×
Lagani
Lagani Shiksha gif
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि निवेदन आह्वान



लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि निवेदन आह्वान गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत सिंहदरबारमा रहेको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले सूचना जारी गर्दै योग्य नेपाली नागरिकहरूलाई आवेदन दिन आग्रह गरेको हो । सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ बमोजिम बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि नेपाल सरकारलाई सिफारिस गर्नुपर्ने भएकाले इच्छुक उम्मेदवारहरूबाट निवेदन माग गरिएको सूचनामा उल्लेख छ।

Lagani Shiksha gif
sharehubapk लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि निवेदन आह्वान

योग्यता र अनुभवका आधारमा उम्मेदवार छनोट गरिनेछ। आवेदक नेपाली नागरिक हुनुपर्ने, मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य, कानुन, इन्जिनियरिङ वा विकास सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।त्यस्तै, परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक–निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र वा औद्योगिक व्यवस्थापनमध्ये कुनै क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभव अनिवार्य गरिएको छ ।

उमेरका हकमा निवेदन दिने अन्तिम मितिसम्म ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। विदेशी मुलुकको स्थायी आवासीय अनुमति पत्र लिएको भए आवेदन दिनुभन्दा कम्तीमा तीन महिना अगाडि नै त्यस्तो अनुमति त्याग गरेको प्रमाण वा स्वघोषणा पेश गर्नुपर्नेछ। यस्तै, प्रचलित कानुनअनुसार अयोग्य नभएको स्वघोषणा पनि आवश्यक रहनेछ। आवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, अनुभव खुल्ने कागजात, व्यक्तिगत विवरण (बायोडाटा), हालै खिचिएको पासपोर्ट साइजका दुई वटा फोटो तथा लगानीसम्बन्धी रणनीति र कार्ययोजना समेत पेश गर्नुपर्नेछ।

उक्त कार्ययोजनामा नेपालमा लगानीको अवस्था र सम्भावना विश्लेषण, लगानी बोर्डको सबल–दुर्बल पक्ष तथा अवसर–चुनौती (एसडब्लुएओटी विश्लेषण) र लगानी प्रवर्द्धन रणनीतिक खाका समावेश हुनुपर्नेछ। दरखास्त दिने अन्तिम म्याद सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तोकिएको छ। अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिनसम्म आवेदन दिन सकिनेछ।

निवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सामाजिक तथा भौतिक पूर्वाधार विकास शाखा, सिंहदरबारमा बुझाउन सकिनेछ । मूल्याङ्कन र छनोटसम्बन्धी विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा लगानी बोर्डको वेबसाइटबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख गरिएको छ। थप जानकारीका लागि कार्यालय समयभित्र तोकिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिने पनि जनाइएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस