कृषि क्षेत्रमा नवीन प्रविधिको प्रयोग गर्दै आएको ‘मेरो किसान लिमिटेड’ ले सर्वसाधारणमा सेयर निष्काशन गर्ने महत्वपूर्ण निर्णय गरेको छ। यस प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) प्रक्रियालाई सहजीकरण गर्न कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ।
यस सम्बन्धमा दुवै पक्षबीच हालै एक औपचारिक सम्झौता सम्पन्न भएको छ। यो सम्झौताले ‘मेरो किसान’ लाई पुँजी बजारमा प्रवेश गरी सर्वसाधारण लगानीकर्तासँग प्रत्यक्ष जोडिने अवसर प्रदान गर्नेछ। दुवै संस्थाले यस सहकार्यले नेपालको कृषि क्षेत्रमा थप लगानी आकर्षित गर्ने र समग्र व्यवसाय विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
सन् २०२० मा स्थापित ‘मेरो किसान लिमिटेड’ ले कृषि क्षेत्रलाई आधुनिक प्रविधिसँग एकात्म गर्ने उद्देश्यका साथ कार्य गरिरहेको छ। कम्पनीले किसान र उपभोक्ताबीचको दूरीलाई संकुचित पार्दै, स्थानीय तथा ताजा कृषि उपजलाई सिधै बजारसम्म पुर्याउने संयन्त्र निर्माण गरेको छ।
‘मेरो किसान’ ले बिउबिजन उत्पादनदेखि कृषि उपजको संकलन, भण्डारण, वितरण र डिजिटल प्लेटफर्ममार्फत उपभोक्तासम्मको आपूर्ति प्रणालीलाई सुव्यवस्थित बनाएको छ। आधुनिक ‘कोल्ड-चेन’ पूर्वाधार र कुशल आपूर्ति व्यवस्थापन प्रणालीको प्रयोग गरी उत्पादनको गुणस्तर कायम राख्नुका साथै अनावश्यक बिचौलियाको अन्त्य गर्ने प्रयास गरिएको छ। कम्पनीले देशभर हजारौँ ग्राहकलाई सेवा प्रदान गरिरहेको छ र यसको लक्ष्य किसानलाई उचित मूल्य दिलाउनु तथा उपभोक्तालाई ताजा र गुणस्तरीय उत्पादन उपलब्ध गराउनु हो। दिगो कृषि प्रणालीको निर्माण गरी यस क्षेत्रलाई व्यावसायिक र आधुनिक बनाउने कम्पनीको दीर्घकालीन योजना छ।
यसैबीच, ‘मेरो किसान’ ले चितवनको पटिहानीमा करिब ३.५ बिघा जमिन खरिद गरी कृषि प्रशोधन केन्द्र र दुग्ध डेरी सञ्चालन गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ। यस आर्थिक वर्षभित्र प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने र आगामी आर्थिक वर्षको पहिलो त्रैमाससम्म डेरी सेवा सुरु गर्ने लक्ष्य राखिएको छ।
यस सम्झौता कार्यक्रममा ‘मेरो किसान लिमिटेड’ का तर्फबाट अध्यक्ष विष्णुमणि गौतम, प्रबन्ध सञ्चालक अविनाश सिलवाल, सञ्चालकहरू सुनिल थापा र सन्तोष बस्तेतको उपस्थिति थियो। त्यस्तै, प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध सञ्चालक आशिष गौचन, प्रमुख व्यापार अधिकृत बासु थपलिया र विशिष्ट लगानी कोष प्रमुख सुदीप हरि ढुंगाना सहभागी हुनुहुन्थ्यो।










