा बढी कम्पनीमार्फत कारोबार गरिएको र उताबाट पैसा पठाउनेबित्तिकै आफन्त, नातेदार, साझेदार तथा विश्वासिला पात्रको बैंक खातामा ट्रान्सफर गरिहाल्ने गरिएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘केही रकम सामान्य मजदुरका नाममा समेत ट्रान्सफर गरिएको छ । यिनीहरूको आफ्नै क्षमताले यो तहको गलत कारोबार गरेको हुन सक्दैन । यसका पछाडि ठूलै शक्ति तथा गिरोह संलग्न हुन सक्ने अनुमान गरेका छौं ।’

प्रहरीले कानुनी प्रक्रिया अघि बढाएकाले अन्तर्राष्ट्रियस्तरमा समेत सकारात्मक सन्देश जाने पूर्वअर्थमन्त्री युवराज खतिवडाले बताए । ‘नेपाल अहिले सम्पत्ति शुद्धीकरण निवारण मामिलामा मूल्यांकनको चरणमा छ, अबको पाँच/सात महिनामा नेपालले तीन वटा काम गर्नु छ,’ उनले भने, ‘पहिलो– कानुन बनाउनुपर्छ । दोस्रो– सम्पत्ति शुद्धीकरण गर्न खोजिएका कानुन वा विधि केही छन् भने तिनीहरूलाई हटाउनुपर्छ । तेस्रो– शंकास्पद कामहरूमाथि छानबिन गरी कानुनी दायरामा ल्याउनुपर्छ ।’ शाह पक्राउ प्रकरणले ‘हामी सम्पत्ति शुद्धीकरण निवारणको विषयमा गम्भीर छौं, कुनै पनि अपराधीलाई छाड्दैनौं’ भन्ने सन्देश जाने खतिवडाले बताए । ‘यसमा विश्व समुदायलाई विश्वास दिलाउनुपर्नेछ, ब्युरोले अहिलेको यो संवेदनशीलतालाई बुझेर अघि बढेजस्तो छ,’ उनले भने, ‘हामी सबैले यस्ता छानबिन तथा कारबाहीलाई बुझ्नुपर्छ । कसैले हस्तक्षेप गर्नु हुँदैन । सन्दिग्ध व्यक्ति जो भए पनि छुट्नु हुँदैन ।’   कान्तिपुर दैनिकबाट 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस