सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि आह्वान गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को मिति परिवर्तन गरेको छ।
यसअघि जेठ १४ गतेदेखि २० गतेसम्म बिक्री खुला गरिने भनिएकोमा, अब भने आईपीओ जेठ १८ गतेदेखि २१ गतेसम्म निष्काशन हुने भएको छ। सरकारले बकर ईद (ईद–उल–अज्हा) पर्वको अवसरमा जेठ १४ गते सार्वजनिक बिदा घोषणा गरेसँगै जेठ १४ देखि १७ गतेसम्म लगातार चार दिन बिदा परेको छ। यसलाई मध्यनजर गर्दै कम्पनीले आफ्नो आईपीओ निष्काशनको तालिका संशोधन गरेको हो।
यस निष्काशन अन्तर्गत कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४६ लाख ७४ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्नेछ। लगानीकर्ताहरूले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
निर्धारित अवधिमा (जेठ २१ गतेसम्म) माग अनुसार आवेदन प्राप्त नभएमा, आईपीओ निष्काशनको म्याद असार १ गतेसम्म थपिने व्यवस्था गरिएको छ। यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको भूमिका लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले निर्वाह गरिरहेको छ।












