भारतमा पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले भारतमा पनि बढाउनु परेको अधिकारीहरूले जनाएका छन् । पछिल्लो समय शनिबार प्रति लिटरमा ८० पैसाको दरले मूल्य वृद्धि भएको विवरण सार्वजनिक गरिएको छ ।
ध्यान दिनुपर्ने कुरा के छ भने २०२१ नोभेम्बर ४ मा दीपावलीको उपहार दिँदा सरकारले अन्तःशुल्क कटौती गरेको थियो । पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेलमा प्रतिलिटर १० रुपैयाँ अन्तःशुल्क घटाएपछि सर्वसाधारणले राहत पाएका थिए । त्यसपछि सुरुका १३७ दिन वा करिब साढे चार महिना पेट्रोल र डिजेलको मूल्य बढेको थिएन ।
तर मार्च २२ देखि सुरु भएको पेट्रोल र डिजेलको मूल्यवृद्धिको चक्र भने जारी छ । शनिबार लगातार दशौं पटक तेलको मूल्य बढेको हो । यसअघि पाँच राज्यको विधानसभा चुनावको नतिजा आएपछि तेलको मूल्यमा भारी बृद्धि हुने अपेक्षा गरिएको थियो, जुन सत्य साबित भएको छ ।
पछिल्लो १२ दिनमा १० पटक मूल्य वृद्धि हुँदा पहिला भन्दा प्रति लिटरमा ७.२० प्रतिशत मूल्य बढी भएको अधिकारीहरूले जानकारी दिएका छन् । संघीय राजधानी नयाँ दिल्लीमा अहिले प्रति लिटर पेट्रोलको मूल्य १०७.६१ भारतीय रुपैयाँ पुगेको छ । त्यसैगरी डिजेलको मूल्य प्रति लिटर ९३.८७ भारतीय रुपैयाँ रहेको छ ।
यसअघिका प्रतिवेदनअनुसार पेट्रोल र डिजेलको मूल्यवृद्धिले मुलुकका जनताले छिट्टै राहत पाउने अपेक्षा गरिएको छैन । जेपी मोर्गनले आफ्नो प्रतिवेदनमा पहिले भनेका थिए कि तेल कम्पनीहरूले सामान्य मार्केटिङ मार्जिनमा फर्कन वा आफ्नो घाटा कम गर्न खुद्रा मूल्य प्रति लीटर 9 वा 10 प्रतिशतले बढाउनुपर्छ।
यस प्रतिवेदनमा रुस–युक्रेन युद्धलाई उद्धृत गर्दै भारतमा पेट्रोल र डिजेलको आन्तरिक मूल्य प्रतिलिटर १५ देखि २२ रुपैयाँसम्म बढ्न सक्ने बताइएको छ । विज्ञहरूका अनुसार अन्तःशुल्कमा कटौतीले पेट्रोल र डिजेलको मूल्यमा पर्ने असर केही हदसम्म मात्र घटाउन सक्छ ।
त्यस्तै नेपाल आयल निगमले पनि भारतले मूल्य वृद्धि गरेकोले निगमलाई थप घाटा बेहोर्नु परेको जनाएको छ। हाल सम्म मूल्य वृद्धि नगरेपनि केहि दिनमा निगमले मूल्य वृद्धि गर्न सक्ने सङ्केत देखिएको छ। १५ -१५ दिनमा मूल्य परिवर्तन भएर आउने हुदा यसको असर नेपालमा पनि पर्ने देखिन्छ।