×
कोइराला परिवार फुट्यो : प्रकाशमान सभापति, सुजाता उपसभापति



नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कोइराला परिवार विभाजित भएको छ ।

केहीअघिसम्म सुजाता कोइराला, डा.शशांक कोइराला र डा.शेखर कोइरालाले कांग्रेस नेतृत्वमा मिलेर जाने सहमति गरेका थिए । तर, मनोनयन दर्ता गर्नेबेलासम्म कोइराला परिवार नै विभाजित बनेको छ ।कोइराला परिवारकी सदस्य सुजाता कोइरालाले प्रकाशमान सिंह प्यानलबाट उम्मेदवार दर्ता गराउने भएकी छन् । केही समयपछि प्रकाशमान सिंह सभापति र सुजाता उपसभापतिको उम्मेदवारी घोषणा हुनेछ । अन्य पदाधिकारीमा भने टुंगो लागिनसकेको प्रकाशमान सिंहका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिए ।

संस्थापन र निधि प्यानलले मनोनयन दर्ता गरेपछि मात्र सिंहले अन्य पदाधिकारीको टुंगो लगाउने भएको छ ।   उता, शेखर कोइराला समूहले भने गगन थापा र डा.मिनेन्द्र रिजाललाई महामन्त्रीमा उम्मेदवारी बनाउने निश्चित जस्तै भएको छ ।

कांग्रेसको १४औं महाधिवेशनमा रामचन्द्र पौडेलको ‘वाकओभर’, राजनीतिक प्रतिस्पर्धामा नरहेको घोषणा – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल १४औं महाधिवेशनमा प्रतिस्पर्धामा देखिने छैनन् । महाधिवेशनको उदघाटन सत्रसम्म पौडेल सभापतिमा उम्मेदवार बन्ने चर्चा थियो । तर, संस्थापन इतर समूहमा सभापतिका अन्य आकांक्षीले अडान राखेपछि पौडेलले अब राजनीतिक प्रतिस्पर्धा नगर्ने घोषणा गरेका हुन् ।

शनिबार बिहान बोहोराटारस्थित आफ्नो निवासमा कार्यकर्तासँग भेट गर्दै पौडेलले जारी महाधिवेशनमा आफू सहभागी भए पनि कुनै पदका लागि उम्मेदवारी नदिने स्पष्ट पारे । भेलामा गगन थापा, बद्री पाण्डे, मिनेन्द्र रिजाल, दिलेन्द्र बडूलगायत नेता उपस्थिति थिए ।

लामो समयदेखि संस्थापन इतरको समूहबाट सहमतिमा सभापतिको साझा उम्मेदवारी दिने जनाएका थिए । तर, अन्तिम समयसम्म पनि साझा उम्मेदवार बन्ने अवस्था नभएपछि पौडेलले ‘वाकओभर’ गरेका हुन् । पौडेलले आफू उम्मेदवार नबन्ने घोषणा गरे पनि आफ्नो समर्थन कता हुने भन्ने कुरा भने खुलाएनन् ।

उमेरले ८१ वर्ष लागेका पौडेलले अहिलेसम्म आफूले नेता कार्यकर्ताको संरक्षण गर्दै आएको बताएका थिए । ‘आजसम्म मैले जे जसरी नेता कार्यकर्ताको संरक्षण गरें गरें । आजदेखि तपाईहरू आ-आफ्नो संरक्षण गर्नुहोस् । अब राजनीतिक प्रतिस्पर्धा रहिनँ,’ पौडेलको भनाइ उद्धृत गर्दै भेलामा सहभागी पत्रकार अजयबाबु शिवाकोटीले भने ।तर, उनी दोस्रो चरणको मतदानमा पराजित भए ।१३औं महाधिवेशनमा उनी सभापतिका उम्मेदवार भएका थिए । उनले पार्टी सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए । तर, उनी दोस्रो चरणको मतदानमा पराजित भए ।

मन्त्री भनाउन नरुचाउने रानाले जनजातितर्फ गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा–  नेपाली कांग्रेस पाल्पाका निवर्तमान सभापति वीरबहादुर राना यतिबेला लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ हुन् । तर मन्त्री रानाले आफूलाई आफ्ना नेता, कार्यकर्ताका बीचमा पुगेर मन्त्रीका रूपमा नभई दाजुभाइका हिसाबले सम्बोधन गर्न आग्रह गर्ने गर्छन् ।

‘म सधैंका लागि मन्त्री बनेको होइन, निश्चित समयका लागि हो,’ उनले भन्ने गर्छन्, ‘तर दाजुभाइ भन्ने कुरा समाजमा सधैका लागि सम्बोधन हुनेछ ।’ वयोवृद्ध, पाकापुस्ताहरूसँग पुगेर म हजुरको भाइभतिजा, छोरासरह हुँ भन्दै आशीर्वाद लिएका रानाले सम्मान कार्यक्रममा पुग्दा पनि मन्त्री नभन्न आग्रह गर्दै आएका छन् । रानाले मन मिल्नेहरूसँग बसेर काम गर्ने र जनताको माझमा पुग्ने भएकै कारण आफूलाई सबैले विश्वास गर्ने गरेको बताउने गर्छन् । रानाले मन्त्री भइसकेपछि विकास निर्माणका साथै सामाजिक रूपमा पछि परेकाहरूसँग पुगेर समस्या बुझ्ने गर्छन् ।

उनै रानाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसका युवा नेता तथा प्रखर वक्ताका रूपमा परिचित रानाले पाल्पा र बुटवलमा पत्रकार सम्मेलन गरी आदिवासी जनजातीतर्फ खुला केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा गर्दै रानाले पार्टीलाई विधि, पद्धति, नीति नियम तथा अनुशासनको लाइनमा हिँडाउने प्रयास गर्ने बताए । सबैको समान पहुँच र अधिकार स्थापित गर्न आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको उनले बताएका छन् ।

कांग्रेस पार्टीको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ हुँदै वडा तहबाट जिम्मेवारी निभाउँदै आएका रानाले आउँदो महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार बन्ने घोषणा गरेको बताए । राना यसअघि दुई कार्यकालसम्म पाल्पा जिल्लाको पार्टी सभापति भई काम गरेका थिए । समग्र लुम्बिनी प्रदेशको विकास पद्धतिमा लैजान, जिल्लाको विकासलाई प्रभावकारी बनाउन, पार्टी पद्धति संस्कारयुक्त बनाउन, राजनीतिक दलमा देखिएको वितृष्णा हटाउन पनि आफ्नो उम्मेद्वारी रहेको उनले बताए ।

विद्यार्थी राजनीति हुँदै काँग्रेसको राष्ट्रिय मगर संघको केन्द्रीय संयोजक भएका रानाले व्यक्तिवादी राजनीतिको अन्त्य गरी संस्थागत विधिको विकासका लागि आफ्नो उम्मेदवारी गरेको बताए । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका रानाले पार्टीको संस्थागत विकास गर्न र परिणाममुखी कार्यका लागि आफू केन्द्रीय सदस्य बन्नुपर्ने बताए । जिल्ला र प्रदेशमा आफूले गरेको कामले पनि नेता कार्यकर्ताको सल्लाह अनुसार नै केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निर्णय गरेको रानाको भनाइ छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस