×
Lagani
Lagani Shiksha gif
जसपा मधेसको अध्यक्षका लागि यादवद्वय मैदानमा उत्रने



सञ्जय मिश्रा

रौतहट , २२ भदौ ।  

Lagani Shiksha gif
sharehubapk जसपा मधेसको अध्यक्षका लागि यादवद्वय मैदानमा उत्रने

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदका लागि तयारी तथा उम्मेदवारी घोषणा सुरु भएको छ।

 

जसपा मधेश प्रदेश समितिका वर्तमान अध्यक्ष बालकिशोर यादवले पुनः उम्मेदवारी दिने तयारी सुरु गरे पनि औपचारिक घोषणा गरेका छैनन्। तर, मधेश प्रदेशका पूर्वराज्यमन्त्री तथा जसपाका केन्द्रीय सदस्य योगेन्द्र राय यादवले भने औपचारिक रूपमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

 

उनले यही भदौ ३१ गतेदेखि असोज १ गतेसम्म जनकपुरधाममा हुने अधिवेशनमा उम्मेदवारी दिने जानकारी दिएका छन्। यस घोषणासँगै जसपा नेपालभित्र उत्सुकता र प्रतिस्पर्धा बढेको छ।

 

योगेन्द्र राय यादवको दाबी

विद्यार्थी जीवनदेखि नै मधेश राजनीतिमा सक्रिय, पूर्व समाजवादी युवा संघ अध्यक्ष तथा मधेश प्रदेश सरकारका पूर्वराज्यमन्त्रीसमेत रहेका यादवले संगठन निर्माणमा लामो समयदेखि योगदान गरेको दाबी गरेका छन्।

 

उनले मधेश प्रदेशको वर्तमान नेतृत्व “असफल” भएको आरोप लगाउँदै, आफू निर्वाचित भएमा प्रदेशमा पुनः जसपाको सरकार बनाउने ठोकुवा गरेका छन्।

 

“०८४ को मिशन सफल बनाउन, संगठनलाई मजबुत बनाउन र जनतासामु स्पष्ट कार्यदिशा पुर्‍याउन मैले उम्मेदवारी दिएको हुँ,” यादवले भने।

 

उनले विगत केही महिना देखि प्रदेशका आठै जिल्लामा कार्यकर्ता भेटघाट गरी समर्थन जुटाउने अभियान सञ्चालन गरेका छन्।

अधिवेशनको तयारी

जसपा नेपालको एकताको प्रथम मधेश प्रदेश अधिवेशन यही भदौ ३१ गतेदेखि सुरु हुने छ। पार्टी अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा हुने अधिवेशनको उद्घाटन भव्य समारोहकाबीच जनकपुरधाममा हुनेछ।

 

असोज १ गतेदेखि बन्दसत्र सुरु हुनेछ।

 

यस अधिवेशनमा ६ सय प्रतिनिधि सहभागी हुने जनाइएको छ। प्रत्येक निर्वाचन क्षेत्रमा भदौ २५ गते हुने क्षेत्रीय भेलाबाट प्रतिनिधि छनोट हुनेछ। प्रदेश अधिवेशनले ६५ सदस्यीय कार्य समिति र ९ पदाधिकारी चयन गर्नेछ।

 

हालसम्म अध्यक्ष पदका लागि दुई आकांक्षी सार्वजनिक भएका छन्– वर्तमान अध्यक्ष बालकिशोर यादव र पूर्वराज्यमन्त्री योगेन्द्र राय यादव। बालकिशोर यादवलाई दुई वर्षअघि सरकारी सेवामै कार्यरत रहँदा प्रदेश अध्यक्षमा चयन गरिएको थियो।

 

अधिवेशनमा कसले नेतृत्व सम्हाल्ने भन्ने प्रश्नमा जसपा नेपालभित्र निकै चासो बढेको छ। योगेन्द्र राय यादवको उम्मेदवारी घोषणाले निर्वाचन रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस