बैतडीको सूर्नया गाउँपालिका-६ मा एक जनाको शव गाडेको अवस्थामा भेटिएको छ ।
सूर्नया-६ को धुलिधार जंगलमा ओडारभित्र शव गाडेको अवस्थामा फेला परेको हो । गत हप्ता मात्रै आफूलाई अपहरण गरेको भनी फेसबुकमा स्ट्याटस लेखेका हरिस अवस्थीले आफूले नै मान्छे मारेर गाडेका बताएपछि प्रहरीको टोली उनले भनेकै ठाउँमा पुगेको थियो ।
अवस्थीले भने अनुसार प्रहरीले खाडल खनेपछि सडेको अवस्थामा शव भेटाएको हो । शव स्थानीय ३२ वर्षका डम्बर अवस्थीको रहेको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक बोधराज ओझाले भने,‘केही दिन अघि हराएको भनिएका व्यक्तिलाई प्रहरीले बर्दियाबाट उद्धार गरेको थियो ।
तर, उसले आफैले मान्छे मारेर भागेको भनेपछि हामीले ओडारभित्र खनेपछि शव भेटाएका हौं । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’ साँझ ६ बजे शव निकालिएपछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ ।
आफूले हत्या गरेको स्वीकार गरेका अवस्थीले गत हप्ता आफ्नो फेसबुकमा केही मान्छेले आफूलाई मार्न बर्दियाको जंगलमा शौचालयमा थुनेको भन्दै स्ट्याटस लेखेका थिए । उनले गाउँकै मान्छेहरूले आफूलाई मार्न खोजेकाले बचाउन आग्रह गरेका थिए ।

डिएसपी धर्मराज भण्डारीको कमाण्डमा खटिएको टोलीले भारतको सिद्धार्थनगर जिल्ला, नौगड ग्रामको धन्सा बस्ने मुलायम भन्ने सिकन्दर चमारलाई पक्राउ गरेको छ ।
मंगलबार राति १०:३० बजे पक्राउ गरेको डिएसपी भण्डारीले बताए । चमारले २०७१ फाल्गुन ३० गते श्रीमती किश्लावती चमारको हत्या गरी फरार रहेका थिए । ससुराल कृष्णनगर नगरपालिका-६ श्रीनगरमा आएको बेला उनले श्रीमतीको हत्या गरी जलाएका थिए ।
छोरी ज्वाइँलाई घरमा सुताएर ससुरा गोठमा सुत्न गएको मौकामा हत्या भएको प्रहरीले जनाएको छ । मृतक किश्लावतीको शव माइती घरदेखि ३ सय मिटर टाढा अड्हरको खेतमा फेला परेको थियो । घटना भएको दुई दिनपछि कुकुरले किश्लावतीको काटिएको खुट्टा लगिरहेको अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
















