पूर्वगृहमन्त्री सुधन गुरुङबारे छानबिन गर्न गठित विशेष समितिले बिहीबारबाट उनको बयान लिन सुरु गरेको छ।
दीपक भट्टका नाममा सञ्चालित लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्समा गुरुङको सेयर लगानीको विषयमा प्रारम्भिक सोधपुछ गरिएको हो। समितिका एक सदस्यले रातोपाटीसँग कुरा गर्दै गुरुङलाई बोलाएर सोधपुछ गरिएको जानकारी दिए।
उक्त बयान प्रक्रिया अझै पूरा भएको छैन। भट्टका कम्पनीमा गुरुङको नाममा देखिएको सेयर लगानीको स्रोतबारे प्रश्न उठेपछि वैशाख ९ गते उनले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। गुरुङले भने सापटी लिएर सेयर खरिद गरेको दाबी गरेका छन्। उनको लगानीको रकम करिब ५० लाख रुपैयाँ रहेको बताइएको छ।
यस विषयमा छानबिन गर्न मन्त्रिपरिषद्ले गत वैशाख २८ गते पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा एक समिति गठन गरेको थियो। १५ दिनको समयसीमा तोकिएको यस समितिको छानबिन अन्तिम चरणमा पुगेको दाबी गरिएको छ। समितिका सदस्यहरूका अनुसार प्रमाण संकलनको काम जारी रहे पनि छानबिनको समग्र प्रक्रिया निष्कर्षनजिक छ।
समितिले अबको चार दिनको सरकारी बिदामा सकेसम्म प्रतिवेदन लेखनको काम सक्ने गरी सक्रिय रहेको जनाएको छ। समितिका सदस्यहरूले थप प्रमाणहरू आइरहेको र बिदाको समयमा प्रतिवेदनलाई पूर्णता दिने प्रयास भइरहेको बताएका छन्।
यस छानबिन समितिमा महालेखा नियन्त्रक शोभकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणी नेउपाने सदस्यको रूपमा कार्यरत छन्।













