×
सुरु भयो घरदैलोमै राहदानी वितरण सेवा , हुलाक प्रयोग गरि डेलिभरी गरिदै।



सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवा हालसम्म १४ जिल्लाबाट सुरु गरिएको छ ।

हालसम्म ३११ वटा राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुगेर वितरण गरिएको हुलाक सेवा विभागले जनाएको छ । त्यसैगरी, गुल्मी, डडेलधुरा, झापा, सिन्धुपाल्चोक, कालीकोट, मकवानपुर, बझाङ, कास्की, मोरङ, धनकुटा र बैतडीलगायत जिल्लासँग सम्झौता गरी सेवा विस्तार गरिएको छ भने अन्य जिल्लाहरूमा जिल्ला प्रशासन कार्यालयबाट राहदानी प्राप्त भएपछि वितरण गर्ने प्रक्रिया अघि बढाइएको छ ।

सबै जिल्ला प्रशासन कार्यालयहरूले राहदानी बनाउन आउने सेवाग्राहीसँग ठेगाना संकलन सुरु गरिसकेका छन् । सवारीचालक अनुमतिपत्र वितरणतर्फ पनि उल्लेखनीय प्रगति भएको छ । २०८३ वैशाख १५ गते दिउँसो ३ बजेसम्ममा हुलाकबाट २ लाख ५६ हजार १२६ वटा लाइसेन्स सम्बन्धित यातायात कार्यालयमा पठाइसकिएको छ । मोरङ र कास्की जिल्लाबाट यातायात कार्यालयसँग समन्वय गरी लाइसेन्स घरमै पुर्‍याउने कार्यसमेत सुरु गरिएको छ । हुलाक सेवा विभागले अन्य विभिन्न क्षेत्रमा पनि काम अघि बढाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग प्रयोगशाला नमुना ढुवानी सम्बन्धी सम्झौता अन्तिम चरणमा पुगेको छ । नेपाल टेलिकम सँग सिमकार्ड घरदैलोमा पुर्‍याउने विषयमा प्राविधिक तयारी थालिएको छ । त्रिभुवन विश्वविद्यालय सँग प्रमाणपत्र ढुवानीका लागि दोस्रो चरणको छलफल सम्पन्न भैसकेको विभागले जनाएको छ । मध्यपश्चिम विश्वविद्यालय सँग प्रश्नपत्र, उत्तरपुस्तिका तथा प्रमाणपत्र ढुवानी कार्य सुरु भैसकेको छ । राहदानी विभागसँग प्रणाली अन्तरआवद्धताका लागि अध्ययन समिति गठन, महालेखा नियन्त्रक कार्यालयसँग प्रणाली एकीकरण का लागि पहल लगायतका काम भैरहेको विभागले जनाएको छ ।

सरकारले गत चैत १३ गते सार्वजनिक गरेको १०० दिने कार्यसूचीअन्तर्गत हुलाक सेवालाई आधुनिकीकरण गरी “Government Courier Service” का रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबीच समन्वय भइरहेको छ। सञ्चार मन्त्री डा. बिक्रम तिमिल्सिना ले कार्यान्वयनमा सक्रिय भूमिका खेल्दै सम्बन्धित निकायहरूलाई सहकार्य र समस्या समाधानमा तत्पर रहन निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस