सत्ता गठबन्धन आवद्ध दलहरूबीच मन्त्रालय भागबण्डाका विषयमा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार प्रक्रिया लम्बिएको छ । बुधवार बसेको गठबन्धन दलका नेताहरूको बैठकमा दलहरूबीच मन्त्रालय भागबण्डा टुंगिएको बताइए पनि नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको असन्तुष्टिका कारण मन्त्रिपरिषद् विस्तारको मिति अन्योलमा छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार मन्त्रिपरिषद् विस्तार गरिने बताएका थिए । तर, नेकपा (एस)ले मन्त्रालय चित्तबुझ्दो नपाएको भन्दै बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकबाट मन्त्रालयमा कुरा मिलेपछि मात्र मन्त्रीको नाम दिने निर्णय गरेको थियो ।
सो निर्णयलगत्तै गठबन्धन दलका शीर्ष नेताबीच बालुवाटारमा जारी बैठकबाट नेकपा (एस) अध्यक्ष माधवकुमार नेपाल बाहिरिएका छन् । उनले मन्त्रालय भागबण्डामा पुनर्विचार भएमात्र मन्त्रीको नाम दिने बताएर बैठकस्थल छाडेको नेकपा (एस)का एक नेताले बताए । स्रोतका अनुसार सहमति नभएपछि आफ्नो दलसँग कुराकानी गर्न भन्दै उनी वीचबाटोबाटै निस्किएका हुन् । ती नेताका अनुसार देउवाले आफ्नो पार्टीको भागमा परेको मन्त्रालयमा पुनर्विचार नगरे अब दसैंअघि मन्त्रिपरिषद् विस्तार असम्भव छ ।
नेपाल बैठकस्थलवाट बाहिरिएपनि अन्य नेता भने छलफलमै छन् । जसपाले पनि आन्तरिक सहमति मजबुद भइनसकेको भन्दै देउवालाई मन्त्रीको लिष्ट उपलव्ध गराइसकेको छैन । यद्यपि, पार्टीका नेताहरू अहिले पनि छलफलमै छन् ।
सत्ता गठवन्धनका दलहरूबीच नेकपा (एकीकृत समाजवादी)लाई दुईवटा प्रदेशको मुख्यमन्त्री दिने भद्र सहमति भएको छ ।
संघीय मन्त्रालय बाँडफाँटमा असन्तुष्टि जनाउदै आएको नेकपा (एस)लाई मनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा गठबन्धनका दल सो पार्टीलाई बाग्मती र प्रदेश १ को मुख्यमन्त्री दिन सहमत भएका हुन् ।
बिहीवार बालुवाटारमा बसेको सत्ता गठवन्धन दलका शीर्ष नेताको बैठकमा संघीय मन्त्रालय बाँडफाँटमा धेरै ढिलाइ भएको भन्दै यसअघि बनेको सहमति कायम राख्दै नेकपा (एस)लाई दुईवटा मुख्यमन्त्री दिएर मनाउने सहमति भएको माओवादी केन्द्रका एक नेताले बताए ।
‘माधवजीले असन्तुष्टि राख्नुभयो, प्रचण्डजीको प्रस्तावमा दुईवटा मुख्यमन्त्री लैजानुहोस्, अन्यत्रको नियुक्तिमा पनि हेरौँला र छलफल गरांैला भनेपछि माधवजी सल्लाह गर्छु भनेर निस्कनुभएको छ,’ ती नेताले भने । नेपाल गठबन्धन बैठक छाडेर पार्टीको स्थायी कमिटी बैठकस्थल पुगेका छन् । जहाँ उनले संघीय र प्रदेश मन्त्रिपरिषद् विस्तार र हेरफेरका विषयमा सल्लाह र निर्णय लिने बताइएको छ ।
नेकपा एसको भागमा मुख्यमन्त्री परेका दुईवटा प्रदेशमा गठबन्धन दलको बहुमत छ ।











