अर्घाखाँचीका विभिन्न क्षेत्रमा बाँदरको समस्या बढ्दै गएपछि किसानको बाली संरक्षणका लागि डिभिजन वन कार्यालयले नयाँ पहल थालेको छ।
बाँदरका कारण कृषि उत्पादनमा भइरहेको क्षति कम गर्न कार्यालयले प्रभावित क्षेत्रमा ‘बाँदर हेरालु’ परिचालन गर्ने तयारी गरेको हो। बाँदरबाट बढी प्रभावित जिल्लाका २६ क्षेत्रमा बाली संरक्षण र बाँदर व्यवस्थापनका लागि कार्यालयले इच्छुक व्यक्तिबाट आवेदन माग गरेको छ। पहिलो चरणमा २० जना हेरालु नियुक्त गर्ने योजना रहेको र आवश्यकताअनुसार संख्या थपघट हुन सक्ने कार्यालयले जनाएको छ।
‘बाँदर हेरालु’ बन्नका लागि सम्बन्धित प्रभावित क्षेत्रकै स्थायी बासिन्दा हुनुपर्नेछ। आवेदकको उमेर ४५ वर्षभन्दा कम हुनुपर्ने तथा वन, वन्यजन्तु र जैविक विविधता संरक्षणप्रति रुचि भएको हुनुपर्नेछ।
सामुदायिक वन उपभोक्ता समूह, वन हेरालु वा नर्सरी हेरालुको रूपमा काम गरेको अनुभव भएका व्यक्तिलाई छनोट प्रक्रियामा प्राथमिकता दिइनेछ। छनोट भएका व्यक्तिले मासिक १२ हजार ५०० रुपैयाँ पारिश्रमिक प्राप्त गर्नेछन्।
हेरालुको जिम्मेवारी बाँदरको गतिविधि निगरानी गर्ने, किसानलाई समयमै सचेत गराउने, बाँदरबाट भएको बाली क्षतिको विवरण संकलन गर्ने तथा त्यसको जानकारी वडा कार्यालय र डिभिजन वन कार्यालयलाई उपलब्ध गराउने हुनेछ।
यसैगरी, बाँदरलाई कुनै किसिमको हानि नपुर्याई प्राकृतिक रूपमा व्यवस्थापन गर्ने र खेती क्षेत्रबाट उनीहरूको प्राकृतिक बासस्थानतर्फ फर्काउन सहयोग गर्ने काम पनि हेरालुले गर्नेछन्।

















