सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि आज (जेठ २८ गते) देखि प्राथमिक शेयर निष्काशन (आईपीओ) खुला गरेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ७ लाख ५ हजार ५०० कित्ता साधारण शेयर बिक्रीमा ल्याएको हो। कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यस सार्वजनिक निष्काशनको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणमा वितरण गर्ने योजना अन्तर्गत यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ८५ हजार कित्ता शेयर निष्काशन गरिसकेको थियो।
सर्वसाधारणका लागि खुला गरिएको आईपीओमा १७ हजार कित्ता कर्मचारीहरूका लागि तथा ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ। बाँकी ७ लाख ५ हजार ५०० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
यो आईपीओमा आवेदन दिने अन्तिम मिति असार २ गतेसम्म तोकिएको छ। यदि सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ११ गतेसम्म लम्बिन सक्ने कम्पनीले जनाएको छ।
कैलालीमा उत्पादन केन्द्र रहेको सर्वोत्तम पेन्ट्स सजावटी तथा औद्योगिक प्रयोजनका विभिन्न प्रकारका पेन्ट, प्राइमर, इनेमल, वाटरप्रुफिङ सामग्री तथा वाल पुट्टी उत्पादन गर्दै आएको कम्पनी हो।
पुँजी बजारमा पछिल्लो समय नयाँ कम्पनीहरूको आईपीओप्रति लगानीकर्ताको आकर्षण बढिरहेका बेला सर्वोत्तम पेन्ट्सको आईपीओले पनि उल्लेख्य आवेदन तान्ने अपेक्षा गरिएको छ।















