केही महिना अघि इतिहासकै सर्वाधिक ठूलो आईपीओ जारी गरी कारोबार शुरू भएको नेपाल पूर्वाधार बैंक (निफ्रा)लाई नेपाल स्टक एक्सचेन्ज नेप्सेले स्पष्टिकरण मागेको छ ।
बजार मूल्य बढाउने गतिविधि गरेको भन्दै निफ्रासँग स्पष्टिकरण मागिएको हो ।
निफ्राले १० प्रतिशत लाभांश बाढ्न लागेको र लण्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलरको बण्ड सूचीकरण गर्न लागेको बारे उक्त कम्पनीका अधिकारीलाई उदृत गर्दै समाचारहरु मिडियामा आएका थिए।
‘उक्त समाचार के कति मात्रामा सत्य हो? निफ्राले रणनीतिक साझेदार भित्राउने विषयमा कोसँग कस्तो छलफल भइरहेको छ? कम्पनीले बैंक तथा वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरूले खरिद गर्ने भनिएको बण्डको सम्बन्धमा के कति मात्रमा छलफल अघि बढाएको हो?’, स्पष्टिकरण पत्रमा भनिएको छ, ‘कम्पनीको मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्नेजस्ता धितोपत्रको मुल्यमा प्रभाव पार्ने संवेदनशील सूचना तथा जानकारी सम्बन्धित निकायमा जानकारी गराउन नआउँदै के कति कारणले यस्तो प्रचार गरिएको हो?’
रणनीतिक साझेदार भित्र्याउने विषयमा कोसँग के कस्तो छलफल भएको, इन्सुरेन्स कम्पनीहरुले खरिद गर्ने भनिएको इन्सुरेन्स बन्ड, कम्पनीको नाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने जस्ता धितोपत्र मूल्यमा प्रभाव पर्ने संवेदनशील सूचना प्रचार गर्नुको कारण बताउन नेप्सेले निर्देशन दिएको छ । नेप्सेले ३ दिन भित्र स्पष्टीकरण पेश गर्न निफ्रालाई भनेको छ ।
बैंकले माघ २ गते देखि ६ गते सम्म जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारण लाई निष्काशनमा ल्याएको थियो ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर ५० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै बाडफाड गरेको थियो । आबेदन गर्ने सबैलाई ५० कित्तासम्म बाँडफाँड गरी बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट ५० कित्ता भन्दा बढी आवेदन गर्ने ४ लाख ९२ हजार ७२ जनालाई थप १० कित्ता दरकाले बाँडफाँड गरेको हो।
८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँट पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुगेको छ। बैंकको शेयरमा धेरै लगानीकर्ताको ध्यान रहेको र केहि ठुला लगानीकर्ताले चलखेल गरि मूल्य घटाउन खोजेको केहि लगानीकर्ताको बुझाइ रहेको छ।निफ्राले आईपीओ निष्कासनका लागि यही मंसिर ८ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । बोर्डले निवेदनबारे अध्ययन गरी मंसिर २४ गते बैङ्कलाई आवश्यक जिज्ञासा पठाएको थियो । बोर्डले पठाएका जिज्ञासाको बारेमा जवाफ प्राप्त भएपछि बोर्डले पुस १० गते बैङ्कको आईपीओ र विवरणपत्रलाई अन्तिम स्वीकृति दिएको थियो ।











