×
मुगु बस दुर्घटना : अगाडिको टायर पञ्चर भएर भीरबाट खस्यो , यस्तो भन्छन घाइते



‘बस गुडिरहेको थियो । अगाडि चालक (ड्राइभर सीट) नजिकै बसेको थिए । एक्कासी केही पड्किएको आवाज आयो । त्यसपछि गाडी अनियन्त्रित भएर पल्टियो । चार बल्ड्याङ खाँदासम्म होस थियो । त्यस पछि के भयो थाहा छैन,’ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचाररत मुगु दुर्घटनाका घाइते मुगु रोवा घर बताउने हर्कबहादुर शाहको भनाइ हो यो ।

कहाली लाग्दो दुर्घटनामा बाँचेर उद्धार भई नेपालगञ्ज अस्पतालको बेडमा पुगेपछि शाहले दुर्घटना हुँदाखेरीको अवस्था बताएका हुन् । उनको भनाइमा चालकले राम्रै चलाएका थिए । ‘दुर्घटनामा ड्राइभरको दोष भएजस्तो लाग्दैन,’ उनी सुनाउँछन् ।

मंगलबार अपराह्न भएको मुगु दुर्घटनामा घाइते भएकालाई नेपालगञ्ज ल्याइएको छ । तीमध्ये चार जनाको अस्पताल पुर्‍याएलगत्तै मृत्यु भएको अस्पतालले जनाएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल पुर्‍याएका पाँचमध्ये तीन जनाको अस्पताल पुर्‍याएलगत्तै मृत्यु भएको अस्पतालका सहनिर्देशक डा. रोमान किडवाईले जानकारी दिए ।

यसैगरी कोहलपुर पुर्‍याइएका थप एक जनाको पनि उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले दिएको जानकारीअनुसार घाइते मध्ये ११ जना कोहलपुर शिक्षण अस्पतालमा र ५ जनालाई नेपालगन्ज शिक्षण अस्पताल पुर्‍याइएको थियो ।

बस दुर्घटना मृत्यु हुनेको संख्या ३२ जना पुगेको छ । २८ जनाको मुगुमै घटनास्थल तथा उद्धारका क्रममा र ४ जनाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।’उपचारका लागि १५ जना बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल र कोहलपुर शिक्षण अस्पताल पठाइएको हो । उपचारका क्रममा चारजनाको मृत्यु भएसँगै मृतकको संख्या ३२ जना पुगेको छ,’ उनले भने ।

तीन जनाको नेपालगन्ज मेडिकल कलेजमा पुर्‍याएलगत्तै मृत्यु भएको कलेजका सहनिर्देशक डा. रोमान किडवाईले जानकारी दिए । उनकाअनुसार एक जनाको कोहलपुर शिक्षण अस्पतालमा मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी महतकाअनुसार दुर्घटनामा चालकको पनि मृत्यु भएको छ । अहिले मृतकको शवलाई जिल्ला अस्पतालमा राखेर सनाखत भइरहेको छ । ‘शवहरु अस्पतालमा आफन्त आएर पहिचान गरिरहेका छन्,’ उनले भने ।

नेपालगन्जबाट सदरमुकाम गमगढी आउँदै गरेको बस मंगलबार अपराह्न पिना झ्यारीखोलामा दुर्घटना भएको थियो ।बसको चालक साइडको पाग्रा पञ्चर भएर अनियन्त्रित भई भीरमा खसेर दुर्घटना भएको महतले बताए । ‘पञ्चर भएपछि बस बल्ड्याङ्ग खाँदै करिब २ सय मिटर तल खसेको थियो,’ उनले भने, ‘बस स्पिडमा थिएन । टायर पञ्चर भएर अनकन्ट्रोल भई खसेको हो ।’

बसमा चालक/सहचालकसहित ४५ जना सवार थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस