×
Lagani
Lagani Shiksha gif
११ महिनामा व्यापार घाटा १५.७ प्रतिशतले बढ्यो



चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालको कुल वस्तु निर्यात १२.३ प्रतिशतले वृद्धि भई २ खर्ब ७७ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात ७७.८ प्रतिशतले बढेको थियो ।

गन्तव्यका आधारमा भारततर्फको निर्यात १३.६ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात ९.२ प्रतिशतले वृद्धि भएको छ। भने चीनतर्फको निर्यातमा ३५.८ प्रतिशतले कमी आएको छ ।

Lagani Shiksha gif
sharehubapk ११ महिनामा व्यापार घाटा १५.७ प्रतिशतले बढ्यो

वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, अलैंची, च्याउचाउ, ब्रान्डलगायतका वस्तुको निर्यात बढेको छ। तर जिंक सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा र हस्तकलाका सामग्रीलगायतका वस्तुको निर्यात घटेको छ । समीक्षा अवधिमा कुल वस्तु आयात १५.२ प्रतिशतले वृद्धि भई १८ खर्ब ९४ अर्ब १० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा वस्तु आयात १३.१ प्रतिशतले बढेको थियो ।

मुलुकगत आधारमा भारतबाट हुने आयात ११.८ प्रतिशत, चीनबाट हुने आयात २१.५ प्रतिशत र अन्य मुलुकबाट हुने आयात १८.९ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, चाँदी, यातायात उपकरण, सवारी साधन तथा स्पेयर पार्ट्स, रासायनिक मल, भटमासको कच्चा तेललगायतका वस्तुको आयात बढेको छ । त्यस्तै खाने तेल, हट रोल्ड सिट इन क्वायल, लसुन, एमएस तार, छड, बार, क्वायल, एमएस बिलेटलगायतका वस्तुको आयात घटेको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा कुल वस्तु व्यापार घाटा १५.७ प्रतिशतले वृद्धि भई १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ६.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १४.७ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १५.१ प्रतिशत रहेको थियो ।

११ महिनामा भारतबाट परिवर्त्य विदेशी मुद्रामा भुक्तानी गरी १ खर्ब ८० अर्ब १० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब ६७ अर्ब ३० करोड रुपैयाँ बराबर रहेको थियो ।

बृहत् आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिमा कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको हिस्सा क्रमशः ६९.३ प्रतिशत, ३० प्रतिशत र ०.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी वस्तुको हिस्सा क्रमशः ६७.३ प्रतिशत, ३१.७ प्रतिशत र १ प्रतिशत रहेको थियो ।

त्यस्तै, कुल आयातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको हिस्सा क्रमशः ३८.८ प्रतिशत, ५१.८ प्रतिशत र ९.४ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यी अनुपात क्रमशः ३९.४ प्रतिशत, ५१.६ प्रतिशत र ९ प्रतिशत रहेका थिए । वार्षिक बिन्दुगत आधारमा २०८३ जेठ महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक ४.२ प्रतिशतले वृद्धि भएको छ भने आयात मूल्य सूचकांक २१ प्रतिशतले बढेको छ ।

त्यस्तै, २०८३ जेठ महिनामा नेपालको व्यापारको सर्त (टर्म्स अफ ट्रेड) १३.९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस