तारा एयरले सम्पर्कविहीन वायुयानको खोजी कार्य भइरहेको जनाएको छ ।
तारा एयरले आज एक विज्ञप्ति जारी गरी आज बिहान ९ः५५ बजे पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन–एइटी–डिएचसी–६ ट्विनअटर वायुयान सम्पर्कविहीन भएको भन्दै उक्त वायुयानको खोजी कार्य भइरहेको जनाएको हो । तर अन्धकार र प्रतिकुल मौसमका कारण आइतबारलाई खोजी कार्य रोकिएको सैनिक प्रवक्ता नारायण सिलवालले बताए ।
सम्पर्कविहीन भएको विमान अन्तिम पटक जोमसोम टावरसँग १०ः०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चात् सम्पर्कविहीन भएकाले खोजी कार्य भइरहेको जनाएको छ । सैनिक प्रवक्ता नारायण सिलवालले भने, ‘भोलि बिहानैबाट फेरि स्थल र हवाई दुवै मार्गबाट खोजी कार्य सुरु हुनेछ ।’ अहिले सेनाको हवाई उद्दार टोली जोमसोममा फर्किएको उनले बताए ।
सम्पर्कविहीन वायुयान खोज्न जोमसोमबाट हेलिकप्टर पठाइए पनि प्रतिकूल मौषमका कारण उक्त हेलिकप्टर पुनः जोमसोम फर्किएको विज्ञप्तिमा उल्लेख छ । उक्त वायुयानमा चालक दलका तीन सदस्य, दुई जर्मन नागरिक, चार भारतीय नागरिक र १३ जना नेपाली गरी जम्मा २२ जना सवार रहेको सो एयरलाइन्सले जनाएको छ ।
















