सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ५४ करोड रुपैयाँ खुद मुनाफा हासिल गरेको छ। यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.६१ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक बर्षको यहि अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४१ करोड रुपैयाँ मात्र रहेकोमा अहिले त्यस्तो मुनाफा २२७.५८ प्रतिशतले बृद्धि भएर १ अर्ब ३४ करोड रुपैया पुगेको छ ।
बैंकको प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ८७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (पिई रेसियो) १५.९४ गुणा रहको छ । बैंकको प्रतिसेयर आम्दानी अघिल्लो बर्षको यहि अवधिमा १६ रुपैया ८७ पैसा रहेकोमा अहिले त्यो बृद्धि भएर २० रुपैयाँ ७२ पैसा पुगेको छ ।
बैंकको चुक्ता पूँजी चैत मसान्तसम्ममा ११ अर्ब ६६ करोड २० लाख रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको जगेडा कोष बढेर ५ अर्ब ४६ करोड ६० लाख रुपैयाँ पुगेको छ। 
















