×
Lagani
Lagani Shiksha gif
एआई रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो



कृत्रिम बुद्धिमत्ति (एआई) ले मानिसको रोजगारी खोस्ने चर्चा विश्वभर चलिरहेका बेला अमेरिकी मोटर निर्माता कम्पनी फोर्डले भने फेरि अनुभवी कर्मचारीलाई काममा फर्काउन थालेको छ । एआईमा आधारित गुणस्तर परीक्षण प्रणालीले अपेक्षित नतिजा दिन नसकेपछि कम्पनीले इन्जिनियर र गुणस्तर निरीक्षकलाई पुनः नियुक्त गर्न थालेको हो ।

ब्लुमबर्गको एक रिपोर्टका अनुसार फोर्डले पछिल्ला तीन वर्षमा करिब ३५० जना अनुभवी इन्जिनियर तथा गुणस्तर निरीक्षकलाई पुनः काममा लगाएको छ । तीमध्ये केही कम्पनीका पूर्वकर्मी छन् भने केही आपूर्तिकर्ता कम्पनीका विज्ञ हुन् । फोर्डले सवारीसाधनको गुणस्तर परीक्षणका लागि एआईमा आधारित स्वचालित प्रणाली प्रयोग गरेको थियो । तर त्यसबाट अपेक्षाअनुसारको नतिजा प्राप्त हुन सकेन । त्यसपछि अनुभवी कर्मचारीलाई पुनः जिम्मेवारी दिइएपछि कम्पनीले उल्लेखनीय सुधार देखेको जनाएको छ ।

Lagani Shiksha gif
sharehubapk एआई रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो

मानव जनशक्ति फर्किएपछि फोर्डको उत्पादन गुणस्तरमा सुधार आएको छ । हालै सार्वजनिक भएको ‘जेडी पावर प्रारम्भिक गुणस्तर सर्वेक्षण’ मा फोर्ड मुख्यधाराका सवारी ब्रान्डमध्ये पहिलो स्थानमा पुगेको छ । साथै परीक्षणमा हुने त्रुटि घटेकाले अनावश्यक खर्चसमेत कम भएको कम्पनीको भनाइ छ ।

यो समस्या फोर्डमा मात्र सीमित छैन । अमेजन, माइक्रोसफ्ट र उबरजस्ता ठूला कम्पनीले पनि एआईमा ठूलो लगानी गरे पनि अपेक्षित प्रतिफल प्राप्त गर्न नसकेको बताइन्छ । उबरले एआईमा ठूलो रकम खर्च गरे पनि त्यसअनुसारको उपलब्धि हासिल गर्न सकेन । माइक्रोसफ्टले पनि बढ्दो खर्चलाई ध्यानमा राख्दै आफ्ना कर्मचारीलाई एआईको सीमित र आवश्यक प्रयोग गर्न सुझाव दिएको छ ।

यसले एआईको युग समाप्त हुँदै गएको भन्ने अर्थ भने होइन । एआई अझै पनि प्रभावकारी प्रविधि हो, तर यसको सफलताका लागि सही ढंगले प्रयोग गर्नु आवश्यक रहेको विज्ञहरू बताउछन् ।

फोर्डका उपाध्यक्ष चार्ल्स पूनका अनुसार कम्पनीले एआई प्रणाली जडान गरेपछि स्वतः उत्कृष्ट गुणस्तरको उत्पादन प्राप्त हुन्छ भन्ने गलत अनुमान गरेको थियो । उनका अनुसार एआई उपयोगी साधन भए पनि त्यसले कति राम्रो काम गर्छ भन्ने कुरा त्यसलाई दिइने जानकारी र प्रशिक्षणको गुणस्तरमा निर्भर हुन्छ ।

विशेषज्ञहरूका अनुसार एआईलाई सहयोगी प्रविधिका रूपमा प्रयोग गर्दा यसको वास्तविक लाभ लिन सकिन्छ । यसले कामलाई छिटो, सहज र प्रभावकारी बनाउन सक्छ, तर मानव अनुभव, निर्णय क्षमता र निगरानीलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न सक्दैन ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस